हरियालीमा सहुलियत ब्याजमा परियोजना कर्जा

  • १० आश्विन २०७६, शुक्रबार
  • सन्ताेष गाैतम
  • 2948 पटक पढिएको

 

म्याग्दी, १० असोज । राष्ट्रिय वाणिज्य बैङ्कले म्याग्दीमा एउटै परियोजनामा बिना धितो करोडौ रुपैयाँ सहुलियत ब्याजको कृषि कर्जा प्रवाह गरेको छ । हरियाली समूहले बेनी नगरपालिका–४ सिंगामा सञ्चालन गरेको कृषि परियोजनामा राष्ट्रिय वाणिज्य बैङ्कको बेनी बजार शाखाले पाँच करोड रुपैयाँ लगानी गरेको हो ।

बिना धितो परियोजनालाई सहुलियत ब्याजको सम्भवत नेपालमै पहिलो पटक ठूलो लगानी भएको बैङ्कका बेनी शाखा प्रबन्धक अर्जुन तिवारीले बताए । केन्द्रीय कार्यालयबाट पाँच करोड रुपैयाँ कर्जा स्विकृत भएकोमा पहिलो चरणमा दुई करोड ५० लाख रुपैयाँ समूहलाई भुक्तानी दिइएको जानकारी दिए ।‘सरकारले सात वटा शिर्षकमा सहुलियत ब्याजदरको ब्यवस्था गरेको छ,’ तिवारीले भन्नुभयो ‘हामीले सहुलियत ब्याजको कृषि कर्जा कार्यक्रम अन्तरगत कर्जा प्रवाह गरेका हौ ।’ जग्गा नभएर परियोजना र त्यहाँ निर्मित पूर्वाधारलाई आधार मानेर लगानी भएको हो । ‘कृषि परियोजनामा भएको यो लगानी नजिर हुन पनि सक्ने सम्भावना छ,’ तिवारीले भन्नुभयो ‘धेरै पैसा नहुने कृषकहरुलाई सहुलियत ब्याजदरमा परियोजना कर्जाले सहज बनाउछ ।’

सेवा शूल्क सहित ८.२३ प्रतिशत हुने ब्याजदरमा सरकारले पाँच प्रतिशत सहुलियत दिने र ऋणीले ३.२३ प्रतिशत ब्याजदर तिर्नुपर्ने ब्यवस्था छ । यसअघिकै वर्षहरुमा सरकारले सहुलियत ब्याजदरको कृषि कर्जा कार्यक्रम ल्याएपनि कार्यान्वयन हुन सकेको थिएन् । अधिकांश बैङ्कहरुले घरजग्गा धितोमा राखेर ऋण प्रवाह गर्ने गर्छन् । तर वाणिज्य बैङ्कले सरकारले ल्याएको कार्यक्रम कार्यान्वयनका लागि जोखिम बहन गरेरै परियोजनालाई आधार मानेर कर्जा प्रवाह गरेको हो ।

लगानीकर्ता र कृषकहरुको छ करोड रुपैयाँ भन्दा बढी लगानीमा कुखुरा, माछा, माहुरीपालन, तरकारी र पुष्प खेती गरेको हरियाली समूहले बाख्रा र कालिजपालनको तयारी गरेको छ । सरकारी अनुदान भन्दा सहुलियत ब्याजदरको अनुदानमा जोड दिएको समूहले जनाएको छ । कृषिको आधुनिकिकरण र व्यावसायीकरण गरी रोजगारी सिर्जना गर्ने, उत्पादन र त्यसबाट कृषकहरुको आम्दानी बढाउने उद्देश्य राखिएको “हरियाली मोडेल” नेपालमै पहिलो पटक म्याग्दीमा लागू भएको हो ।

जग्गाधनी किसान र अन्य विज्ञ लगानीकर्ताहरुको स्वामित्वमा कम्पनी स्थापना गर्ने, सोही कम्पनीको अगुवाईमा किसानहरुको जग्गालाई एकिकरण र चक्लाबन्दी गर्ने, जमिन, हावापानी र बजारको अध्ययन गरीे खेती, पशुपंछी पालन छनौट, जग्गाधनी कृषकहरु नै कर्मचारी भएर सहभागी हुने, कम्पनीले बीउ–मल, औजार, प्राविधिक सेवा, तालिम, बजार आदि बारेमा सम्पूर्ण व्यवस्था गर्ने हरियाली मोडेलका बिशेषता हुन् ।

युवाहरुलाई उत्पादनमा जोड्न अघि सारिएको उत्पादन ब्रिगेडको अवधारणा, दक्षिण अफ्रिकामा संचालित टिम्बाली मोडेल र भारतमा हाल ४६ लाख दुग्ध उत्पादक कृषकहरु संलग्न रहेको अमूल मोडेलको फ्यूजनबाट “हरियाली मोडेल” विकास गरिएको अवधारणाकर्ता राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले बताउनुभयो ।

ब्लक “ए” र ब्लक “बि” मा गरी ३४ जना कृषकहरुको १६० रोपनी जमिन एकिकृत गरी अघि बढाइएको उक्त परियोजनामा जग्गाधनी कृषकहरुसंग १५ वर्षको लागि जमिनको करार गरिएको छ । करार अन्तर्गत कृषकहरुले आफ्नो जमिनबाट अधिकतम उत्पादन हुँदा प्राप्त हुने आम्दानी बराबरको रकम ६–६ महिनामा अग्रिम भुक्तानी पाउने गरेको हरियालीका प्रबन्ध–निर्देशक सेरबहादुर केसीले बताउनुभयो ।

सात वटा पोखरीमा २७ हजार रहु, नैनी, ग्रासकार्प र कमनकार्प जातका माछा पालन गरिएकोमा थप डेढलाख माछा पालनको लागि नयाँ पोखरीहरु निर्माण गर्न थालिएको छ । मासु र अण्डाका लागि छुट्टा–छुट्टै ठाउँमा २७ हजार ब्रोइलर र लेयर्स जातका कुखुरा पालिएको छ । १०० घारमा माहुरी पालिएको छ ।

१ सय रोपनी खुल्ला जमिन र प्लाष्टिक टनेलका अतिरिक्त आधुनिक हाइटेक प्रबिधिको टनेलभित्र तरकारी लगाइएको छ । जग्गाधनी कृषकहरु र स्वदेश तथा विदेशमा रहेका म्याग्दीवासीहरु गरी जम्मा ५४ जना आवद्ध कम्पनीले जग्गा चक्लाबन्दी र पूर्वाधार तयार पार्ने सहितको काममा ६ करोड रुपैयाँभन्दा बढीको लगानी गरेको छ । यो म्याग्दी जिल्लामा हालसम्मकै ठूलो कृषि परियोजना हो ।

सन्ताेष गाैतम