म्याग्दीकाली सञ्चार सहकारीको दसौ साधारणसभा सम्पन्न

  • १९ पुष २०७४, बुधबार
  • सन्तोष गौतम
  • 1955 पटक पढिएको

बेनी १९ पुष । म्याग्दीकाली सञ्चार सहकारी संस्था लि.को दसौ वार्षिक साधारणसभा बुधबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुदै बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले सामाजिक परिवर्तन, शुसासन र दिगो विकासका लागि सञ्चार माध्यमले जागरणमुलक भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । संस्थाका संस्थापक अध्यक्ष समेत रहनुभएका श्रेष्ठले विकास र सम्बृद्धीका लागि सहकारी तथा सञ्चार क्षेत्रलाई परिचालनमा जोड दिने बताउनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेल, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल, बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गिरी र सेयर सदस्य अम्बिक श्रेष्ठले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । साधारणसभाले दश प्रतिशत बोनस सेयर वितरण गर्ने, सरकारको निती अनुसार केबुल सेवालाई डिजीटलाईज्ड गर्ने र संस्थाको आफ्नै घर अथवा जग्गा खरिद गर्ने निर्णय गरेको छ ।
कोषाध्यक्ष सुबिन श्रेष्ठले गत आर्थिक वर्ष २०७३७४ को ९९ लाख २२ हजार ३४९ रुपैया आय र ९१ लाख ९१ हजार ९१४ रुपैया ब्यय विवरण सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाद्धारा सञ्चालीत केबुल सेवा मार्फत म्याग्दी र पर्वतका विभिन्न बस्तीमा तिन हजार ९९ जनाले सेवा लिईरहेका छन् । ५४९ जना सदस्यको दुई करोड ७४ लाख १८ हजार ३०० रुपैया सेयर लगानी रहेको संस्थाले केबुल, म्याग्दीकाली एफ एम ८८.२ मेगाहर्ज र ईन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।

संस्थाका अध्यक्ष प्रमोद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष बिजयकुमार श्रेष्ठको स्वागत र कोषाध्यक्ष सुबिन श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

सन्तोष गौतम