गायिका जेनिशा छन्त्यालको छन्त्याल भाषाको म्यूजिक भिडियो सार्वजनिक (भिडियाे सहित)

  • १५ भाद्र २०७६, आईतवार
  • 7316 पटक पढिएको

म्याग्दी, १५ भदौ । गायिका जेनिशा छन्त्याल (जकमाया)को छन्त्याल भाषाको गीत “खानी गाउँरी म्हिन्थो फुलिसीम”को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आइतबार पोखरामा आयोजित एक कार्यक्रमका बीच सो म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । म्यूजिक भिडियो सार्वजनिक गर्दै नेपाल छन्त्याल संघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका अध्यक्ष खिम झिङ्राजा छन्त्यालले यस म्यूजिक भिडियोले छन्त्याल भाषाको संरक्षणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । छन्त्याल समुदाय नेपालको अल्पसंख्यक आदिवासी जनजाति समुदाय भएको भन्दै उहाँले छन्त्याल भाषा पनि लोप हुँदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । छन्त्याल समुदायमा मातृभाषा बोल्ने र नबोल्ने दुईथरि रहेको भन्दै अध्यक्ष छन्त्यालले लोप हुँदै जान थालेको छन्त्याल भाषा बचाउन गीतसंगीतको ठूलो देन रहने उल्लेख गर्नुभयो । अध्यक्ष छन्त्यालले छन्त्याल भाषाको गीत बजारमा ल्याएर भाषा संरक्षण र प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेलेको भन्दै गायिका जेनिशा छन्त्यालसहितको टिमको प्रशंसा समेत गर्नुभयो ।


नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म गुरुङले आदिवासी जनजाति भाषा, संस्कृतिले धनी रहेको भन्दै आदिवासी जनजाति समुदायको इमान्दारिताले सिंगो नेपाललाई संसारमा चिनाएको दाबी गर्नुभयो । आदिवासी जनजाति समुदाय गीतसंगीतका हिसाबले समेत अघि रहेको भन्दै उहाँले आदिवासी जनजातिका मातृभाषामा सार्वजनिक भएका गीतसंगीतले आदिवासी जनजातिको पहिचान बोलेको भनाइ राख्नुभयो ।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, गण्डकी प्रदेशकी अध्यक्ष दिलमाया गुरुङले पछिल्लो समय आएको जागरणसँगै छन्त्याल भाषामा पनि गीतसंगीतहरू आउन थाल्नु खुशीको कुरा भएको बताउँदै आफ्नो अधिकारका लागि समेत सचेत हुनुपर्ने धारणा राख्नुभयो । तमु कलाकार संघ, गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले पहिलो गीत भएपनि गायिका जेनिशा छन्त्याललगायतका कलाकारको गायन निकै उत्कृष्ट रहेको उल्लेख गर्दै छन्त्याल भाषामा गीत गाएर सम्पूर्ण छन्त्याल समुदायका लागि प्रेरणाको स्रोत बनेको बताउनुभयो ।


नागरिक सञ्जाल, कास्कीका कोषाध्यक्ष हितमान छन्त्यालले छन्त्याल समुदायको जातीय पहिचानका लागि छन्त्याल भाषाको म्यूजिक भिडियो सार्वजनिक हुनु सराहनीय रहेको बताउनुभयो । गीतको बारेमा आफ्नो भनाइ राख्दै गायिका जेनिशा छन्त्यालले आफूले विभिन्न कार्यक्रममा मातृभाषाको गीत गाउने गरेको भएपनि सबैको सल्लाहले पहिलोपटक आफ्नै मातृभाषामा गीत गाउने प्रयास गरेको बताउनुभयो । नेपाल छन्त्याल महिला संघ, कास्कीकी अध्यक्ष माया तथब्जा छन्त्यालले आफ्नै मातृभाषाको गीत हेर्न र सुन्न पाउनु खुशीको कुरा भएको बताउनुभयो ।


नेपाल छन्त्याल संघ, कास्कीका अध्यक्ष भक्तबहादुर घरब्जा छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव बमबहादुर घरब्जा छन्त्याल र नेपाल छन्त्याल युवा संघ, कास्कीका सचिव सुरज छन्त्यालले समेत बोल्नुभएको थियो । गायिका जेनिशा छन्त्यालको पहिलो प्रस्तुती “खानी गाउँरी म्हिन्थो फुलिसीम”को गीतमा गायिका जेनिशासहित आश्मा छन्त्याल, दल छन्त्याल (बुढाथोकी साइँला) र दिनेश छन्त्यालले स्वर दिएका छन् । गायिका जेनिशाको लय र खिम छन्त्याल (बिन्दास बाबु)को शब्द रहेको गीतको संगीत संयोजन एलबी पुनले गरेका हुन् । पुन डिजिटल रेकर्डिङ स्टुडियो, लामाचौर, पोखरामा रेकर्ड गरिएको गीतको म्यूजिक भिडियोको दृश्य निर्माण श्रीस साउण्ड एण्ड भिडियो, नयाँगाउँ, पोखराले गरेको हो । म्यूजिक भिडियोको निर्देशन दिलीप राना (गोरे)ले गरेका हुन् भने छायांकन दानबहादुर श्रीसमगर र प्रेम थापा तथा सम्पादन दानबहादुर श्रीसमगरको रहेको छ ।  साभार www.laphakhabar.com

भिडियाेः