ऋखार क्षेत्रमा भक्तजनको स्वागतार्थ जनश्रमदानमा गेट तयार

  • २९ श्रावण २०७५, मंगलवार
  • गोपाल छन्त्याल
  • 2338 पटक पढिएको

म्याग्दी, २९ साउन । सप्तऋषिले तपस्या गरेको पूण्यभूमि ऋखारमा पुजापाठ र दर्शनका लागि आउने भक्तजनका लागि स्वागत गेट बनाईएको छ । रघुगंगा गाउँपालिका– ८ दुवाडीमा ऋखार संरक्षण तथा सुधार समिति र देउराली आमा समूहको ७ लाख रुपैयाँ नगद र जनश्रमदानमा स्वागत गेट बनाईएको हो ।
उक्त गेट भाद्र ५ गते उद्घाटन गरिने ऋखार संरक्षण तथा सुधार समितिका अध्यक्ष चित्र छन्त्यालले जानकारी दिए । ‘स्वागत गेटमा एक रुपैयाँ सरकारी लगानी छैन । हामीले चन्दा उठाएर बनाएका हौँ’, उनले भने । रघुगंगा–८ मा पर्ने ऋखार जिल्ला सदरमुकाम बेनीदेखि गलेश्वर, मौवाफाँट, दग्नाम, चिमखोला, घ्यासीखर्क, दुवाडी, पात्लेखर्क हुदै तीनदिनको यात्रापछि पुग्न सकिन्छ । धवलागिरि आधारशिविर नजिक पर्ने ऋखारमा जनैपूर्णिमाका दिन विशेष मेला लाग्छ ।


मेलाको भव्य तयारी थालिएको छ । ‘देउराली आमा समूहले विभिन्न किसिमका कार्यक्रम गरि जम्मा गरेको ७ लाख रुपैयाँ लगानी भएको छ’, उनले भने, ‘गाउँका बुद्धिजिवी र भक्तजनहरुको सहयोगले यस्तो कामहरु संभव भइरहेका छन् ।’ स्वागत गेट बनाउन दुवाडीका ४० भन्दा बढी घरधुरीले १० दिन श्रमदान गरेका थिए । ऋखारमा सप्तऋर्षि कश्यप, भरद्धाज, गौतम, जमदग्नी, बरिष्ठ, विश्वामित्र र अत्रीले तपस्या गरेको प्रलय भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
प्रलयको स्थानमा ताल बनेको उक्त तालमा सप्तऋर्षिहरु शयर गर्ने डुंगा रहेको रहेको अध्यक्ष छन्त्यालले जानकारी दिए । पवित्रभूमि भएका कारण ऋखार क्षेत्रमा थुप्रै सहयोगी मनहरुले सहयोग गर्ने क्रम बढेको पण्डित भीमनाथ पराजुलीले बताए । ‘सप्तऋर्षिहरुले तपस्या गरेका ठाउँ भएकोले भौगोलिक हिसाबमा टाढा भएपनि देशका कुनाकन्दराबाट भक्तजनहरु त्यहाँ पुग्ने गरेका छन्’, उनले भने, ‘गलेश्वर र ऋखार क्षेत्रलाई जोडेर पर्यटन प्रर्बद्धन गर्न सकिन्छ ।’

गोपाल छन्त्याल

म्याग्दी अनलाईन डट् कमका निर्वर्तमान सम्पादक हुन् l