नगरपालिका, मोना र उद्योग बाणिज्य संघको लगानीमा बेनी–लभ्लीहिल पदमार्ग निर्माण गरिने

  • ३१ जेष्ठ २०७५, बिहीबार
  • सन्तोष गौतम
  • 3383 पटक पढिएको

म्याग्दी ३१ जेठ । सदरमुकाम बेनी देखि बेनीनगरपालीका २ स्थित पर्यटकीय स्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माणमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) र म्याग्दीउद्योग वाणिज्य संघले सघाउने भएका छन् । म्याग्दी भ्रमण वर्ष २०७५ को अवसरमा सरकारी निकाय, निजी क्षेत्र र प्रवासीको साझेदारीमा पर्यटन पूर्वाधार योजना अन्तरगत पदमार्ग निर्माण गर्न निर्णय भएको हो । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार बेनीमा नगरपालीकाका जनप्रतिनिधि, संघ र म्याग्दी प्रवासी नेपाली संघ (मोना)का पदाधीकारीहरुबीच पदमार्ग निर्माण सम्बन्धी छलफल भएको थियो ।


बैठकले त्रिपक्षिय साझेदारीमा पदमार्ग निर्माण गर्न म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यको संयोजकत्वमा ब्यवस्थापन समिति गठन भएको छ । बैठकमा नगर प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, २ नम्बर वडाका अध्यक्ष हिराबहादुर थापा, ७ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, ८ का रामकृष्ण बराईली, संघका पदाधीकारी, मोनाका अध्यक्ष चक्रबहादुर थापा र शान्तिमिलन सामुदायीक वनउपभोक्ता समूहका पदाधीकारीको उपस्थिती रहेको थियो ।

५१८ मिटर उकालोमा १.८ मिटर चाक्लो, पक्कि सिढी र दायाँबायाँ रेलीङ सहितको पदमार्ग निर्माण गर्न ५७ लाख ०८ हजार २६० रुपैया लागत अनुमान गरिएको छ । पदमार्ग निर्माणमा नगरपालीकाले पचास प्रतिशत, मोनाको चालीस र उद्योग वाणिज्य संघको दश प्रतिशत लगानी गर्ने निर्णय भएको छ । आगामी जुलाई महिनामा शिलन्यास गरिने योजना २०७५ भित्रनै निर्माण सम्पन्न गरिने संघका अध्यक्ष कर्माचार्यले बताउनुभयो ।

बेनीको दक्षिणी मोहोडाको शिरमा रहेको तिस मिनेटमा पुगीने लभ्लीहिलमा गत वर्ष बेनी नगरपालीका र पर्यटन कार्यालयको सहयोगमा रेलीङ र गोलघर (प्रतिक्षालय) निर्माण भएको थियो । आरामदायी बेन्च र गोलघरबाटै म्याग्दी नदी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीबजार, पर्वत बेनीसँगै म्याग्दी र पर्वतका विभिन्न ग्रामीण गाउँ बस्तीलाई एकैठाउँबाट अवलोकन गर्न सकिन्छ । गलेश्वरदेखि कालीगण्डकीको मनमोहक दृष्य, धौलागिरि लगायतका मनोरम हिमालको चुचुरो, चौफेरै देखिने हरियाली र आकर्षक भू–बनोट अवलोकनका लागि लभ्लिहिल पुग्नेहरुको संख्या बढ्दै गएको छ ।

सन्तोष गौतम