कृषि र पशुपालनबाट आत्मनिर्भर : स्वदेशकै माटोबाट समृद्धिको सन्देश

  • ५ आश्विन २०७६, आईतवार
  • धिरन खत्री
  • 691 पटक पढिएको

धिरन खत्री
म्याग्दी, ५ असोज । केहि समय अघि सम्म स्वदेशमा ठुलो लगानी गर्न नसक्ने र राम्रो अध्ययन गर्न नपाएकाहरु खासगरि विदेश पलायन हुने गर्थे । कतिपय विदेश पुगेकाहरुले राम्रै उपलब्धी पनि हाँसिल गरेका छन् । तर पछिल्लो समय विदेश जानेको ‘ट्रेन’ फेरिएको छ । अध्ययन गरेका र आर्थिक रुपमा सक्षम व्यक्तिहरु पनि विदेश पलायनकै बाटो रोजेका छन् । आर्थिक विकासको लागि स्वदेशमा सम्भावना नदेखेर हरेक युवाहरु विदेश पलाएन हुने भिडमा केहिले भने स्वदेशकै माटोमा पसिना बगाएर समृद्धिको सन्देश दिएका छन् ।


मेहनत र परिश्रम गरे रोजगारिको लागि विदेशमा मात्रै होइन स्वदेशमा पनि कृषि र पशुपालनबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण म्याग्दीमा धेरै कृषकहरुको सफलतामा देखिन्छ । कतिपय विदेशमा पुगेर समेत मेहनत र परिश्रमलाई चिनेका युवाहरु नै कृषि कर्ममा जमेका छन् ।जिल्लामा यतिबेला मौसमी तथा बेमौसमी कृषि खेति र पशुपालनमा एकल तथा सामुहिक रुपमा अघि बढ्नेको संख्या बढ्दै गएको छ। निरन्तरको कृषि पेशाबाट सफलता पाएका छन्, रघुगंगा गाउपालिको– ३ फुलवारीका इन्द्रबहादुर भण्डारीले । ब्यवसायिक मौसमी र बेमौसमी फलफूल र तरकारी खेतीबाट स्वदेशमै आकर्षक आम्दानी गर्न उनी सक्षम भएका छन् । विगत १२ बर्षदेखि व्यवसायिक रुपमा तरकारी तथा फलफूल खेती गर्दै आएका भण्डारीले अहिले बार्षिक रु ३ लाख भन्दा बढी आम्दानी गर्छन ।


ग्रामिण भेगमा चुलोचौकोमा मात्रै सिमित रहेको समयमा रघुगंगा गाउँपालिका–३ पिप्लेकी ३१ बर्षकी सन्तोषी भण्डारी मेहनत, संघर्ष र परिश्रमले आत्र्मनिर्भर बन्न सकिन्छ भन्ने गतिलो उदाहरण दिएकी छन् । भण्डारीले विगत नौँ बर्षदेखि ५ रोपनी जग्गा भाडामा लिएर भैसी, बाख्रा, कुखुरा र बंगुर पाल्दै आएकी छन् । उनले समिर पुशपंछी पालन केन्द्र दर्ता गरेर ब्यवसाययिक पशुपंछीपालन मार्फत बार्षिक १२ लाख आम्दानी गरेकी छन् ।


स्थानीय स्रोत र साधन प्रयोग गरेर अन्नपुर्ण गाउपालिका – २ स्थित भुरुङ तातोपानीका दुई युवा सुजन राम्जाली र इन्द्र थाापाले तातोपानीको बेसीमा ब्यवसायिक माछापालन गरेका छन् । विगत ४ बर्षदेखि आफनै जग्गामा माछापालन सुरु गरेको राम्जालीले बताए । बाझो , उर्भरभूमि र संधैभरी बग्ने मूलको पानीलाई सदुपयोग गर्दै ब्यवसायिक माछापालन सुरु गगरेका उनीहरुले १५ लाख भन्दा बढी लगानी गरेका छन् । प्रविधियुक्त तथा हावापानी मिल्ने रेन्वो ट्राउट माछा पालनबाट अहिले उनीहरु आकर्षक कमाइ गर्न सफल भएका छन् । मिठो स्वाद र स्वास्थ्यका लागि फाईदाको रुपमा चिनीने रेन्वो ट्राउट माछा प्रतिकिलो १३ सय रुपैयाको दरले पोखरीबाटै विक्रि हुने गरेको छ । नजिकै गाउँपालिकाको केन्द्र पोखरेवगर र नेपालमै प्रसिद्ध भुरुङ तातोपानी कुण्ड नजिक भएका होटलमा ग्राहकको मागअनुसार ताजा माछाको रुपमा विक्रि हुने राम्जालीले बताए ।


गाउँमै कृषि र पशुपालनबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण मंगला गाउँपालिका– २ तोराखेतस्थित बस्ने थमप्रसाद पौडेलले दिएका छन् । बेनी – दरवाङ सडक नजिकै पौडेलले ब्यवसायिक पशुपालन तथा कृषि खेतीबाट वार्षिक साढे ३ लाख आम्दानी गर्दै आएका छन् । दैनिक ३० लिटर दूध उत्पादन गर्ने पौडेलले भैसी फार्ममा ७ वटा भैँसी पाल्दै आएका छन् । उनले मासिक रुपमा ७० हजारको दरले आम्दानी गर्छन् । दाना र अन्य खर्च कटाएर ३० हजार भन्दा माथि बचत हुने उनको अनुभव छ।


धौवलागिरि गाउँपालिका–१ गुर्जा जिल्लाको सदरमुकाम बेनीदेखि २६ कोष टाढा रहेको छ। पशुपालन र जडिबुटी गुर्जाबासीको आम्दानीको स्रोत हो । ३ सय घरपरिवार रहेको गुर्जा गाउमाँ ब्यवसायिक रुपमा भेडापालनलाई १६ घरपरिवारभन्दा बढी कृषकले गरेका छन् । १ जनाले ५० देखि ३÷४ सय सम्म भेडा पालेका छन् । चरन क्षेत्रसंगै भेडापालनलाई प्राथमिकता दिएका गुर्जाका नगेन्द्र छन्तयलाले ५५ बर्षदेखि निरन्तर भेडा पाल्दै आएका छन् । हिमाली भेगको हावापानी रजडिबुटी खाएर हुर्केका भेडा पोषिलो मानिन्छ । ब्यवसायिक रुपमा भेडा पाल्दै आएपनि बजारको समस्याले भनेजस्तो मूल्य नपाएको गुनासो कृषक नगेद्र छन्त्यालले बताए । गुर्जालाई ब्यवसायिक भेडापालनको पकेट क्षेत्र बनाउन गाउँपालिकाले प्राथमिकता दिएको वडा अध्यक्ष झक छन्त्यालले बताए ।

यी कृषि र पशुपालनमा सफलताका केही उदाहरण मात्रै हुन् । स्वदेशमै पसिना बगाउन लामबद्ध धेरै छन यहाँ । तर स्थानीय सरकार ग्रामिण क्षेत्रमा बाझो रहेको जग्गालाई ब्यवसायिक खेती तथा पशुपालनमा दिगो योजनासहित अघि बढ्नुपर्ने देखिन्छ । ब्यवसायिक कृषि खेती तथा पशुपालन गरेका कृषकका समस्या समाधानका लागि कृषि तथा पशु कार्यालयमा दक्ष प्राविधिक राख्नुपर्ने हरियाली ग्रुपका संचालक शेरबहादुर केसीले बताए । म्याग्दीमा अहिले ‘हरियाली ग्रुपले नमुना कृषि फर्म सञ्चालनमा ल्याएको छ । दक्ष प्राविधिकको अभावमा कृषकहरुले जिल्लाबाहिर समस्या समाधान खोज्न जानुपर्ने बाध्यता रहेको केसीको भनाई छ ।

अन्नपुर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले गाउँपालिकाभित्र स्थानीय स्रोतसाधन प्रयोग गरे ब्यवसायिक आलु, माछा, चौरी, भेडाबाख्रा पालन लगायतका खेती र पशुपालन गर्ने कृषकलाई तालिम र अनुदान दिने निर्णय गरिएको बताए । त्यस्तै रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले हरेक वडामा हावापानी सुहाउने कृषि नर्सरीसहित ब्यवसायिक खेतीलाई प्राथमिकता दिएको बताए ।

स्थानीय स्रोतसाधनलाई प्रयोग गर्दै आम्दानीको रुपमा ब्यवसायिक कृषि तथा पशुपालन गर्ने कृषकलाई राज्यले प्राविधि र सुलभ अनुदान ब्यवस्था गर्न सके आयात घटाउदै निर्यात बढाउन सहिन्छ । कृषि तथा पशुपालनमा आवद्ध कृषकलाई निरन्तरता दिनका लागि स्थानीय सरकारले दिगो योजनासहित कृषिमा सहुलियत कर्जा, प्रविधिसम्वन्धी तालिम र बजार ब्यवस्थापनमा ध्यान दिन सके कृषि र पशुपालनमा लाग्नेहरुलाई हौँसला थपिन सक्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l