मलेसियामा ६० वर्षे बीएन गठबन्धनको विरासत अन्त्य, विपक्षी दलका माथिर मोहम्मद विजयी

  • २७ बैशाख २०७५, बिहीबार
  • 3405 पटक पढिएको

वैशाख २७, २०७५ । मलेसियामा ६० वर्षे बीएन गठबन्धनको बिरासतको अन्त्य गर्दै विपक्षी दलका पूर्व प्रधानमन्त्री माथिर मोहम्मद विजयी हुनुभएको छ । सरकार गठनका लागि आवश्यक १ सय १२ सिटको थ्रेसहोल्ड कटाएर ९२ वर्षिय माथिरले १ सय १५ सिट सुनिश्चित गर्नुभएको बीबीसीले उल्लेख गरेको छ। रजाक नेतृत्वको बारिसियन नेशनल बीएन गठबन्धन ७९ मतमा सिमित भएको छ ।

२ सय २२ जनप्रतिनिधि चयन गर्न भएको निर्वाचनमा प्रधानमन्त्री नाजिव रजाक र माथिरबीच कडा प्रतिस्पर्धा भएको थियो । १४ औँ आमनिर्वाचनमा १ करोड भन्दा बढी मतदाताले मतदान गरेका थिए । बीएन गठबन्धनको लामो समयको विरासत अन्त्य गर्दै विजयी माथिरले आफूले कुनै बदलाको भावना नराखी विधिको शासनलाई अघि बढाउन सबैसँग सहकार्य गर्ने प्रतिक्रिया दिनुभएको छ ।

यसअघि सन् २०१३ मा भएको निर्वाचनमा प्रधानमन्त्री रजाकको पार्टी नेतृत्वको गठबन्धनले अप्रत्यासित जित हासिल गरेको थियो । शपथग्रहण समारोह आउँदो बिहीबार हुने जनाइएको छ । शपथ ग्रहण गरेपछि ९२ वर्षीय माथिर सम्भवत विश्वकै सबैभन्दा वृद्ध निर्वाचित नेता बन्नेछन् । शपथ ग्रहण समारोहको दिन मलेसियामा सार्वजनिक विदा दिइएको छ ।

-कान्तिपुर