विद्यालयकै सटरबाट मदिरा र सुर्तिजन्य पदार्थको विक्रि

  • १८ माघ २०७६, शनिबार
  • धिरन खत्री
  • 3945 पटक पढिएको

म्याग्दी, १८ माघ । सुन्दा अचम्म लाग्न सक्छ, विद्यालय परिसरमै मदिरा र सुर्तिजन्य पदार्थको विक्रि वितरण हुन्छ भन्दा ! तर म्याग्दी सदरमुकाम बेनी स्थित बालमन्दिर आधारभुत विद्यालयको हाताभित्रैबाट मदिरा र सुर्तिजन्य पदार्थको विक्रि वितरण भएको पाईएको छ । विद्यालयले व्यवसायिक प्रयोजनको लागि विद्यालय परिसरमै बनाएको सटरमा मदिरा र सुर्तिजन्य पदार्थको विक्रि वितरणले बालबालिकाहरुमा नकरात्मक सन्देश प्रवाह गरेको हो ।


विद्यालयको प्रवेशद्धारसंग जोडिएका सटरबाट खुल्ला रुपमा मदिरा र सूर्तिजन्य पदार्थको विक्रि वितरण हुनुले गम्भिर प्रश्न उठाएको छ । स–साना बालबालिकाहरुले अध्ययन गर्ने विद्यालय हाताभित्रै खुल्ला रुपमा मदिरा र सुर्तिजन्य पदार्थको विक्रि गर्दा बालमनोविज्ञानमा असर पु¥याएको स्थानीय रमेश मगरले बताए । ‘‘विद्यालयको गेटमै मदिराका बोतल देखिन्छन, यस्ता कार्यले बालबालिकाहरु गलत बाटोतर्फ लाग्ने जोखिमपनि उत्तिकै रहन्छ, यस्ता कार्यलाई नियन्त्रण गर्नतर्फ सम्बन्धित सरोकारवालाको ध्यान जान जरुरी छ’’–उनले भने ।


शिक्षण संस्था रहेको स्थानबाट कम्तीमा १ सय मिटरभित्रको घर र पसलबाट सूर्तिजन्य पदार्थ र मदिराको विक्रि वितरण गर्न नपाउने व्यवस्था छ । सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ अनुसार, शिक्षण संस्था संगै स्वास्थ्य संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय र सरकारले तोकेको सार्वजनिक स्थलको कम्तीमा १ सय मिटरभित्र यस्ता बस्तु विक्रि वितरण गर्न रोक लगाईएको छ ।
तर, बालमन्दिर विद्यालय परिसरको दृष्यले भने संवैधानिक व्यवस्थाको खिल्ली उडाएको छ । कक्षा ८ सम्मका बालबालिकाहरुले अध्ययन गर्दै आएको यस विद्यालय जिल्ला बालसंगठनद्धारा संरक्षित छ । विद्यालयले भाटामा लगाएको सटरमध्ये किराना र रेष्टुरेन्ट सञ्चालनमा रहेको छ । तीमध्ये सबैमा सुर्तिजन्य पदार्थ र मदिराको खुल्ला विक्रि वितरण हुने गरेको पाईएको छ ।


विद्यालयका प्रअ सुरेन्दप्रसाद केसीले सटर भाडामा लगाउँदा प्रचलित कानुनले निषेध गरेका व्यापार व्यवसाय गर्न नपाउने गरि सम्झौता भएको बताए । ‘‘ सटरको प्रयोगको सन्दर्भमा सम्झौता पत्रमा स्पष्ट गरिएको छ, यस्ता कार्य नगर्न पटक पटक व्यवसायिहरुलाई अनुरोध गरेका छाँै, तर कार्यान्वयन भएको छैन’’–प्रअ केसीले भने । यो एक प्रतिनिधिमुलक उदाहारण हो । बेनी संगै ग्रामीण भेगमा रहेका विद्यालयहरुको हाताभित्रैबाट सूर्तिजन्य पदार्थ र मदिरा विक्रि वितरण हुने गरेको गुनासो बढेको छ । विद्यालय परिसरमै सूर्तिजन्य पदार्थ र मदिराको खुलमखुला विक्रि वितरणका कार्यले विद्यालय तहबाटै बालबालिकाहरु धु्रमपान र मध्यपानको कुलतमा फस्ने गरेको जानकारहरु बताउँछन् । यस्ता कार्यहरुको नियन्त्रण गर्नको लागि नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकिृ अधिकृतलाई निरिक्षण अधिकृत तोकेको छ ।

ऐन र नियमावलीमा भएको व्यवस्थालाई कार्यान्वयन गराउनको लागि जिल्ला प्रशासन कार्यालय मार्फत पत्राचार समेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिए । ‘‘ हामीले समय समयमा अनुगमन र निरिक्षण पनि गर्ने गरेका छाँै, कतै ऐन विपरित गरेको भेटिए कानुन बमोजिम कारबाही हुन्छ’’–उनले भने । मौमसी तवरले हुने फितलो बजार अनुगमनको कारण यस्ता कानुन विपरितका गतिविधिले प्रसय पाईरहेको छ । कानुन कार्यान्वयन र अनुगमन गर्ने निकाय जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको मौनताले यस्ता विकृतिहरु नियन्त्रण हुन सकिरहेका छैनन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l