पिप्लेका सुदिप बास्केटवल खेलमा चम्कदै, राष्ट्रिय छनौटको प्रतिस्पर्धामा

  • २२ श्रावण २०७६, बुधबार
  • 4344 पटक पढिएको

म्याग्दी २२ साउन । म्याग्दीको रघुगगा गाउँपालिका–३ पिप्लेका सुदिप कार्की बास्केटबल खेलमा राष्ट्रिय खेलाडिको रुपमा उदाएका छन् । २० बर्षका कार्की अहिले बास्केटबलको राष्ट्रिय टोलीमा छनौटको लागि प्रतिस्पर्धामा छन् । पिएन क्याम्पस स्नातक तह दोस्रो बर्षमा अध्ययनरत कार्की अहिले गण्डकी प्रदेश स्तरको प्रतिस्पर्धाबाट राष्ट्रिय टिमको लागि छनौटमा परेका हुन् ।

१३ आँै दक्षिण यसियाली खेलकुद (साग)को लागि राष्ट्रिय टोली छनौट गर्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट कार्की बन्द प्रशिक्षणको लागि पहिलो चरणको छनौटमा परेपछि उनको राष्ट्रिय टोलिमा समावेश हुने सम्भावना बढेको छ ।राष्ट्रिय टोलीमा छनौटको लागि धरानमा राष्ट्रिय बन्द प्रशिक्षणमा रहेका कार्कीले राष्ट्रिय टोलीमा अनुबन्धन हुने गरि आफ्नो तर्फबाट अभ्यासमा जोड दिएको जानकारी दिए । ‘‘ बास्केटबल मेरो प्यासन नै बनेको छ, राष्ट्रिय टोलीमा छनौट भएर आफ्नो खेल प्रतिभालाई अन्तराष्ट्रिय स्तरसम्म प्रदर्शन गर्ने मेरो लक्ष्य रहेको छ’’–कार्कीले भने ।

देशभरबाट ३२ जना सहभागि रहेको पहिलो चरणको बन्द प्रशिक्षणबाट उत्कृष्ट १२ जना खेलाडी राष्ट्रिय टोलिको रुपमा छनौट हुनेछन् । बन्द प्रशिक्षणमा गण्डकी प्रदेशबाट कार्की सगै सागर विक गरि दुई जना मात्रै सहभागि छन् । रघुगगा मावि पिप्लेबाट एसएलसी उर्तिण गरेका कार्कीले पोखरा माविबाट दश जोड दुई उर्तिण गरेका थिए ।

गाउँमा रहँदा समेत बास्केटबल प्रतियोगितामा सहभागि हुने गरेका कार्की उच्च शिक्षा अध्ययनको क्रममा पोखरा पुगेपछि आफ्नो खेलप्रतिभालाई क्षेत्रीय स्तरमा विकास गर्न सफल भएका हुन् । आठौँ राष्ट्रिय खेलकुद प्रतियागितामा गण्डकी प्रदेशबाट सहभागि भएर राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा छनौट भएपछि कार्की राष्ट्रिय खेलाडिको रुपमा स्थापित हुने सम्भावना बढेको छ ।