किवी खेतीबाट गाउँकै माटोमा भविष्य कोर्दै भकिम्लीका युवाहरु
- १८ असार २०८२, बुधबार
- कमल खत्री
- 101 पटक पढिएको
कमल खत्री
म्याग्दी १८ असार । बेनी नगरपालिका– ३ भकिम्लीमा एक दशक अघि परिक्षणको रुपमा लगाएको किवी खेती अहिले पकेट क्षेत्रको रुपमा विस्तार भएको छ । वि.स. २०७२ सालमा वर्तमान वडा अध्यक्ष पदमबहादुर पुन, स्थानीय लक्षु पुन र पृथ्वीप्रसाद पुनले काठमाण्डौबाट ५० बोट किवीका विरुवा ल्याएर परिक्षणको रुपमा लगाउनुभएको थियो । सुरुवातमा लगाएका बोटले ६ बर्षपछि फल दिन थालेपछि स्थानीयले किवी खेतीमा रुचि देखाएका थिए ।
वि.स. २०७४ सालमा वडा कार्यालयले एक घर पाँच किवीका विरुवा लगाउने अभियान चलाएपछि सिंगो वडाभरी किवी खेतीको लहर चलेको थियो । किवी खेती सुरु भएको एक दशकको अवधिमा यस वडाभित्र करिब चार सय रोपनीमा किवी खेती विस्तार भएको छ । भकिम्ली, चिनाखेत, डाडाखानी, छाप, सिम, मट्केना, भुकभुके, डोले, मुसुङ गाउँमा किवीको व्यावसायिक खेती विस्तार भएको वडा अध्यक्ष पुनले बताउनुभयो । उहाँका अनुसार, भकिम्लीमा अहिले कृषकहरुले ५ हजार बढी किवीका विरुवा लगाएका छन् ।
‘‘ किवीलाई स्थानीयले प्रमुख खेतीकै रुपमा अघि बढाएका छन, वडा र नगरपालिका मार्फत कृषकहरुलाई किवीका विरुवा, पोल, तार र सिंचाईमा अनुदान उपलब्धत हुँदै आएको छ, खेतीयोग्य जमिनमा खाद्यबालीको विकल्पमा किवी खेती विस्तार गर्ने अभियान नै चलेको छ’’– वडा अध्यक्ष पुनले भन्नुभयो । यस वडाभित्र सामूहिक र व्यक्तिगत रुपमा फर्म दर्ता गरेर कृषकहरु गाउँलाई किवी गाउँको रुपमा विकास गर्ने प्रयासमा लागिपरेका छन् ।
भकिम्लीमा बेलढुंगा कृषक समूहले मात्रै १ हजार दुई सय किवीका बोट लगाएको छ । किवी खेतीको अगुवा कृषकको रुपमा परिचित लालबहादुर पुनले ३०० बोट, लक्षु पुनले २५० बोट, लालबहादुर घर्तिले २५० बोट किबी लगाउनुभएको छ । गाउँमा दर्जन बढी युवाहरुले परम्परागत कोदो, मकै फल्ने बारीमा किवी खेतीलाई विस्तार गरेका गरेका छन् । यस वडामा किवीको व्यावसायिक खेतीमा ५० जना बढी कृषकहरु आबद्ध रहेको वडा कार्यालयले जनाएको छ ।
किवी खेतीको लहर चलेपछि भकिम्लीमा किवी पकेट क्षेत्र विस्तार गरिएको बेनी नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गानाले बताउनुभयो । चालु आर्थिक बर्ष २०८१÷०८२ मा नगरपालिकाबाट विनियोजन भएको रु १२ लाख बजेटलाई कृषकको ५० प्रतिशत लागत साझेदारीमा किवी पकेट क्षेत्र विस्तारमा परिचालन गरिएको कृषि अधिकृत ढुङ्गानाले बताउनुभयो ।
‘‘ विगतका बर्षमा यस क्षेत्रमा फलफुल खेती प्रवद्र्धन कार्यक्रम मार्फत किवी खेती विस्तारमा नगरपालिकाले सघाएको थियो, यो बर्ष किवी पकेट क्षेत्र विस्तार कार्यक्रम नै सञ्चालन गरेका छौँ, नयाँ बगैँचा स्थापना र व्यवस्थापनमा नगरपालिका र कृषकको समेत गरी २४ लाख बढी लगानीको काम गर्न सफल भएका छौँ, यसले सिङ्गो गाउँलाई किवीमय बनाउन मद्धत पुगेको छ’’– कृषि अधिकृत ढुङ्गानाले भन्नुभयो ।
किवी पकेट क्षेत्र कार्यक्रम मार्फत यस बर्ष २५० वटा नयाँ बोट रोपिएको छ । किवीका बोटलाई फैलाउनका लागि ७०२ वटा पोल सहित तार टांगीएको छ भने सिँचाईको लागि ७ वटा ड्रम वितरण गर्नुका साथै सिंचाई पाईप समेत वितरण गरिएको छ । किबी खेती विस्तारमा वडा कार्यालय, बेनी नगरपालिकाका साथै कृषि ज्ञान केन्द्रले समेत सहयोग गर्दै आएका छन् । किवी पकेट क्षेत्र विस्तारले कृषकहरुमा खेती विस्तारमा उत्साह छाएको वडा सदस्य समेत रहनुभएका किवी खेतीमा लाग्नुभएका कृषक रत्न जिसीले बताउनुभयो ।
वैदेशिक रोजगारको विकल्पमा किवी खेती
बेनी नगरपालिका– ३ भकिम्लीका युवा खिमबहादुर आले मगरले परम्परागत कोदो, मकै खेती हुँदै आएको ८ रोपनी बारीमा किवी खेती सुरु गर्नुभएको छ । दुई बर्षदेखि किवी खेतीमा लाग्नुभएका मगरले ११० वटा बोट किवी लगाइसक्नुभएको छ । भकिम्लीको टिम्मरेडाँडामा रहेको बारीमा किवी लगाउनुभएका मगरले आयआर्जनका लागि वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै गाउँमा व्यावसायिक किवी खेतीलाई रोजेको बताउनुभयो ।
‘‘आर्थिक आम्दानीका लागि विदेश नै जानुपर्छ भन्ने मान्यतालाई त्यागेर कृषि कर्ममा लागेको हुँ, आफ्नै गाउँको माटोमा पसिना बगाएर स्वरोगजार बन्ने मेरो सपना छ, अझै दुई रोपनी बारीमा किवी विस्तार गर्ने योजना बनाएको छु’’– उहाँले भन्नुभयो । मगरले यस बर्ष मात्रै बेनी नगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा २०२ वटा पोल निर्माण गर्नुभएको छ । किवी खेतीको विस्तार र बगैँचा व्यवस्थापनमा यस बर्ष मात्रै रु ६ लाख बराबरको काम गरेको उहाँले बताउनुभयो ।
भकिम्लीको मुसुङमा वैदेशिक रोजगारलाई त्यागेर किवी खेतीमा लाग्नुभएका कृषक लालबहादुर घर्तिले ७ रोपनीमा किवी लगाउनुभएको छ । परम्परागत रुपमा मकै, कोदो र आलु खेती गर्दै आएको बारीमा आत्मनिर्भर बन्ने लक्ष्य सहित व्यावसायिक किवी खेती लगाएको घर्तिले बताउनुभयो । ‘‘ रोजगारको शिलसिलामा करिब १० बर्ष ओमन र साउदीमा बिताएँ, त्यहाँ बस्दा पनि घरखर्च चलाउन बाहेक थप आर्थिक उन्नती गर्न सकिएन, त्यसपछि स्वदेश फर्किएर किवी खेतीमा लागेको हुँ’’– घर्तिले भन्नुभयो । वि.स. २०७५ सालमा वडा कार्यालयले किवी खेती सम्बन्धी तालिम र अभिमुखीकरण सञ्चालन गरेपछि यहाँका धेरैजसो युवाहरु किवीको व्यावसायिक खेतीमा आबद्ध भएका छन् ।
घर्तिको किवी फर्मबाट उत्पादन समेत सुरु भइसकेको छ । गत बर्ष मात्रै रु ८० हजारको किवी विक्रि गर्नुभएका उहाँले किवी खेती विस्तार, बगैँचा स्थापना र व्यवस्थापनमा नगरपालिकाबाट पाएको सहयोगले आफुलाई उत्साहित बनाएको जानकारी दिनुभयो । भकिम्लीको सिममा १७ रोपनीमा व्यावसायिक किवी खेती गर्नुभएका लाल बहादुर पुन पनि बैदेशिक रोजगारलाई त्यागेर गाउँमै आत्मनिर्भरको बाटोमा लाग्नुभएको छ । बहराईन र मलेसियामा तीन बर्ष विताउनुभएका पुन वैदेशिक रोजगारकै लागि बेलायत जानका लागि भिसा नै लागिसकेको अवस्थामा किवी खेती सम्बन्धी तालिममा सहभागी भएपछि विदेश जाने योजनालाई गाउँमै किवी खेतीमा मोड्नुभएको थियो । पुनले ३०० वटा किवीका विरुवा रोपेकोमा अहिले १७० वटा बोटले फल दिन सुरु गरिसकेको छ । गत बर्ष रु ३ लाखको किवी विक्रि गर्नुभएका पुनले यस बर्ष बेनी नगरपालिकाको अनुदानमा ८४ वटा पोल र नयाँ बोट समेत विस्तार गरेको जानकारी दिनुभयो ।
उचित बजार व्यवस्थापनको चुनौती
अनुकूल हावापानी र उचित खेतीयोग्य जमिनका कारण भकिम्लीमा किवी खेती विस्तार हुन थालेसंगै उचित बजार व्यवस्थापनको चुनौती देखिएको छ । गाउँमा उत्पादन नभएको किवी स्थानीय बजारमा खपत हुन सक्ने अवस्था नभएपछि बागलुङ, पोखरा, काठमाण्डौ लगायतका बजारमा पठाउन थालिएको छ । कात्तिक देखि पुस महिनासम्ममा किवीको बजारीकरण गरिन्छ । गत बर्ष यहाँका कृषकहरुले प्रतिकिलो रु १८० मा किवी विक्रि गरेका थिए । सुरुवातका बर्षहरुमा प्रतिकिलो २५० सम्म मुल्य पाएका कृषकहरुले उत्पादन गरेको किवीको उत्पादन बढेसंगै उचित बजारको अभाब देखिन थालेको मुसुङका कृषक लालबहादुर घर्तिले बताउनुभयो । किवी पकेट क्षेत्रको रुपमा विकास भैरहेको भकिम्लीमा बेनी नगरपालिकाले नयाँ विरुवा विस्तार, पोल बनाउने र तार तान्ने तथा बगैँचा व्यवस्थापन र फलको गुणस्तर कायम गराउन अनुदान, तालिम र परामर्श सेवा उपलब्ध गराएको बेनी नगरपालिकाका उपमेयर ज्योती लामिछानेले बताउनुभयो । ‘‘कृषकहरु उत्साहका साथ किवी खेतीमा लाग्नुभएको छ, नगरपालिकाको तर्फबाट उहाँहरुलाई प्रोत्साहन भैरहेको छ, आगामी दिनमा उचित बजार व्यवस्थापनमा समेत हामीले कृषकहरुलाई सहजीकरण गर्छौ’’–उपमेयर लामिछानेले भन्नुभयो । भकिम्लीको सिममा किवीलाई भण्डारण गर्नका लागि चिस्यान घर समेत निर्माण सुरु भएको छ ।
गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र स्थानीयको लागत साझेदारीमा चिस्यान घर बनाउन लागिएको हो । किवीलाई बजारीकरणमा समस्या परेको समयमा सुरक्षित भण्डारण गरेर बेमौसममा बजारमा लैजानका लागि चिस्यान घरले सहयोग पुग्ने कृषकहरुको अपेक्षा रहेको छ । बेनी नगरपालिकाले कृषकहरुलाई किवीबाट जुस बनाउने तालिम समेत प्रदान गर्ने जनाएको छ । फलफूलको राजाको उपनामले परिचित किवी समुद्री सतहदेखि १ हजार ५ सय मिटरको उचाईदेखि २ हजार पाँच सय मिटरको उचाईसम्म खेती गरिन्छ । लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ । अमिलो र गुलियो स्वाद पाइने किवीलाई खेती गर्न प्रति आठ वटा पोथी बिरुवा बराबर एक वटा भाले किवीका बिरुवा लगाउनुपर्छ । लहरा भएर फैलिने किवी एक रोपनीमा १५ सम्म किवीका बिरुवा लगाउन सकिन्छ । पछिल्लो समय बेनी नगरपालिकाका साथै म्याग्दीका विभिन्न ठाउँमा किवी खेतीको लहर नै चलको छ । रासस

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l