गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलनद्धारा पाँच बुँदे घोषणापत्र जारी

  • १५ बैशाख २०७६, आईतवार
  • 443 पटक पढिएको

 

पोखरा, १४ वैशाख । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिको आयोजनामा शुक्रबारदेखि पोखरामा सुरु भएको गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलन पाँच बुँदे पोखरा घोषणापत्र जारी गर्दै शनिबार सकिएको छ ।

मिडिया सम्मेलनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको प्रहारप्रति सरकारको ध्यानाकर्षण गर्दै यस्ता गतिविधि तत्काल बन्द गर्नुपर्ने, समाचार लेखेकै आधारमा पत्रकारमाथि भइरहेको धरपकड र गिरफ्तारीजस्ता घटनाको निन्दा गर्दै यस्ता गतिविधि तत्काल बन्द गरी संविधानप्रदत्त अधिकारको रक्षा गरिनुपर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्बाध उपभोग गर्दै नागरिक अधिकारको संरक्षण गर्न मिडियामैत्री कानून निर्माण गर्नुपर्ने मागसहितको घोषणापत्र जारी गरेको छ ।

त्यस्तै, मिडिया सबलीकरण एवं त्यहाँ कार्यरत श्रमजीवि पत्रकारहरूको संरक्षणका लागि समानुपातिक विज्ञापन नीति लागू गर्न सरकारसमक्ष माग गर्दै श्रमजीवि पत्रकार ऐन लागू गर्न सम्बद्ध सञ्चारमाध्यमहरूलाई आग्रह गर्ने र गण्डकी प्रदेशस्तरीय मिडिया सम्मेलन, यस प्रदेशको समृद्धिका लागि पत्रकारितामा समावेशिता, यसको माध्यमबाट समृद्धि, बालमैत्री पत्रकारिता र पर्यटन प्रवद्र्धनलगायतका विषयहरूलाई उच्च प्राथमिकता दिन प्रदेश सरकारको ध्यानाकर्षण गर्ने पोखरा घोषणापत्रमा उल्लेख गरिएको छ । घोषणापत्र महासंघको प्रदेश समितिका सल्लाहकार रवीन्द्र बाँस्तोला, सल्लाहकार नवराज सुवेदी, महासचिव गणेश पौडेल र स्याङ्जा जिल्ला अध्यक्ष ओमप्रकाश शर्माले तयार गर्नुभएको थियो ।

मिडिया सम्मेलनको दोस्रो तथा अन्तिम दिन पर्यटन र पत्रकारिता विषयमा छलफल भएको थियो । पत्रकार केशवशरण लामिछानेले सहजीकरण गरेको छलफलमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल र पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले सहभागिता जनाउनुभयो ।

छलफलमा सहभागिता जनाउँदै पर्यटनमन्त्री लम्सालले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि पत्रकारिता क्षेत्रको भूमिका सराहनीय रहेको बताउनुभयो । पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार र जनशक्ति अभाव रहेको भन्दै मन्त्री लम्सालले तालिम मात्रैले जनशक्ति तयार नहुने भएकाले पर्यटन विश्वविद्यालय नै स्थापना गर्नुपर्ने धारणा राख्नुभयो । प्रदेश सरकारले व्यवस्थित कार्ययोजना बनाएर अघि बढेको भन्दै पर्यटन क्षेत्रको विकासका लागि सरकारले अघि सारेका काममाथि विश्वास गर्न आग्रह गर्नुभयो ।


पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं पर्यटनकर्मी पालिखेले पर्यटन र पत्रकारिता एउटै सिक्का दुई पाटा भएको उल्लेख गर्नुभयो । राज्यले योजना घोषणा गर्ने र कार्यान्वयनमा उदासीनता देखाउने गरेको आरोप लगाउँदै पालिखेले पर्यटन क्षेत्रको वास्तविक विकासका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसारसँगै पूर्वाधार विकास पनि उत्तिकै आवश्यक भएको उहाँको भनाइ छ । छलफलमा सहभागी विभिन्न पर्यटन व्यवसायी एवं पत्रकारहरूले मन्त्री लम्साल र पूर्वअध्यक्ष पालिखेसँग विभिन्न जिज्ञासा राखेका थिए ।

छलफलको पहिलो सत्रमा पत्रकार वासुदेव मिश्रले गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीसँग छलफल गर्नुभयो ।

छलफलमा योजना आयोगका उपाध्यक्ष डा. शर्माले मिडियामा विकासका समाचारले प्राथमिकता पाउन नसकेको बताउनुभयो । त्यस्तै, महासंघका पूर्वअध्यक्ष मुल्मीले नागरिक स्वतन्त्रताको रक्षाका लागि पत्रकारिता जगतको महत्वपूर्ण भूमिका रहेको भनाइ राख्नुभयो ।

त्यसैगरी, छलफलको दोस्रो सत्रमा पत्रकार जमुना वर्षा शर्माले समावेशिता र पत्रकारिताबारे नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले र लेखक सावित्री गौतमसँग छलफल गर्नुभयो । महासंघका पूर्वअध्यक्ष गाउँलेले पत्रकारितामा पनि देशको वास्तविक तस्वीर झल्किनुपर्ने भनाइ राख्नुभयो । लेखक गौतमले शारीरिक उपस्थितिले मात्रै समावेशी नहुने भन्दै विषयवस्तुमा समावेशिता आवश्यक भएको धारणा राख्नुभयो ।

सो मिडिया सम्मेलनको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान ’अजित’ले प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो । प्रेससँग सरोकार राख्ने कानूनहरू निर्माण गर्दा पत्रकार महासंघसँग आवश्यक छलफल गरेर मात्रै अघि बढ्ने भन्दै कानून मन्त्री अजितले पत्रकारको पेशागत हित र सुरक्षाका लागि प्रदेश सरकारले आवश्यक नीति निर्माणमा जोड दिने बताउनुभयो ।

संघीयताको वास्तविक कार्यान्वयनमा प्रेस जगतले प्रदेश सरकारलाई सघाउन आग्रह गर्दै उहाँले सिर्जनात्मक आलोचनामार्फत सरकारलाई खबरदारी र सचेत गराउन समेत अपिल गर्नुभयो । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेसविरोधी कानून निर्माणमा सरकार लागेको हो कि भन्ने आशंका बढेको भन्दै प्रेससँग साइनो नै नभएको कानून लगाएर पत्रकारलाई हत्कडी लगाउनु लोकतन्त्र र संविधानविपरीत भएको बताउनुभयो ।

पत्रकारले पनि सोंच्नुपर्ने बेला आएको भन्दै उहाँले प्रेस स्वतन्त्रताका लागि पत्रकार सडकमै ओर्लनुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएको उल्लेख गर्नुभयो । रुद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कारका संरक्षक पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईले पर्यटन र समृद्धिका लागि पत्रकारको भूमिका महत्त्वपूर्ण हुने भनाइ राख्नुभयो ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको सभाहलमा भएको मिडिया सम्मेलनको पहिलो दिन समृद्धि र पत्रकारिता तथा समावेशिता र पत्रकारिताबारे छलफल भयो । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेलले पत्रकारिताप्रति आम नागरिक र राज्यको अपेक्षा एवं आम नागरिक र राज्यबाट पत्रकारिता क्षेत्रको अपेक्षाबारे छलफल गर्न मिडिया सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

मिडिया सम्मेलनमा पत्रकार र सहभागीहरुबीच अन्तरक्रिया समेत गरिएको थियो । बालमैत्री पत्रकारिताकाको विषयमा समेत छलफल भएको थियो । नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव गणेश पौडेलले गर्नुभएको थियो ।

मिडिया सम्मेलन सफल बनाउन गण्डकी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, नेपाल भ्रमण वर्ष २०२० ले सहयोग गरेका हुन् ।