पत्रकारीता पुरस्कारको घोषणा

  • २ फाल्गुन २०७४, बुधबार
  • सन्तोष गौतम
  • 1903 पटक पढिएको

बेनी, २ फागुन । मंगला गाउँपालीका २ सिमलचौरमा रहेको केडी कटेजले आफ्नो वार्षिक उत्सवको अवसरमा पत्रकारीता पुरस्कार प्रदान गर्ने भएको छ ।

दोस्रो वार्षिक उत्सवको अवसरमा आगामी ५ गते ११ हजार १११ रुपैया पुरस्कार राशीको पत्रकारीता पुरस्कार प्रदान गर्ने बुधबार बेनीमा आयोजित पत्रकार भेटघाटमा सञ्चालक अकोश पौडेलले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखाले छनौट गरि सिफारीस गर्ने कृषि र पर्यटनको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई वार्षिक रुपमा पुरस्कृत गरीने पौडेलले बताउनुभयो । ग्रामिण क्षेत्रमा सञ्चालीत रेष्टुरेन्टको सामाजिक उत्तरदायीत्व र कृषि, पर्यटन क्षेत्रको समाचार लेख्ने पत्रकारलाई प्रोत्साहनका लागि पुरस्कार प्रदान गर्न लागिएको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई आफूले प्रकाशन, प्रशारण गरेको उत्कृष्ट तिन वटा कृषि, पर्यटन सम्बन्धि समाचार पेश गर्न आग्रह गर्दै सोही समाचारको आधारमा मूल्याङ्कन गरी एक जनालाई छनौट गरिने बताउनुभयो ।

प्राकृतिक तातोपानी कुण्ड, टोड्के, गुरील्ला, धौलागिरी चक्रिय पदमार्ग र ढोरपाटन भ्रमणमा जाने आन्तरीक तथा बाह्य पर्यटकलाई लक्षित गरेर ५० लाख रुपैयाको लागतमा गत वर्षदेखि कटेज सञ्चालन गरिएको व्यवस्थापक जिवन पौडेलले बताउनुभयो ।

उक्त कटेजमा म्याग्दी खोलाको असला र कटेज परिसरमा पालीएका माछा, गौरीया, गुडुरा धानको चामलको भात, प्राङ्गारीक प्रबिधिबाट उत्पादन गरिएको तरकारी, लोकल कुखुरा, खसीको परिकारको बिक्रीका साथै होमस्टे सुबिधा रहेको छ ।

हाल दश जना क्षमत्ताको होमस्टे सञ्चालनमा रहेको कटेजले छिट्टै थप एक करोड पचास लाखको लागतमा स्वीमीङ पुल, सभाहल र सुबिधायुक्त कोठा सहितको रिसोर्ट सञ्चालनको तयारी गरेको सञ्चालक पौडेलले बताउनुभयो ।

स्थानीय कृषि उपजको खपत, बजारीकरण, रोजगारी सिर्जना र ग्रामिण पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले कटेज सञ्चालन गरिएको हो । केडी ग्रुप अन्तरगत केडी ईन्टरटेन्टमेन्ट र केडी फाउण्डेशन समेत रहेका छन् ।

सन्तोष गौतम