घारखोलाको काम सूचारु

  • ८ आश्विन २०७५, सोमबार
  • सन्ताेष गाैतम
  • 2968 पटक पढिएको

बेनी ८ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधिन १४ मेगावाट क्षमत्ताको घारखोला जलविद्युत आयोजनाको निर्माण कार्य एक हप्तापछि सोमबार दिउँसोदेखि सूचारु भएको छ ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा आयोजना प्रभावित अन्नपूर्ण गाउँपालिकाको वडा न. ५ शिख र वडा न. ६ घारका जनप्रतिनिधि, संघर्ष समितिका पदाधीकारी र प्रर्वद्धक कम्पनी म्याग्दी हाईड्रोपावरका सञ्चालकहरुबीच भएको बैठकमा सहमती जुटेपछि आयोजनाको काम सूचारु भएको हो ।

आयोजनाको कुल लागतको ०.७५ प्रतिशत सामाजिक सहयोग कार्यक्रमका लागि गाउँपालिकालाई उपलब्ध गराउने बजेट प्रभावित दुई वटै वडाको सहमतीमा परिचालन गर्ने सम्झौतापछि शिखका बासिन्दाले आन्दोलन फिर्ता लिएकाले काम सूचारु भएको आयोजनाका प्रमुख बिनोद देवकोटाले जानकारी दिनुभयो ।

शिखका बासिन्दाहरुले यसअघि भएका प्रतिवद्धता कार्यान्वय गर्नुपर्ने, सामाजिक सहयोग कार्यक्रमको बजेट सार्वजनीक गर्नुपर्ने लगायत ७ बुढे माग राख्दै भदौ ३१ गतेदेखि आयोजनाको बाँध र सुरुङ निर्माण कार्यमा अवरोध गरेका थिए । वि.स २०७४ चैत महिनादेखि पूर्वाधार निर्माण सुरु गरेको आयोजनाले अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नम्बर वडाको सिमा क्षेत्रमा पर्ने कुरीलाबगरदेखि २५० मिटर लामो सुरुङ खनेको छ ।

घारको बिरौटा देखि बाँध स्थलसम्म पुहँचमार्ग निर्माण गरिसकेको आयोजनाले सुरक्षाकर्मी, कर्मचारी र मजदुर आवास स्थलका लागि पूर्वाधार तयार गरेको छ । तिन किलोमिटर सुरुङ रहने आयोजनाको विद्युतगृह अन्नपूर्ण गाउँपालिका ६ स्थित पोखरेबगर र रातोपानीको बिचमा प्रस्ताव गरिएको छ ।
दुई अरब ४१ करोड ५८ लाख २५ हजार रुपैया कुल लागत अनुमान गरिएको आयोजनाले सामाजिक सहयोग कार्यक्रमका लागि एक करोड ८० लाख रुपैया सहयोग गर्ने लिखित सहमती भएको छ । गाउँपालिकाको सम्बृद्धीको प्रमुख आधार मानिएको जलविद्युत आयोजना निर्माणमा अनुकुल वातावरण तयार गरिएको र कुनै समस्या आएमा छलफलबाट समाधान गरिने अध्यक्ष पुनले बताउनुभयो ।

सन्ताेष गाैतम