विकास निर्माणमा नमुना कामः लक्ष्य भन्दा एक बर्ष अगाबै जिसस सभाहल भवन निर्माण (फोटो फिचर)

  • १८ कार्तिक २०७६, सोमबार
  • कमल खत्री
  • 2929 पटक पढिएको

कमल खत्री
म्याग्दी १८ कात्तिक । विकास निर्माण योजनाहरुमा निर्माण व्यवसायिको ढिलासुस्ती र लापरबाही बढिरहेको सन्दर्भमा म्याग्दीमा भने एक योजना लक्ष्य भन्दा १ बर्ष अगाबै सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको बहुउदेश्यीय सभाहल भवन निर्माण गर्ने योजनामा निर्माण व्यवसायिले सम्झौता भएको ८ महिनाभित्रै निर्माण कार्य सम्पन्न गरेका हुन् । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन कार्यालय बागलुङसंग प्रतिस्पर्धा मार्फत भवन निर्माण गर्ने ठेक्का लिएको थानी–जयलक्ष्मी जेभीले लक्ष्य भन्दा अगाबै काम सकेको छ ।

२०७५ चैत १८ गतेका दिन ठेक्का सम्झौता गरेको थानी–जयलक्ष्मी जेभीले २०७७ असोज सम्म भवन निर्माण गर्ने समयसिमा रहेपनि ८ महिनामै सभाहलको भवन निर्माण गरिसकेको शहरी विकास तथा भवन कार्यालय प्रमुख तेजिन्द्र पौडेलले जानकारी दिए । उनले विकास निर्माण योजनाहरुमा ढिलासुस्ती बढीरहेको सन्दर्भमा यस योजनालाई समय अगाबै सम्पन्न गरि निर्माण व्यवसायिले सकरात्मक सन्देश दिएको समेत बताए ।

करिब २ करोड १२ लाख लागत स्टिमेट रहेको सभाहल भवन निर्माणमा प्रतिस्पर्धा मार्फत घटेर निर्माण व्यवसायिसंग भ्याटबाहेक रु १ करोड ६७ लाख २६ हजार २७५ मा योजना सम्झौता भएको थियो । ठेकेदारले लक्ष्य अगाबै सम्झौता बमोजिमको कार्य सम्पन्न गरेपछि नवनिर्मित सभाहल भवन जिल्ला समन्वय समितिलाई हस्तान्तरण गरिएको छ ।
सोमबार सभाहल परिसरमा निर्माण व्यवसायि जयन्द्र श्रेष्ठले शहरी विकास तथा भवन कार्यालय प्रमुख पौडेल मार्फत जिससका खरदार नारायण जैसीलाई नवनिर्मित भवनको चापि हस्तान्तरण गरेका थिए ।

भवन हस्तान्तरण गर्दै निर्माण व्यवसायि श्रेष्ठले विकास निर्माण योजनामा ढिलासुस्ती गर्ने प्रवृतिले सबै व्यवसायिहरुमा नराम्रो सन्देश दिने गरेको भन्दै सकरात्मक सन्देश प्रवाहको लागि आफुले लक्ष्य अगाबै योजना सम्पन्न गरेको प्रतिकृया दिए । ‘‘मैले जिम्मा लिएका कुनैपनि योजना अल्पत्र पारेको छैन्, विकास निर्माणमा सम्बद्ध कार्यालयको रचनात्मक सहयोग र निर्माण व्यवसायिको काम गर्ने अठोट हुन जरुरी छ, पर्याप्त मात्रामा उपकरण र मजदुर परिचालन गरेर योजनालाई समय अगाबै सम्पन्न गर्न सम्भव भयो’’–श्रेष्ठले भने ।

                                   निर्माण व्यवसायिले पुरस्कार पाउने
जिल्ला समन्वय समितिको सभाहल भवन निर्माणमा लक्ष्य अगाबै काम सकेका निर्माण कम्पनी थानी–जयलक्ष्मी जेभीले पुरस्कार पाउने भएको छ । शहरी विकास तथा भवन कार्यालय बागलुङका प्रमुख तेजिन्द्र पौडेलले लक्ष्य अगाबै योजना सम्पन्न गर्ने निर्माण व्यवसायिलाई पुरस्कृत गर्ने र ढिलाई गर्ने लाई क्षतिपुर्ति भराउने सार्वजनिक खरिद नियमावलीमा नीतिगत व्यवस्था रहेको बताए ।

सम्झौता भएको रकमको बढीमा १० प्रतिशत रकम नबढ्ने गरि लक्ष्य अगाबै निर्माण सम्पन्न गरेको प्रतिदिन ०.०५ प्रतिशतका दरले पुरस्कार रकम पाउने व्यवस्था रहेको उनले जानकारी दिए । जिसस सभाहललाई लक्ष्य भन्दा एक बर्ष अगाबै सम्पन्न गरेको यस निर्माण कम्पनीले यस अघि पनि म्याग्दीकै ओखरबोट, बागलुको पाला र सुखौरा स्वास्थ्य चौकी भवन लक्ष्य अगाबै सम्पन्न गरी पुरस्कार पाएको थियो ।

                                            सदरमुकामकै ठुलो सभाहल तयार
जिसस बहुउदेश्यीय सभाहल भवन निर्माण भएसंगै जिल्ला सदरमुकाम बेनीमा अहिलेसम्मकै ठुलो सभाहल तयार भएको छ । दुई तले भवनको भुई तलामा आठ वटा कोठा र माथिल्लो तलामा ५०० जना क्षमताको सभाहल छ । नवनिर्मित भवनको भुई तलामा जिल्ला समन्वय समितिको कार्यालय सञ्चालनमा प्रयोग गरिने र माथिल्लो तलाको सभाहलमा फर्निचर लगायतको व्यवस्थापनको लागि पहल गरिएको जिसस प्रमुख देवेन्द्र बहादुर केसीले जानकारी दिए । अहिले बेनीमा सभा, समारोह, सम्मेलन तथा बहृत कार्यक्रम सञ्चालन गर्न हलको समस्या भैरहेको सन्दर्भमा यस सभाहलले ठुलो राहत मिलेको जिसस प्रमुख केसीले बताए ।

तत्कालीन जिल्ला विकास समितिले शान्ति तथा पुनःनिर्माण परियोजनाअन्तर्गत २०७३ असारदेखि निर्माण शुरु गरेको सभाहल शान्ति तथा पुनःनिर्माण मन्त्रालयको खारेजीसँगै बजेट व्यवस्थापन नहुँदा अलपत्र बनेको थियो । एक करोड ४२ लाखको लागतमा दुई तले भवनको जग हाल्ले, पिल्लर ठडाउने र ढलान गरेपनि बजेट अभाबले भवनले पूर्णता पाउन सकेको थिएन् । जिससको गौरवकै योजनाको रुपमा रहेको सभाहल भवन निर्माणलाई सम्बन्धित मन्त्रालय मार्फत बजेट व्यवस्थापन गरि बहुबर्षिय ठेक्का मार्फत योजना अघि बढाईएकाले समयमै उपलब्धीमुलक नतिजा आउन सम्भव भएको गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले जानकारी दिए ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l