रास्वपा म्याग्दीको RAT टोलीद्वारा बाढीपहिरो प्रभावितलाई रु. ६० हजार राहत सहयोग

  • १७ श्रावण २०८३, आईतवार
  • 133 पटक पढिएको

बेनी १७, साउन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दीअन्तर्गतको र्‍यापिड एक्सन टिम (RAT) ले जिल्लाका विभिन्न स्थानमा बाढी तथा पहिरोबाट प्रभावित परिवार र समुदायलाई रु. ६० हजार बराबरको आर्थिक राहत सहयोग प्रदान गरेको छ। रास्वपा म्याग्दीले आइतबार सार्वजनिक गरेको जानकारीअनुसार बेनी नगरपालिका–३ भकिम्लीको चिनाखेत पहिरोमा ज्यान गुमाएका स्वर्गीय लालविर छन्त्यालको परिवारलाई रु. २५ हजार सहयोग गरिएको छ। त्यस्तै पहिरोका कारण भवन तथा सामग्री पुरिएको चिनाखेत आमा समूहलाई रु. ५ हजार प्रदान गरिएको जनाइएको छ। 
दुदेखोला क्षेत्रमा बाढीबाट प्रभावित खड्कबहादुर रोका, नवीन थापा र भूमी पुनलाई जनही रु. ५ हजारका दरले सहयोग गरिएको छ। साथै भाँडाकुँडा तथा अन्य सामग्री बगाएको दुदेखोला आमा समूहलाई पनि रु. ५ हजार उपलब्ध गराइएको रास्वपाले जनाएको छ।
धारापानीका लक्ष्मण थापालाई रु. १० हजार आर्थिक सहयोग प्रदान गरिएको छ। यसरी विभिन्न सात परिवार तथा समुदायलाई जम्मा रु. ६० हजार राहत वितरण गरिएको रास्वपा जिल्ला सभापति युवराज रोकाले जानकारी दिनुभयो ।
रास्वपा म्याग्दीका अनुसार बर्खायाम अझै जारी रहेकाले जिल्लावासीलाई उच्च सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरिएको छ। कुनै पनि विपद् वा आपत्कालीन अवस्था आइपरेमा RAT टोली २४सै घण्टा तयारी अवस्थामा रहेको र आवश्यक सहयोगका लागि सम्पर्क गर्न सकिने जानकारी पनि दिइएको छ। ‘जनताको दुःखमा साथ, विपद्मा तत्काल सहयोग’ भन्ने प्रतिबद्धतासहित रास्वपा म्याग्दी नागरिकको साथमा रहने पार्टीले जनाएको छ।