म्याग्दीको खानेपानी, जलस्रोत तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
- १४ श्रावण २०८३, बिहीबार
- 1 पटक पढिएको
म्याग्दी, १४ साउन। म्याग्दीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रयोगमा ल्याइएको छ । सरकारको शासकीय सुधार कार्ययोजनालाई मध्यनजर गर्दै जिल्लामै पहिलो पटक यस कार्यालयले साउन १२ गतेदेखि डिजिटल प्रविधिलाई कार्यान्वयनमा ल्याएको हो । 
एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा आएसँगै कार्यालयको दैनिक प्रशासनिक कार्य, पत्र दर्ता चलानी, फाइल व्यवस्थापन, निर्णय अभिलेखिकरण, आन्तरिक समन्वय तथा कार्यालय व्यवस्थापनलाई सूचना प्रविधिमैत्री बनाइएको कायाृलय प्रमुख झलक मोहन ओझाले बताउनुभयो । उहाँका अनुसार, कार्यालय उपयोगमा ल्याएको एकीकृत डिजिटल प्रणालीले कार्यालयको कार्यसम्पादनमा गुणत्मक सुधार ल्याउनुका साथै सेवाग्राहीलाई प्रभाबकारी सेवा प्रवाहमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।
यस सेवाको सुरुवातसंगै कार्यालयको कार्य सम्पादनको क्रममा कागजी प्रक्रियामा कमी आउने,अभिलेख व्यवस्थापन थप सुरक्षित र व्यवस्थित हुने,कार्य सम्पादनको अनुगमन तथा जवाफदेहिता अभिवृद्धि हुने तथा सेवा प्रवाहलाई थप छिटो,सरल र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको कार्यालयका प्रमुख ओझाले बताउनुभयो । यस प्रणालीको सफल कार्यान्वयनका लागि आबश्यक प्राविधिक तयारी, कर्मचारी अभिमुखीकरण तथा आन्तरिक व्यवस्थापनका कार्यहरु सम्पन्न गरिसकेको जनाईएको छ ।
कार्यालयले विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी बिदा र काज स्वीकृत,अभिलेख व्यवस्थापन लगायतका कार्यहरु डिजिटल प्रविधिबाट मार्फत गर्न सुरुवात गरेको छ । सेवाग्राहीलाई प्रविधिमैत्री भएर सरल र प्रभाबकारी सेवा प्रदान गर्न यो प्रणालीले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
जीआईओएमएस मार्फत तोक आदेश र टिप्पणी–निर्णय, चिठीपत्र दर्ता–चलानी, हाजिरी, बिदा तथा काज स्वीकृति, अभिलेख व्यवस्थापनलगायतका कार्य अनिवार्य रुपमा विद्युतीय हस्ताक्षरसहित सम्पादन गर्नका लागि गण्डकी प्रदेश सरकारको उर्जा,जलस्रोत तथा खानेपानी मन्त्रालयले कर्मचारीलाई दुईदिन सम्म अभिमूखिकरण समेत गरिएको कार्यालयले जनाएको छ ।
उर्जा,जलस्रोत तथा खानेपानी मन्त्रालय मातहत रहेका प्रदेशका सबै जिल्लामा रहेका कार्यालयहरुमा अबको दुई महिना भित्रमा यो प्रणाली कार्यान्वनयमा ल्याइसकिने जनाईएको छ । यसैबिच कार्यालयले आर्थिक बर्ष २०८२÷०८३ मा ८३ प्रतिशत भौतिक र ९० प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ । कार्यालयले यस अबमा स्रोत सुनिश्चितता भएका २९ योजना कार्यान्वयन गरेकोमा १८ वटा निर्माण सम्पन्न भएका छन भने ११ वटा क्रमागत आयोजनको रुपमा निर्माणधिन रहेका छन् ।