विश्व शान्तिको कामनार्थ कालीगण्डकी नदीमा दीप प्रज्वलन

  • १३ चैत्र २०८२, शुक्रबार
  • 1 पटक पढिएको

म्याग्दी, १३ चैत । म्याग्दी सदरमुकाम बेनी स्थित कालीगण्डकी नदी किनारमा विश्व शान्तिको कामनार्थ २ करोड ५० लाख दीप प्रज्वलन गरिएको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा हजारौँ भक्तजनको सहभागीतामा दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलनमा सहभागी हुन आएका भक्तजनको भीडले शुक्रवार दिनभर कालीगण्डकी नदी किनारमा धार्मिक मेला लागेको थियो ।
विश्व हिन्दु महासंघ म्याग्दीले विश्वमा शान्तिको कामना गर्दै नदी किनारमा यज्ञ सहित दीप प्रज्वलन गरेको हो । मानव कल्याण, राष्ट्रको रक्षा, पितृहरुको उद्धार र विश्वमा शान्तिको कामना गरी १ करोड ८ लाख दीप प्रज्वलन गर्ने संकल्प गरिएकोमा भक्तजनहरुको उल्लेख्य सहभागीताले २ करोड ५० लाख बढी दीप प्रज्वलन भएको विश्व हिन्दु महासंघ म्याग्दीका अध्यक्ष दण्डपाणि उपाध्यायले जानकारी दिनुभयो ।

 

मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको जयन्ती, मंगला र कालीगण्डकीको सङ्गमस्थलमा दीप प्रज्वलन संगै पितृ उद्धारको पूजाआजा समेत गरिएको छ । यस क्षेत्रमा अहिलेसम्मकै ठूलो दीप प्रज्वलनमा सहभागी हुन म्याग्दीका साथै पर्वत, बागलुङ र मुस्ताङबाट समेत सयौँको सख्ंयामा भक्तजनहरुको आगमन भएको आयोजकले जनाएको छ । दिपदानका लागि २५० जनाले कर्ता बनेर कालीगण्डकीमा स्नान गरी पूजाआजा समेत गरेका थिए।
भगवान रामले मध्यान्नकै समयमा अवतार ल्याएको कारण दिनमै कोटी दीपदान गरिएको पण्डीत ठाकुर प्रसाद शर्माले बताउनुभयो । धार्मिक रुपमा पुन्य प्राप्ती हुने कोटी दीपदानले आफु नासिएर भएपनि अरुलाई उज्यालो प्रकाश छर्ने सन्देश दिने उहाँको भनाई छ ।
कालीगण्डकी नदी किनारमा आयोजना गरिएको यज्ञमा स्वती वाचन, संकल्प, देवी देवताको पुजाआजा सहित हवन सहित ग्रह, बास्तुको पुजाअर्चना गरी भजनकृतनको साथमा दीप प्रज्वलन गरिएको थियो । कालीगण्डकी नदी विश्वमै शालिग्राम शिला पाइने एकमात्रै नदी हो । यो नदीलाई धार्मिक रुपमा पवित्र नदीको रुपमा लिने गरिन्छ ।