बागलुङकाे बिहुँमा जन्ती बस दुर्घटना : एकको मृत्यु, पाँच घाइते

  • ८ बैशाख २०७६, आईतवार
  • 2756 पटक पढिएको

 

 बागलुङ  ८  बैशाख । बागलुङको काठेखोला गाउँपालिका-५ बिहुँमा जन्ती बस दुर्घटना हुँदा एकजनाको मृत्यु  भएको छ। आइतबार साँझ जन्ती बोकेको बस दुर्घटना अन्य पाँच घाइते भएका छन्।   ताराखोला गाउँपालिका-१ माझखर्कबाट जन्ती लिएर काठेखोला  गाउँपालिका-८ लेखानी आउँदै गरेको ध १ ख ४६८ नम्बरको बस बिहुँको भ्युटावर नजिकै रगेनीमा दुर्घटना भएको हो।  दुर्घटनामा गम्भीर घाइते भएका काठेखोला गाउँपालिका ८ लेखानीका ६४ वर्षीय गंगा विकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए। घाइतेमध्ये सोही स्थानका १७ वर्षीया संगीता बिकको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि पोखरा पठाउने तयारी गरिएको छ।

दुर्घटनामा घाइते भएका लेखानीका १२ वर्षीया सफलता बिक, ६३ वर्षीय चन्द्र सुनार, १५ वर्षीया ज्योति सुनार र १४ वर्षीया आरती सुनारको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य छ। बस सडक भन्दा १० मिटर तल खसेको छ। बसका चालक पर्वत महाशिला गाउँपालिकाका ३५ वर्षीय खिमबहादुर पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।