बेनीमा माघेसंक्रान्ति मेला सुरु, उद्यमशिलताले आयात प्रतिस्धापन सम्भव छ : मन्त्री पुन ( फाेटाे फिचर)

  • ३० पुष २०७५, सोमबार
  • कमल खत्री
  • 1910 पटक पढिएको

म्याग्दी, ३० पुस । गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले महिलाहरु आर्थिक सामाजिक रुपमा अगाडी बढ्न शिक्षित, क्षमता र नेतृत्व विकास संगै आर्थिक रुपमा आत्मनिर्भर बन्न आबश्यक रहेको बताउनुभएको छ । सोमबारदेखि बेनीको कालिपुलमा महिला उद्यम विकास समितिको आयोजनामा सुरु भएको परम्परागत माघेसंक्रान्ति मेलाको उद्घाटन गर्दै मन्त्री पुनले आर्थिक रुपमा बलियो बन्नको लागि आत्मनिर्भरको बाटोमा हिँड्नुपर्ने धारणा राख्नुभयो ।

शिक्षा, आर्थिक शसक्तिकरण, राजनितिक र सामाजिक जागरणले मात्रै महिलालाई घर र चुलोचौकोबाट सामाजिक यात्रामा हिँडाउने मन्त्री पुनले बताउनुभयो । उहाँले आबश्यकतामा आधारित तालिमले मात्रै उद्यमशिलताको विकास गर्ने बताउँदै व्यवसायमुलक तालिम नहुँदा उपलब्धी न्युन हुने गरेको बताउनुभयो । ‘‘ अहिलेसम्मका तालिम भित्तामा प्रमाणपत्र झुण्ड्याउने मात्रै भए, धेरैको घरमा ४/५ वटा तालिमका प्रमाणपत्र भित्तामा टाँसेको देखिन्छ, तर तालिम लिए अनुसारको व्यवसायिक र उद्यमशिल क्षेत्रमा लागेको भेट्याउन मुस्किल पर्छ, त्यसले तालिम आबश्यकतामा आधारित रहेर दिनुपर्छ’’–मन्त्री पुनले भन्नुभयो ।

उहाँले गण्डकी प्रदेश सरकारले व्यवसायिक योजना सहित आउने जो कसैलाई व्यवसायमुलक तालिम दिने योजना बनाएको बताउँदै तालिमपछि उद्यमी र व्यवसायी बनाउन स्थानीय, प्रदेश र संघिय सरकारले सघाउनुपर्ने बताईन् । उनले गण्डकी प्रदेशले दिने उद्यमशिल तालिमबाट उद्यमी बन्न चाहनेहरुलाई आबश्यक लगानी र सहुलियत ऋणको लागि संघिय सरकार समक्ष पहल गरिरहेको समेत बताउनुभयो ।

मुलुकमा साना साना कुराहरु पनि आयात गर्नुपर्ने बाध्यतालाई हटाउनको लागि आयात प्रतिस्पथापन मुलक उद्यमशिलतामा जोड दिनुपर्ने बताउँदै कृषि, पर्यटन, पशुपालनको क्षेत्रमा समेत स्वदेशमै आत्मनिर्भर बन्न सकिने सम्भावना रहेको औँल्याउनुभयो । तीनै तहका सरकारले सह लगानीमा अगाडी बढेमा मात्रै उत्पादन बृद्धि र आयात प्रतिस्थापन सम्भव रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा नेकपाका नेता राजकुमार थापा, नेपाली काँग्रेसका सचिब क्याप्टेन मिनबहादुर कार्की, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी, पूर्व सभासद रेशम बहादुर बानियाँ, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र प्रजिअ लिलाधर अधिकारीले महिला उद्यमीहरुको अगुवाईमा परम्परागत मेलाको निरन्तरता पाउनु सकरात्मक पक्ष रहेको बताउँदै महिलाहरु आर्थिक सामाजिक रुपमा बलियो बन्न उद्यमशिलता तर्फ अघि बढ्न आबश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा मालिका गाउँपालिकाका उपाध्यक्ष खरमायाँ बिटालु, बागलुङ महिला उद्यम विकास समितिका सभापती भगवती केसी, लायन्स क्लब अफ बेनी महारानीका अध्यक्ष हिरा पौडेल, म्याग्दी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष जिवन कुमार विश्वकर्मा, जातजातिको तर्फबाट क्षेत्री समाजका विर बहादुर थापा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष ठाकुर प्रसाद आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा कँरातेमा अन्र्तराष्ट्रिय पदक विजेता रघुगंगा गाउँपालिका–२ का निर्मल कटुवाल, मालिका गाउँपालिका–२ रुमकी लल्लो उद्यमी मनकुमारी पुन, मंगला गाउँपालिका– २ की टेलरिङ उद्यमी हिरा शेरपुञ्जा जुग्जालीलाई सम्मान समेत गरिएको थियो । महिला उद्यम विकास समितिका सभापती सुनिता केसीको अध्यक्षता र स्वागत तथा लक्ष्मी कार्कीको सञ्चालनमा सम्पन्न उद्घाटन कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले धन्यबाद मन्तव्य राख्नुभएको थियो ।

‘‘उद्योग, व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौँ’’ भन्ने मुल नाराका साथ आयोजना गरिएको मेलाको पहिलो दिन बेनीमा रहेका विभिन्न जाजातीको पहिचान झल्कने झाँकी सहितको ¥याली निकालिएको थियो । मेलामा म्याग्दी डान्स आईडलको रुपमा एकल नृत्य प्रतियोगिता, उद्यमशिलता तथा म्याग्दी भ्रमण बर्ष–२०७५ बिषयक खुल्ला लोकगित प्रतियोगितासंगै महिला / पुरुष अन्धनिशान, छेलो र लठो तान्ने प्रतियोगिता हुने महिला उद्यम विकास समितिका सभापती सुनिता केसीले जानकारी दिनुभयाे ।

नृत्य र लोकगित प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश ः नगद रु १० हजार, ७ हजार र ३ हजार नगदद्धारा पुरस्कृत गरिनेछ । त्यसैगरि अन्धनिशानमा बिजेता हुनेलाई १ हजार ,छेलोमा २ हजार र लठो तान्नेमा ६ हजार नगद सहित पुरस्कृत गरिनेछ ।

म्याग्दीका सबै स्थानीय तहको सह–आयोजना तथा म्याग्दी उद्योग बाणिज्य संघको संरक्षकत्वमा आयोजना गरिएको मेलामा स्थानीय उत्पादनका स्टल पदर्शनी, स्थानीय विभिन्न समुदायको मौलिक र परम्परागत लोकसंस्कृतिको प्रस्तुती संगै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साँगेतिक प्रस्तुती सुरु भएको छ । परम्परागत रुपमा माघे संक्रान्ति पर्वको अवसरमा आयोजना हुँदै आएको मेलाको संरक्षण र निरन्तरताको लागि बेनीमा तीन बर्षमा एक पटक म्याग्दी उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव र दुई पटक महिला उद्यम विकास समितिको आयोजनामा मेला एवम सडकखाना महोत्सव आयोजना हुँदै आएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l