मङ्गलामा बालबालिकालाई दैनिक एक गिलास दूध वितरण
- ५ मंसिर २०८२, बिहीबार
- 11 पटक पढिएको
मङ्गला गाउँपालिकाका पाँच वटा वडामा ४५ वटा बालविकास केन्द्रमा यस वर्ष तीन सय ७७ जना बालवालिका छन । दिवा खाजासँगै दूध वितरण गर्न गाउँपालिकाले प्रति विद्यार्थी रु. १५ का दरले अनुदान उपलब्ध गराउँछ । उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०८२/०८३ मा रु. ११ लाख ५० हजार बजेट बिनियोजन गरेको छ । ४४ वटा बालविकास केन्द्र संघीय सरकारबाट अनुमति पाएका हुन् । एक वटा बालविकास केन्द्र गाउँपालिकाले सञ्चालन गरेको छ ।
तल्लो तहबाटै बालबालिकालाई सामुदायिक विद्यालयमा आकर्षित गर्ने, पोषण अवस्थामा सुधार गर्ने र बालबालिकको विद्यालयमा टिकाउ दर बढाउन गत आर्थिक वर्षदेखि शुरु गरेको दूध वितरण गर्ने कार्यक्रम प्रभावकारी बनेको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयाे । बहुक्षेत्रीय पोषणको अवधारणा अनुसार शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँग अन्तरसमन्वय हुने कार्यक्रम सञ्चालन गरेको उहाले बताउनुभयाे । गत वर्ष यस कार्यक्रमबाट तीन सय ७३ जना बालबालिका लाभान्वित भएका थिए ।
विद्यालय र बालविकास केन्द्रले गाउँपालिकामा उपलब्ध गराउने विद्यार्थी भर्नाको विवरणको आधारमा खातामा बजेट पठाउने गरिएको छ । विद्यालय र बालविकास केन्द्रले स्थानीय किसानसँग दूध किनेर बालबालिकालाई खुवाउने गरेका छन् । स्थानीय स्तरमै उत्पादन हुने दूधले बजार पाउनुका साथै गाईभैसी पाल्ने किसानलाई प्रोत्साहन मिलेको छ ।
