बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित
- ११ चैत्र २०८२, बुधबार
- 5 पटक पढिएको
म्याग्दी, चैत ११ गते । बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक महत्वका बहुवर्षीय सडक आयोजनाहरुको निर्माण प्रभावित बनेको छ । पूर्वाधार विकास कार्यालयलाई प्रदेश सरकारले बहुवर्षीय आयोजनाका लागि विनियोजन गरेको बजेट सकिएपछि व्यवसायीले भुक्तानी पाएका छैनन् । कार्यालयका अनुसार म्याग्दीमा चालु आर्थिक वर्षका सडक पूर्वाधारसम्बन्धी ३२ योजनाका लागि रु ६२ करोड विनियोजन भएको थियो । 
बेनी–पाखापानी सडकको भुतादैला–तोरीपानी खण्डको चार किलोमिटर दूरीमा कालोपत्र र ग्राभेल गर्ने कार्य लक्ष्यभन्दा पाँच महिनाअघिनै सम्पन्न भए पनि बजेट अभावमा भुक्तानी नपाउँदा समस्या भएको निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले बताउनुभयो । रु दुई करोड बजेट विनियोजन भएको यो योजनाका लागि थप रु दुई करोड ५० लाख बजेट अपुग भएको छ ।
गलेश्वर–पुलाश्रम (पछै)– जगन्नाथ जोड्ने सडक आयोजनाका निर्माण व्यवसायी भीम सापकोटाले पनि लक्ष्यभन्दा पाँच महिनाअघिनै योजना सम्पन्न गरे पनि बजेट अभावका कारण ऋण खोजेर मजदुरको ज्याला र आपूर्तिकर्तालाई भुक्तानी दिनुपरेको गुनासो गर्नुभयो । हाडेभिर–बगरफाँट–भकिम्ली र भगवती–सिजलगाउँ–बेग सडक योजनाका निर्माण व्यवसायी नीरज भण्डारीले बजेट सकिएपछि निर्माण कार्य स्थगित गरेको बताउनुभयो ।
क्रमागत १७ वटा योजनाका लागि रु ५२ करोड र नयाँ १५ वटा योजनाका लागि रु १० करोड बजेट प्राप्त भएको थियो । सङ्घीय र प्रदेश सरकारको लागत साझेदारीमा गत वर्ष ठेक्का सम्झौता र यस वर्ष रु २३ करोड २२ लाख बजेट बिनियोजन भएको दरवाङ–ताकम–शिवाङ–मुना–जलजला–ढोरपाटनबाहेक धेरैजसो सडकमा बजेट अभाव भएको पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँले बताउनुभयो ।
“सालबसाली योजनाहरुको ठेक्का प्रतिस्पर्धाको क्रममा घटेको करिब डेढ करोड आन्तरिक रकमान्तर र थप रु आठ करोड ४५ लाख रकमान्तरका लागि मन्त्रालयमा सिफारिस गरेका छौँ”, उहाँले भन्नुभयो, “बजेट भएका योजनामा काम नहुँदा खर्च गर्न सकिएको छैन, काम भएका योजनाको बजेट सकिएपछि व्यवसायीलाई काममा लगाउन समस्या भएको छ ।”
बेनी–दरवाङ–कल्लेनी–ताकम–मुना–जलजला, दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तीवाङ, पखेर बरङ्जा ३ र ४ हुँदै महेश धापुङ ताराखोला गापा जोड्ने सडक, दरवाङ– मुना– ढोरपाटन, दरवाङ–बिम–दिच्याम, दरखोला सडक पुल, शिवरात्रि खोला सडक पुल, रुमदेखि ताराखोला जोड्ने सडक, दाङखोला पुल र साँवता थापाचौर झोलुङ्गे पुल निर्वाचन क्षेत्र १(२) का क्रमागत बहुवर्षीय योजनाहरु हुन् ।
निर्वाचन क्षेत्र १(क) मा बेनी–तोरीपानी, हाँडेभिर–बगरफाँट–दूधेखोला– हल्लेगौडा– डोलेमुसुङ, गलेश्वर–पिप्ले – भगवति, गलेश्वर–पुलाश्रम, चित्रे– घोडेपानी, भगवति–सिजलगाउँ–बेग जोड्ने क्रमागत बहुवर्षीय सडक निर्माणाधीन छन् ।
रु एक/एक करोड बजेट विनियोजन भएको बिम–मराङ–मल्कवाङ–पाखापानी, जैसीखोर–खहरेखोला–रिसिन चौतारी हुँदै बैसरी सडक स्तरोन्नति योजनाको बहुवर्षीय ठेक्का आह्वान भएको छ । रु एक करोड बजेट विनियोजन भएको फापरखेत पहिरोको वैकल्पिक मार्गमा पर्ने म्याग्दीखोलामा बेलिब्रिज निर्माणका लागि बहुवर्षीय ठेक्का आह्वान गर्न स्रोत सुनिश्चितता भएको छ ।
जिल्लाका प्रदेशसभा सदस्यद्वय रेशमबहादुर जुग्जाली र हरिबहादुर भण्डारीले बजेट अभावमा सडकको निर्माण अवधि लम्बिने अवस्था देखिएको विषयमा प्रदेश सरकार र विभागीयमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो । अपुग बजेट रकमान्तरण गरेर काम गरेका व्यवसायीलाई भुक्तानीको व्यवस्था मिलाउन सरकारसँग पहल गरिरहेको उहाँहरुले बताउनुभयो । रासस