म्याग्दीको चुनाव कसकाे पक्षमा

  • १ मंसिर २०७४, शुक्रबार
  • सन्दीप खत्री
  • 6804 पटक पढिएको

सन्दीप खत्री

देशमा यतिबेला चुनावी रौनक छाएको छ । यो निर्वाचनलाई दलहरुले पदका लागि भन्दा पनि अस्तित्वसँग जोडेर हेरेका छन् । नेपाली राजनीतिक इतिहाँसमा ६५ प्रतिशत भन्दा धेरै बामपन्थीको भएको देशमा घुमाई फिराई राज्य सत्ता सञ्चालन गर्दै आएको र आफूलाइ लोकतन्त्रकोे हिमायती ठान्ने अल्पमतको शक्ति कांग्रेसद्वारा शाषित हुनु परेको पीडालाई आत्मसाथ गरेर देशका ठूला पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगायतका अन्य साना बामपन्थी दलहरुले बामपन्थी गठबन्धन गरे । निर्वाचनका लागि मात्रै नभएर पार्टी नै एकता गर्नेगरी अगाडि बढे । बामपन्थीको गठबन्धनबाट त्रसित मानसिकताको उपज स्वरुप केही दिन पछिनै नेपाली काँग्रेसको नेतृत्वमा राप्रपाको चुनावी तालमेल गरी लोकतान्त्रिक गठबन्धनको घोषणा गरे ।

एकातर्फ निर्वाचन आफ्नो पक्षमा पार्न र संविधानमा नै व्यवस्था गरिदिएको प्रत्यक्ष निवाचित भएको पार्टीलाई मात्र राजनीतिक पार्टीको मान्यता दिने नीति नियमले धु्रवीकरण प्रक्रियाले तीव्रता पाएको छ । नेपालको राजनीतिलाई नजिकबाट नियाल्ने हो भने च्याउसरी उम्रिएका पार्टीहरु केका लागि भन्ने प्रश्नहरु उब्जीएको बेलामा भएको बाम एकताले साच्चै सकारात्मक सन्देश दिएको छ । यतिखेर देशमा पार्टीहरु भन्दा पनि दुई गठबन्धन चुनावी प्रतिस्पर्धामा छन् । एकतिर बामपन्थी गठबन्धन र अर्कोतर्फ कांग्रेस राप्रपा गठबन्धन । कांग्रेस–राप्रपाले आफ्नो गठबन्धनलाई “लोकतान्त्रिक” भनेर नाम दिएका छन् ।

समान विचारधारा र एउटै गन्तव्य भएका पार्टीहरू मिल्नु नै लोकतान्त्रिक गठबन्धन हो भन्ने बहस पनि सुरु भएको छ । त्यसैले कांग्रेस राप्रपा भन्दा पनि एमाले–माओवादीको गठबन्धनलाई लोकतान्त्रिक बाम गठबन्धनको रुपमा हेर्न थालिएको छ । राजतन्त्रको वकालत गर्ने, हिन्दु धर्म चाहिन्छ भन्ने राप्रपा र आफूलाई समाजवादको संवाहक ठान्ने कांग्रेस वीचको तालमेल कसरी लोकतान्त्रिक हुन सक्छ ? भन्ने प्रश्नहरु पनि नेपाली राजनीति बृतमा उब्जीएको छ । नेपाली राजनीतिमा निकै ठूलो प्रभाव पारेको नेपाली काङ्ग्रेस बीपीले प्रतिपादन गरेको समाजवादको वकालत गर्दै आईरहेको छ । भलै त्यसको पृष्ठभूमि र त्यसको औचित्य पुष्टि गर्नुभन्दा पनि एकतन्त्र राज गर्न मस्त छ । उसले आफ्नै निरन्तरतालाई नै लोकतन्त्रको मूल मर्म सम्झिएको पाइन्छ । पटक पटक प्रधानमन्त्री हुनुलाई नै लोकतन्त्रको मूलमन्त्र सम्झने नेपाली काङ्ग्रेस समाजवादतर्फ उन्मुख हुनभन्दा पनि पद, शक्ति र सत्तामा नै लिप्त रहेको देखिन्छ ।

अब कुरा गरौं म्याग्दी जिल्लाको सन्दर्भमा । म्याग्दी जिल्लामा बाम गठबन्धन र कांग्रेस राप्रपाको गठबन्धनका वीच्र प्रतिस्पर्धा हुने निश्चित छ । स्थानीय तहको निर्वाचनमा एमाले–राप्रपा, र माओवादी–कांग्रेसको गठबन्धन थियो । जुन निश्चित पद प्राप्तिका लागि मात्रै थियो । तर यतिखेर भएको एमाले–माओवादी र कांग्रेस–राप्रपाको गठबन्धन अलि बृहत छ ।

म्याग्दी जिल्लाको स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी केन्द्रले जसरी इमान्दारिता देखाए सोही अनुसार दुवै पार्टीका कार्यकर्ता लाग्ने हो भने यस पटकको निर्वाचनमा बाम गठबन्धनलाई जित निकाल्न असहज छैन् । तर नेपाली कांग्रेसले भने राप्रपाको बलमा भन्दा पनि आफ्लै बलबुताले जित निकाल्नु पर्नेछ । राप्रपाका नेताले पनि कांग्रेसको बलमा जित निकाल्नु पर्नेछ । तसर्थ म्याग्दीमा बामगठबन्धनका विरुद्धमा कांग्रेस राप्रपाको गठबन्धनलाई पनि जित निकाल्न निकै चुनौतिपूण छ ।जीत कसको हुन्छ, त्यो निर्वाचन पछि नै थाहा होला तर केही दिन अगाडि मैलेफेसबुकमा गरेको मत सर्वेक्षण अनुसार भने वामपन्थीको जित निश्चित छ ।

 

चुनाव प्रचार प्रसारको महत्वपूर्ण साधनको रुपमा सामाजिक सञ्जाल प्रयोग हुँदै आएको छ । त्यही कुरालाई आधार मानेर सामाजिक सञ्जालमा मत सर्वेक्षण गरीएको थियो । त्यसमा मत व्यक्त गर्ने ९९ प्रतिशत मान्छे म्याग्दी जिल्लाकै छन् । अधिकाँस सचेत मानिसहरुले सामाजिक सञ्जालको प्रयोग गर्छन् । त्यसैले सामाजिक सञ्जालमा आउने परिणामलाई पनि एक तहको परिणाम मान्ने हो भने कात्र्तिक ३० गतेसम्मको मत सर्वेक्षण अनुसार वामपन्थीको पक्षमा ८१ र कांग्रेस राप्रपा गठबन्धनको पक्षमा १८ र मिश्रित १ प्रतिशत मत आएको छ ।

भलै सामाजिक सञ्जालमा आएका प्रतिक्रियालाई कति आधिकारीकता मान्ने त्यो फरक पाटो होला तर जित वामन्थीको पक्षमा देखिन्छ ।  विगतका परिणामलाई हेर्दा जिल्लामा बामपन्थी हावी भएको देखिन्छ । तर पछिल्लो समयमा कांग्रेस र राप्रपाको गठबन्धनले पनि राम्रैसँग संगठनको विकास गरेका छन् । तर यो निर्वाचनमा मानिसहरुले आफ्नो स्वविवेक प्रयोग गर्ने सम्भावना पनि उत्तिकै देखिएको छ । विशेष गरी प्रदेशसभाका लागि निर्वाचन क्षेत्र (क) विनोद केसी र भिमप्रसाद गौचनको निर्वाचनलाई पनि विशेष रुपमा हेरिएको छ ।

पञ्चायती व्यवस्थादेखि राजनीति गर्दै आएका गौचन र माओवादीले सुरु गरेको १० वर्षे जनयुद्धको अन्त्यतिरबाट राजनीतिमा होमिएका केसीको रोचक प्रतिस्पर्धा हुँदैछ । क्षेत्र नं. क का सचेत मतदाताले अग्रगामी सोच बोकेको, परिवर्तनकारी र युवा शक्ति रोज्नेकी पञ्याती मानसिकताबाट आएको, अझैपनि राजतन्त्रको वलाकालत गर्ने बृद्ध रोज्ने महत्वपूर्ण परिक्षणको समय आएको छ । तर जानकारहरुका अनुसार केसीलाई पराजित गर्नु गौचनका निमित्त पहाड फोर्नु सरह नै देखिन्छन् ।

भिमप्रसादको जित हुनु भनेको क नंं क्षेत्र पछि पर्नु हो भन्नेहरुको पनि कमी छैन् । हिजो भिमप्रसादले खानेपानी, बाटो, चौतारा बनाएकै हुन् । किन भने हिजो पञ्चायती व्यवस्थामा उनको पहुँच र पावर थियो । तर अहिले व्यवस्था परिवर्तन भएको छ । यो निर्वाचनपछि बामपन्थीहरुको सरकार बन्ने निश्चित प्रायः छ । यस्तो अवस्थामा ४ नं. प्रदेशमा गौचनले जितेर गर्छन् के । नत उनको पार्टीको वर्चस्व हुनेछ, नत उनको पञ्चायती व्यवस्थामा जस्तो गुण्डागर्दी चल्नेछ, नत उनको पावर नै माथिसम्म पुग्नेछ । जबकस् उनी त्यहाँ जोकर फाल्तु सरह हुनेछन् ।

त्यसैगरी क्षेत्र नं. (ख)मा पनि बाम गठबन्धनका नरदेवी पुन र कांग्रेस–राप्रपा गठबन्धनका अमलाल फगामी वीच प्रतिस्पर्धा हुनेछ । एमाले–माओवादीको संयुक्त मत भएको ख क्षेत्रमा राप्रपाको भोट न्यून संख्यामा भएकोले कांग्रेसलाई त्यहाँ पनि जित सहज छैन् । स्थानीय निर्वाचनमा तीन वटा गाउँपालिका मध्य २ वटामा एमालेले जित हासिल गरेको छ भने एउटामा कांग्रेसले । २ वटा गाउँपालिकामा माओवादी केन्द्र सम्मानजनक दोस्रो स्थानमा थियो ।

महिला नेतृ र लामोसमय देखि राजनीतिमा स्थापित नेतृत्व पुनका लागि सहज हुनेछ । फगामी पनि कांग्रेसमा राम्रै पहुँच राख्ने मान्छे मानिन्छन् । स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताउन सहयोग गरेका स्वतन्त्र बामपन्थीहरुको समेत पुनलाई सहयोग हुनेभएपछि निकै कठिन देखिन्छ फगामीका लागि निर्वाचन जित्न ।यता प्रतिनिधिसभाको निर्वाचनतर्फ पनि बामगठबन्धनका भुपेन्द्र थापा र कांग्रेस–राप्रपाको गठबन्धनका खम्बीर गर्बुजा वीच प्रतिस्पर्धा हुनेछ । यता पनि कांग्रेसलाई त्यति सहज देखिदैन । कांग्रेसका जिल्ला सभापति समेत रहेका खम्बीर गर्वुजाले ७० सालको निर्वाचनमा लागेको टुरिष्ट नेताको विल्ला हटाउनै ठिक्क छ ।

उनले अधिकाँस सभा समारोहमा आफू म्याग्दी जिल्लाकै बासिन्दा भएको भन्दै भोट माग्नु परेको छ । तर विपक्षीहरुले गर्बुजा पार्टी सभापति भएको लामो समयसम्म पनि आफ्नै कार्य समितिको उपसभापति लगायतका बाँकी रहेका पदपूर्ति गर्न नसक्नु उनको कार्य क्षमता माथि पनि प्रश्न उठाईरहेका छन् । त्यसैगरी गर्बुजाले आफू म्याग्दी जिल्लावासी भनेर दावि गर्दै गर्दा स्रोतका अनुसार काठमाण्डौमा केही जग्गा बाहेक म्याग्दीको कुरै छाडौ नेपालमै उनको अन्य कतै रात कटाउने आफ्नो कोठा समेत नभएको बताइएको छ ।

दग्नामलाई आधार बनाएर राजनीतिका गरेका गर्बुजाको दग्नाममा एक टुक्रा जमिन समेत नभएको स्रोतको दावि छ । यसले विपक्षीलाई प्रचार गर्न सहज भएको छ भने कांग्रेसका लागि चुनाव पेचिलो बन्दै गएको छ । भलै यसलाई नेता खम्बीरले प्रतिवाद गरेकै होलान् । त्यसैले खम्बीरले यी आरोपहरुको खण्डन गर्दै जानुपर्नेछ भने भने बामका उम्मेदवार भुपेन्द्र थापा भने यस्ता आरोपबाट मुक्त छन् । लामोसमय देखि म्याग्दीको बामपन्थी राजनीतिमा क्रियाशिल रहेका थापालाई जित सहज देखिन्छ भने गर्बुजाले ठुलै पापड पेल्नु पर्नेछ । यसरी हेर्दा प्रतिनिधिसभाको जित पनि बामपन्थीकै कोल्टा देखिन्छ ।

म्याग्दी जिल्लाका अधिकाँस निर्वाचन बामपन्थीले जित्दै आएकोले पनि बामपन्थीहरुले आफ्नो शाख जोगाउनका लागि भरमग्दुर प्रयास गर्नेछन् । कांग्रेस–राप्रपा गठबन्धनलाई पनि बामपन्थीहरुको किल्ला भत्काउनु त्यसैलै उनीहरुले पनि सबैप्रकारका तिकडम अपनाउनेछन् । हुन् त केही समय अगाडि आएको कांग्रेसहरुको एक अभिलेख अनुसार म्याग्दी जिल्ला आफूहरुले नजित्ने जिल्लाको रुपमा उल्लेख गरेको थियो । त्यसैले पनि बामपन्थीहरुको मनोबल उच्च भएको छ ।

अन्त्यमा, जसले जितेपनि म्याग्देली जनताले चाहेको विकास हो । त्यसैले सबैले विकासप्रेमी नेता चुनौ । विगतमा राज्य सत्तामा हुँदा क–कसले के कति काम गरे एक पटक नियालौ र आफ्नो मत व्यक्त गरौं । यस पटकको निर्वाचनमा मतको विक्रि होईन दान गरौं । अनि मात्र तपाई हाम्रो मतको सदुपयोग हुनेछ । आज हामीले हजारमा मत बेच्दै गर्दा भोलि त्यही हजार पूर्ति गर्नका लागि उनीहरुले लाखको घोटला गर्नेछन् । आज हजार बुझेर भोलि लाखको क्षति गर्ने वा आज आफ्नो मतको सही सदुपयोग गरी भोलि हाम्रो सन्नतीको उज्ज्वल भविष्य निर्माण गर्ने बेलैमा विवेक प्रयोग गरौं ।

सन्दीप खत्री