बेनी नगरपालिकाद्धारा प्रगति सार्वजनिक, सडक व्यवस्थापनलाई सहज बनाउने तयारी

  • ६ आश्विन २०७४, शुक्रबार
  • धिरन खत्री
  • 1985 पटक पढिएको

 

म्याग्दी ६ असोज । बेनी नगरपालिका कार्यालयले सम्पादन गरेका कार्यहरुलाई सार्वजनिकरण गर्ने कार्यको थालनी गरेको छ । गत बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचन पश्चात चुनिएका जनप्रतिनिधिले कार्यभार सम्हाले पछि कार्यालयले सम्पादन गरेका कार्यहरुलाई नगरपालिकाले पहिलो पटक पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । शुक्रवार बेनीमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख हरिकुमार श्रेष्ठले नगरलाई सफा, समृद्ध र सफल नगरपालिका बनाउने कामको थालनी भएको भन्दै यातयात, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पुर्वाधार निर्माण लगायतका क्षेत्रहरुलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो ।

उहाँले पाँच बर्षे कार्यकालमा नगरपालिकाका १० वटै वडाहरुमा बाह्रै महिना सडक सञ्चालन हुने गरि स्तरबृद्धि र कालोपत्रे गर्ने योजनालाई प्राथमिकता दिएको बताउनुभयो । त्यसैगरि पाँच वर्षभित्र नगर क्षेत्रका सबै घरमा “एक घर, एक धारा”को अवधारणा अनुसार आधारभुत खानेपानीको सुबिधा विस्तार गर्ने योजना अघि सारेको बेनी नगरपालीकाले जिर्ण अवस्थामा रहेका काठका विद्युतका पोल विस्थापित गरेर फलामे पोल राख्ने काम सुरु गरेको छ । पञ्चवर्षिय गुरुयोजना निर्माणको तयारी गरेको नगरपालीकाले शिक्षाको गुणस्तर सुधार र विद्यालयमा पूर्वाधार निर्माण, जनताको आयआर्जन वृद्धी र रोजगारी सिर्जनाका लागि एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको छ । बेनी बजारको फोहोर व्यवस्थापन गर्ने जग्गाको खोजी भैरहेको बताउदै नगरप्रमुख श्रेष्ठले बधस्थल निर्माणका लागि जग्गा पहिचान गरिएको जानकारी दिनुभयो ।

बेनी बजार बृहत ढल सुधार कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको, बेनी बसपार्कको सर्वेक्षण र डिजाईन तयार गरेको, बेनीमा सडक अतिक्रमण गरि निर्माण भएका संरचना हटाउन सुरु गरीएको, एकिकृत सम्पत्तीकर लागु गर्न निर्देशीका तयार र मूल्याङकन समिति गठन, वडा कार्यालय व्यवस्थापन, अनलाईनबाट व्यक्तिगत घटना दर्ताको सुरुवात भएको जानकारी गराइएको थियो । स्थानीय तह सञ्चालनका लागि आवश्यक ७ वटा कानुन निर्माण, गत आर्थिक वर्षका योजना र विषयगत कार्यालयका योजना कार्यान्वयनमा सहजिकरण, बेनी बजारमा अखाद्य बस्तुको मिसावट गरि चटपट बिक्रीमा प्रतिबन्ध लगाउने र नगर कार्यपालीका अन्तरगत ८ वटा विषयगत समिती गठन गर्ने लगायत १४ बुदे प्रगती विवरण नगर प्रमुख श्रेष्ठले सार्वजनीक गर्नुभएको थियो ।

कार्यकारी अधिकृत विश्वामित्र कुईकेलले नगर क्षेत्रको समस्या र आवश्यकता अनुसार तय भएका योजना तथा कार्यक्रम सञ्चालनका लागि पहिलो चरणमा नगर प्रोफाईल तयार पार्न लागिएको बताउनुभयो । नगर उपप्रमुख सञ्जु बरुवालले बर्खामा अवरुद्ध नगर क्षेत्रका सडक मर्मतको काम अन्तीम चरणमा पुगेको र बेनपा ७ का अध्यक्ष राजेन्द्र श्रेष्ठले बेनी बजारमा बिग्रीएका सिसीटिभी क्यामेरा मर्मतको काम भैरहेको बताउनुभयो । सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, प्रजिअ कृष्णप्रसाद अधिकारी, वडा अध्यक्षहरु, नगर कार्यपालीका सदस्य र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l