म्याग्दीमा वाईसियल परिचालन यसरी हुँदैछ चुनावका लागि

  • ११ बैशाख २०७४, सोमबार
  • 3967 पटक पढिएको

म्याग्दी । नेकपा (माओवादी केन्द्र) निकट युवाहरुको संगठन योङ्ग कम्युनिष्ट लीग नेपाल, म्याग्दीले स्थानीय चुनावमा राता मान्छेहरु परिचालन गर्ने रणनीती बनाएको छ । आगामी बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनको पूर्वसन्ध्यामा २ सय भन्दा बढी युवालाई राजनैतिक तथा शारीरिक प्रशिक्षण समेत दिएको छ । गत बैशाख ४ गतेबाट म्याग्दीको हिदीमा एक हप्ते प्रशिक्षण सुरु गरेको थियो ।

जिल्लाका विभिन्न स्थानका युवाहरुलाई सहभागी गराएर निर्वाचनलाई मर्यादीत वातावरणमा सम्पन्न गराउनका लागि युवाहरुलाई प्रशिक्षण गरिएको वाईसियल म्याग्दीका अध्यक्ष भोजबहादुर थापाले बताए ।


सोमबार एक हप्ते तालिमको समापन कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र पोलिट व्युरो सदस्य गोविन्द पौडेलले निर्वाचन शान्त र मर्यादीत रुपमा सम्पन्न गराउनका लागि तालिममा सिकेका कलाहरुलाई आवश्यकता अनुसार प्रयोग गर्न निर्देशन दिए । निर्वाचन शान्त रुपमा सम्पन्न गराउनका कुनै कसर बाँकी नराख्न भन्दै उनले यदी कसैले आफूहरु माथि आईलागेमा निर्धक्कका साथ प्रतिरोध गर्न समेत निर्देशन दिए । बावियाँचौरबाट दरबाङसम्म रातो टिसर्टमा वाईसियलका युवाहरुले मार्चपास गरेका थिए । दरबाङ्ग पुगेर उनीहरुले समापन गरिएको कार्यक्रममा समेत युवाहरुले तालिममा सिकेका कलाहरुलाई प्रदर्शन गरेका थिए ।
निर्वाचनको समयमा प्रत्येक बुथमा वाईसियललाई परिचालन गरिनेछ । निर्वाचनमा पैसा बाड्ने, उम्मेदवार तथा मतदातालाई डर, त्रास देखाउने, धम्की दिने जस्ता क्रियाकलाप भएमा वाईसियलले त्यसको खरो प्रतिरोध गर्ने अध्यक्ष थापाको भनाई छ । एक हप्तासम्म जनमुक्ति सेना नेपालका पूर्व कमाण्डर तथा वाईसियल म्याग्दीका अनुसासन विभाग प्रमुख रुकवीर जुग्जालीले शारीरिक प्रशिक्षण गरेका थिए । नेकपा माओवादी केन्द्र म्याग्दीका नेताहरुले युवाहरुलाई राजनैतिक तथा बैचारिक प्रशिक्षण प्रदान गरेका थिए ।