दोबामा प्रहरीको नागरिक सुनुवाई, ग्रामीण गस्ती बढाउन सुझाब (फोटो फिचर)

  • २५ बैशाख २०७६, बुधबार
  • कमल खत्री
  • 2775 पटक पढिएको

म्याग्दी, २५ वैशाख ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजना र अन्नपूर्ण गाउँपालिका–१ दोबा वडा कार्यालयको समन्वयमा बुधवार दोबामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नागरिक र प्रहरीको सम्बन्धलाई नजिक बनाउँदै नागरिकमैत्री प्रहरी सेवालाई प्रभाबकारी बनाउने उदेश्यले प्रहरीले नागरिक सुनुवाई कार्यक्रम गरेको हो ।

कार्यक्रममा दोबाका स्थानीयले ग्रामिण गस्ती बढाउनुपर्ने, विकृति र विसंगती नियन्त्रणमा सरोकारवालाहरुबिच समन्वय र सहकार्य बढाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले सरकारी कार्यालयहरुमा शुसासन कायम गर्न आफु प्रयासरत रहेको बताउनुभयो ।

उहाँले प्रशासन कार्यालयमा सेवाग्राहीलाई छिटो र छरितो सेवा प्रवाहको लागि आबश्यक कदमहरु चालिएको बताउँदै प्रहरी र नागरिक एक अर्काका सहयोगी बन्न सकेमा मात्रै समाजलाई शान्त र सुरक्षित बनाउन सकिनेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले कार्यालयबाट सम्पादन भएका सेवा प्रवाह र उपलब्धीहरुको बारेमा जानकारी गराउनुभएको थियो ।

वडा अध्यक्ष दिलीप कुमार गर्वुजाले वडाको समस्याहरुको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले नागरिकका गुनासा र सुझाब संकलन गरि सेवा प्रवाहलाई थप प्रभाबकारी र व्यवस्थित बनाउँदै नागरिकमैत्री प्रहरीको लागि कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष विष्णु गुरुङ, कैलाश माविका प्रअ शिर बहादुर गर्वुजा,वडा सदस्य कुलप्रसाद पुर्जा लगायतले समाजलाई शान्त, सुरक्षित र विकृतिरहित बनाउनको लागि प्रहरी र नागरिक बिच सहकार्य र सुमधुर सम्बन्ध कायम हुनुपर्नेमा जोड दिनुभयो । वडा अध्यक्ष गर्वुजाको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी निरिक्षक धु्रवप्रसाद शर्माले स्वागत र प्रहरी सहायक निरिक्षक दुर्गाप्रसाद अधिकारीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l