बेनी खानेपानीको साधारण सभाः खानेपानी वितरणलाई प्रविधिमैत्री बनाउने तयारी

  • २७ पुष २०७५, शुक्रबार
  • 2012 पटक पढिएको

म्याग्दी, २७ पुस । म्याग्दी सदरमुकाम बेनीमा खानेपानी वितरणको काम गर्दै आएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १९ औँ बार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । साधारण सभामा आयोजनाको दिगोपना र प्रविधिमैत्री बनाउनको लागि सुरु गर्न लागिएको स्मार्ट वाटर टेक्नोलोजि कार्यक्रमको बारेमा जानकारी गराईएको थियो ।

बेनीमा करिब १९ हजार उपभोक्तालाई यस संस्थाले शुद्ध खानेपानी वितरण गर्दै आएको छ । साधारण सभाको उद्घाटन गर्दै संस्थाका पूर्व अध्यक्ष हरिकृष्ण श्रेष्ठले बेनी बजारबासीमा खानेपानी वितरण गर्दै आएको यस संस्थाले सेवालाई गुणस्तरीय र आयोजनाको सुरक्षाको लागि प्रविधिमैत्री कार्यक्रमले थप टेवा पुग्ने बताउनुभयो ।

समितिले उपभोक्तालाई शुद्ध खानेपानी वितरण गर्नको लागि पानी प्रशोधन संगै आयोजनाको सुरक्षामा समेत ध्यान दिनुपर्ने बताउँदै मुहान देखि मुखसम्म शुद्ध र स्वच्छ खानेपानी पु¥याउन नयाँ थप हुने प्रविधिले सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवालले बेनी बजारबासीमा खानेपानीको सहज वितरण गर्दै आएको यस संस्थालाई निरन्तर रुपमा शुद्ध खानेपानी वितरणमा क्रियाशिल गराउन सबै सबै उपभोक्ता र सरोकारवालाबाट रचनात्मक सहयोग आबश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, उपभोक्ता भिमप्रसाद आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष सुवास कुमार श्रेष्ठले बेनी बजारमा प्रविधिमैत्री खानेपानी वितरणको लागि सुरु गर्न लागिएको स्मार्ट खानेपानी कार्यक्रमको कोरीयाली संस्थाले प्रारम्भीक अध्ययन गरि थप काम सुरु गर्न लागेको जानकारी दिनुभयो । उहाँले आयोजनाको सम्पूर्ण कार्य सम्पन्न गर्नको लागि ३ अर्ब लागत अनुमान गरिएको भएपनि तत्कालका आबश्यकताहरुलाई ध्यानमा राखेर आयोजनालाई प्रविधिमैत्री बनाउँदै लैजाने बताउनुभयो ।


संस्थाका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिब रमेश गिरिले प्रगति, कोषाध्यक्ष टंक हमालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष माधवप्रसाद रेग्मीको स्वागत र सचिब गिरिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका प्रवन्धक चन्द्रबहादुर थापालाई उत्कृष्ट कर्मचारीको रुपमा नगद रु १० हजार सहित दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।