गाउँ बस्तीमा विकासको लहर

  • ३१ बैशाख २०७६, मंगलवार
  • 3638 पटक पढिएको

 

मराङ ३१ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका ५ मल्कवाङ र ६ मराङमा सञ्चालित विभिन्न पूर्वाधार विकास आयोजना तिब्रताका साथ अघि बढेका छन् । भौगोलिक रुपमा विकट, दुर्गम क्षेत्र, राजनीतिक र प्रशासनिक पहुँचमा पछि परेका मराङ र मल्कवाङमा सडक, भवन, पुल, नदी नियन्त्रण, विद्युतीकरण लगायतका करोडौका आयोजना भित्रीएको छ । विगतमा गाविसमा आउने दश, पन्ध्र लाख रुपैयाँ बजेटबाट विकास आयोजना सञ्चालन हुने गरेकोमा संघीयता कार्यान्वयनसंगै स्थानीय तह, प्रदेश र संघीय सरकारबाट यही वर्ष मराङमा मात्र पाँच करोड भन्दा बढीका आयोजना सञ्चालन भएका स्थानीय ज्ञानबहादुर गर्बुजाले बताउनुभयो ।


‘संघियता आएपछि हामीजस्तो दुर्गम गाउँका बासिन्दाले विकासको प्रतिफल पाएका छौ,’ गर्बुजाले भन्नुभयो ‘विकासका पूर्वाधार निर्माणले तिब्रता पाएपछि जनतामा सुबिधा, सकारात्मक परिवर्तनको आशा तथा रोजगारिको अवसर सिर्जना भएको छ ।’ प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालयबाट मराङको बेशी देखि आरवाङ भेडिखाल्टा हुदै रघुगंगा गाउँपालिकाको उमी धुरी हुदै ठाडाखानी जोड्ने चक्रपथ निर्माण सुरु गरेको छ ।


यसैगरी मराङको अर्गला देखि बेशी जोड्ने सडकको बिचमा रहेको पहाड फुटाएर सडक निर्माण भैरहेको छ । गाउँपालिकाले बिनियोजन गरेको तीस लाख रुपैयाँ अनुदानबाट उपभोक्ता समितिले मराङको बेशी देखि कुम्री सम्म तीन किलोमिटर भन्दा बढी सडक निर्माण भैसकेको छ ।


बेशी देखि आरबाङ पुगेको सडकलाई चक्रपथको अवधारणाका रुपमा अघि बढाइएको मराङका वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । उहाँले कुम्रि पुगेको सडकलाई विस्तार गरेर ठूलोगाउँ राम्चे बुल मलम्पार हुदै मल्कवाङ जोड्ने योजना अघि सारेको बताउनुभयो । मराङमा संघीय सरकारको सहयोगमा विद्युत प्राधिरण मार्फत केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार आयोजना पनि सुरु भएको छ ।


बुलमा गाउँपालिकाको बीस लाख रुपैयाँ अनुदानमा विद्युतीकरण योजना सञ्चालन भएको छ । ठूलो गाउँमा सामुदायिक भवन, बेशीमा नदी नियन्त्रण योजना सम्पन्न भइसकेको छ । गत भदौमा आएको बाढीले बगाएको ठूलो खोलाको झोलुङ्गे पुल निर्माणको आधा भन्दा बढी काम सकिएको छ । बेशीमा खेलमैदान पनि निर्माण भएको छ । मराङका योगेन्द्र गुरुङले विकास आयोजना भित्रीएसंगै गाउँमा रोजगारीको अवसर सिर्जना भएको बताउनुभयो ।


छन्त्याल समुदायको बाहूल्य बसोबास रहेको धवलागिरी गाउँपालिकाको मल्कवाङमा पनि भवन, पदमार्ग लगायतका योजना धमाधम कार्यान्वयन भैरहेको छ । विगतका वर्षमा विकास गतिबिधि शून्य जस्तै हुने मल्कवाङमा अहिले विभिन्न आयोजनाहरु भित्रीएकाले स्थानीयमा उत्साह छाएको स्थानीय लालबहादुर छन्त्यालले बताउनुभयो ।


ध्वलागिरी गाउँपालिकाको सहयोगमा मल्कवाङमा सामुदायिक भवन निर्माण सुरु भएको छ । मलम्पारमा एक वटा सामुदायिक र एक वटा खोप क्लिनिकको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । भेडिखाल्डामा गत वर्ष निर्माण भएको सामुदायिक भवनलाई पूर्णता दिने, रंग रोगन र दुई कोठे शौचालय भवन निर्माण भैरहेको छ । वडा अध्यक्ष खर्ककुमारी छन्त्यालले उपभोक्ता समिति मार्फत धेरै योजना कार्यान्वयनको अन्तिम चरणमा रहेको र आगामी आर्थिक वर्षका योजना छनौटको तयारीमा रहेको बताउनुभयो ।


मल्कवाङ स्वास्थ्य चौकी भवन निर्माण कार्य एक वर्षदेखि रोखिएको उहाँले बताउनुभयो । भवनलाई पूर्णता दिन सम्बद्ध कार्यालय र निर्माण व्यवयीलाई ताकेता गरिएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । स्थानीय क्लवका भवनमा सञ्चालित वडा कार्यालयका लागि भवनको व्यवस्था गर्ने तयारी गरेको उहाँको भनाई छ । बसाई सराई मल्कवाङ गाउँको विकासमा चुनौति देखिएको छ । मल्कवाङमा सडक पु¥याउन पहल गरिएपनि मागको सुनुवाइ नभएको वडा अध्यक्ष छन्त्यालले गुनासो गर्नुभयो ।


गाउँमा विकास आयोजना भित्रीएपनि स्थानीयबासीमा जनश्रमदान गर्ने चलन हराएकाले कार्यान्वयनमा गाहे परेको मल्कवाङ सामुदायिक भवन निर्माण समितिका अध्यक्ष दलमान छन्त्यालले बताउनुभयो । विगतमा कागजमै सिमिति हुने विकास निर्माणको काम जनप्रतिनिधि चयन भएपछि व्यवहारमा देखिन थालेको उहाँको अनुभव छ ।


मराङ र मल्कवाङमा धवलागिरी गाउँपालिकाले सञ्चालन गरेका योजना अनुगमनमा जानुभएका कार्यपालिकाका प्रवत्ता तथा अनुगमन समितिका सदस्य झकबहादुर छन्त्यालले जनप्रतिनि चयन र संघीयताको कार्यान्वयनबाट जनतामा जागरण र विकास गतिबिधिले तिब्रता पाएको बताउनुभयो । जनप्रतिनिधिहरुको समन्वय, अनुगमन र निगरानीका कारण विगतको असारे विकासको गलत अभ्यास कम हुदै गएको बताउनुभयो ।


मराङ, मल्कवाङ र ताकम गरि तीन वटा वडाको जिम्मेवारी सम्हालेका वडा सचिव बेदु सुवेदीले फागुनको पहिलो हप्ता सम्झौता भएका योजनाहरु बैशाखमै सकिन थालेका बताउनुभयो । जनशक्ति अभावका कारण एकै जना कर्मचारीले धेरै जिम्मेवारी निभाउनुपर्दा भार परेको उहाँले बताउनुभयो । धवलागिरी गाउँपालिकाका प्राबिधिक बालकृष्ण पौडेलले आयोजना स्थलमा नियमित अनुगमन गरि उपभोक्ताहरुलाई निगरानी र योजनालाई गुणस्तरीय बनाउन ध्यान दिएको बताउनुभयो ।