म्याग्दी बहुमुखी क्याम्पसमा दृष्टिविहिन विद्याथीको लागि पुस्तकालय स्थापना गरिने

  • २३ माघ २०७४, मंगलवार
  • कमल खत्री
  • 2688 पटक पढिएको

म्याग्दी, २३ माघ । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययरत दृष्टिविहिन विद्यार्थीलाई लक्षित गरि पुस्तकालय स्थापना गरिने भएको छ । क्याम्पसमा रहेको पुस्तकालयमा दृष्टिविहिन विद्यार्थीहरुको लागि आवश्यक पर्ने शैक्षिक सामाग्रीहरु उपलब्ध नभएकाले उनीहरुको लागि छुट्टै पुस्तकालय स्थापना गर्न लागिएको हो ।

क्याम्पसमा अहिले विएड दोस्रो बर्षमा दृष्टिविहिन गोपाल खत्री र विएड प्रथम बर्षमा दृष्टिविहिन धनमायाँ विक अध्ययनरत छन् । अपांगता भएका विद्यार्थीहरुको लागि पनि अध्ययनमा सहज होस भन्ने उदेश्यले सो पुस्तकालय स्थापना गर्न लागिएको स्ववियू सभापती सावित्रि खत्रीले बताउनुभयो ।

क्याम्पससंगको समन्वयमा आर्थिक सहयोग गर्ने दाताहरुको खोजी गर्न थालिएको र निकट भविश्यमै क्याम्पसमा दृष्टिविहिनहरुको लागि पुस्तकालय स्थापना गरिने खत्रीले बताउनुभयो । सो पुस्तकालयमा बोल्ने कम्प्युटर, ब्रेल लिपि, ब्रेल पेन सहितको शैक्षिक सामाग्री र अडियो पुस्तकहरु समेत राखिनेछ ।

करिब रु ५ लाख लागतमा बन्ने सो पुस्तकालयको लागि म्याग्दी विकास मञ्चले रु ५० हजार सहयोग गर्ने घोषणा गरेको छ । मंगलवार क्याम्पसमा आयोजित एक कार्यक्रममा म्याग्दी विकास मञ्चका अध्यक्ष प्रकाश पुनले दृष्टिविहिन विद्यार्थीको पठनपाठनलाई सहज बनाउने उदेश्यले छुट्टै पुस्तकालय बनाउने अभियानमा रु ५० हजार सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

कार्यक्रममा म्याग्दी बहुमुखि क्याम्पसका सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मी र म्याग्दी विकास मञ्चका महासचिब दिनेशनाराण श्रेष्ठले अपांगता भएका विद्यार्थीहरुलाई अध्ययनमा सहजता ल्याउन पुस्तकालयले भुमिका खेल्नेमा जोड दिनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l