समायोजनले रित्तिय म्याग्दीका गाउँपालिकामा कर्मचारी

  • ३० चैत्र २०७५, शनिबार
  • 2843 पटक पढिएको

कमल खत्री
बेनी, ३० चैत । म्याग्दीको धवलागिरी गाउँपालिकामा स्थानीय तहका १७ जना कर्मचारीको दरबन्दी छ । तर कर्मचारी समायोजनले गाउँपालिका कर्मचारी विहिनको अबस्थामा पुगेको छ । अधिकाँश शाखामा दरबन्दीका कर्मचारीको अभाब छ । प्रशासन, पूर्वाधार, सामाजिक तथा आर्थिक विकास, शिक्षा तथा खेलकुद शाखामा कर्मचारी छैनन् । गाउँपालिकामा अहिले लेखा अधिकृत, इन्जिनियर, शिक्षा अधिकृत, ६ जना नायब शुब्बा, २ जना ओभरसियरको दरबन्दी रिक्त छ । गाउँपालिकाले १ जना इन्जिनियर, १ ओभरसियर र २ जना सब ओभरसियर करारमा नियुक्त गरि प्राविधिक शाखाको काम गरिरहेको छ ।

कर्मचारी समायोजन संगै गाउँपालिकामा रहेका कर्मचारीहरु समेत अन्यत्र पदस्थापना भएको कारण अहिले नियमित सेवा प्रवाह गर्ने कर्मचारीको समेत अभाब हुन थालेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । उहाँका अनुसार ७ वटा वडा रहेको गाउँपालिकामा जम्मा २ जना वडा सचिब कार्यरत छन् । गाउँपालिका र वडा कार्यालयमा समेत कर्मचारीको अभाब भएपछि गाउँपालिका कर्मचारी विहिन तवरले सञ्चालन हुनुपरेको छ । ‘‘गाउँपालिकामा कर्मचारी नहुँदा सेवा प्रवाह र विकास निर्माण कार्य समेत प्रभावित हुन थालेको छ, सिमिति कर्मचारीले सेवा प्रवाह गर्नुपर्ने बाध्यता आएको छ, कर्मचारी अभाबको समस्याबारे संघिय मामिला तथा स्थानीय विकास मन्त्रीलाई समेत अवगत गराईएको छ, तर आश्वासन आयो, कर्मचारी आएका छैनन’’–अध्यक्ष पुनले भन्नुभयो ।

एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा नगरपालिका बाहेक अन्य सबै स्थानीय तहमा कर्मचारीहरुको अभाब व्याप्त देखिएको छ छ । रघुगंगा गाउँपालिकामा समेत कर्मचारीको अभाब हुन थालेको छ । गाउँपालिका र वडातहमा रहेका कर्मचारीहरु समायोजनले अन्यत्र जाने र नयाँ आउनेको निश्चित नभएकाले समस्या उत्पन्न भएको छ । ८ वटा वडा रहेको रघुगंगमा कर्मचारी समायोजन पछि जम्मा २ जना वडा सचिब रहने भएका छन् । लेखापाल र सह–लेखापालको सरुवा भएपछि कोलेनिकाले कामकाजको लागि तत्काललाई एक जना लेखापाल खटाएको छ ।  गाउँपालिकामै १ जना नायब सुब्बा, ३ जना खरदारको दरबन्दी रिक्त रहेको कार्यालयका सूचना अधिकारी दयाराम पौडेलले जानकारी दिनुभयो । अहिले कर्मचारी समायोजन पछि ग्रामीण भेगमा रहेका स्थानीय तह अधिकाँश कर्मचारी विहिन जस्त बन्न पुगेका छन् ।

आर्थिक बर्षको समय सकिनै लाग्दा विकास निर्माण र सेवा प्रवाहको चाप बढ्दो क्रममा रहँदा कर्मचारी अभाबले समस्या सिर्जना भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले बताउनुभयो । ८ वटा वडा रहेको जिल्लाको अन्नपूर्ण गाउँपालिकामा समेत २ जना बाहेक ६ जना वडा सचिबहरु समायोजन पश्चात गाउँपालिकाबाट विदा हुने क्रममा छन् । लेखापाल, सह–लेखापाल, कार्यरत सब इन्जिनियर सबैको सरुवा भैसकेको छ ।  गाउँपालिकामा कार्यरत प्रशासन शाखा प्रमुख कुलप्रसाद आचार्य र सामाजिक विकास शाखाका हरिकृष्ण आचार्य बाहेक अन्य अधिकाँश कर्मचारीको अन्यत्र समायोजन भएको छ । गाउँपालिकामा इन्जिनियर, सब इन्जिनियर, असिस्टेन्ट सब–इन्जीनियर गरि ९ जना प्राविधिक तर्फको दरबन्दीमा २ जना मात्रै कर्मचारी छन भने ३ जना नायब शुब्बाको दरबन्दी रिक्त भएको कार्यालयका सुचना अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकामा हाल कार्यरत कर्मचारीहरु मध्ये जम्मा २ जनाले मात्रै समायोजनमा सोही गाउँपालिका रोजेका छन् । अधिकाँश कर्मचारीको संघमा समायोजन भएको छ । २ जना वडा सचिब अन्य स्थानीय तहमा समायोजन भएर गैसकेका छन् । संघ रोजेका कर्मचारीलाई तत्काल रमना नदिन परिपत्र आएकाले तत्काललाई कामकाज चलेपनि समायोजनको पूर्ण कार्यान्वयन भएपछि भने गाउँपालिका नै कर्मचारी विहिनको अबस्थामा आउन सक्ने समस्या बढेको प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम उपाध्यायले बताउनुभयो ।
५ वटा वडा मिलेर बनेको मंगला गाउँपालिकामा सबै शाखामा गरि २८ जना कर्मचारी अभाब छ । यस अघि पनि दरबन्दि अनुसारको कर्मचारीको अभाब खेपेको गाउँपालिकामा समायोजन पश्चात भएका कर्मचारी समेत अन्यत्र समायोजन भएर गएपछि नियमित कामकाज समेत प्रभावित बनेको छ ।

५ वडाहरुमा १ जना मात्रै सचिब कार्यरत रहेका छन भने गाउँपालिकाको लेखा, अन्य बिषयगत शाखा र प्राविधिक तर्फको कर्मचारीको अभाबबारे मन्त्रालयमा जानकारी गराएर आबश्यक कर्मचारी माग गरिएको प्रमुख प्रशासकिय अधिकृत कृष्ण गौतमले जानकारी दिनुभयो ।
प्रदेशमा लोकसेवा आयोग गठन नभएकाले तत्काल कर्मचारीको पदपूर्ति हुने सम्भावना न्युन छ । स्थानीय तहहरुमा कर्मचारी समायोजन पश्चात संघिय मामिला मन्त्रालयले विवरण माग गरेपनि संघिय लोकसेवा मार्फत कर्मचारी भर्ना गर्न केही समय कुर्नैपर्ने बाध्यता सिर्जना भएको छ । कर्मचारीको चरम अभाबले स्थानीय तहका कामकाज प्रभावित हुने खतरा बढेको छ । विकास निर्माण र आर्थिक बर्षको चटारो परेको समयमा कर्मचारी समायोजनले स्थानीय तह रित्तिएपछि जनप्रतिनिधिहरु समेत समस्यामा परेका छन् ।