चोयाबाट बनेका परम्परागत हस्तकलाका सामाग्रीमा आकर्षण घट्यो

  • ५ मंसिर २०८२, बिहीबार
  • कमल खत्री
  • 1 पटक पढिएको

म्याग्दी, ४ मङ्सिर । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा आयोजित बाला चतुर्दशी मेलामा स्थानीय स्रोत र रैथाने सीपमा आधारित हस्तकलाका सामाग्रीमा आकर्षण घटेको छ । बाला चतुर्दशी पर्वको अवसरमा गलेश्वरमा सतबीज छर्न आएका सर्वसाधारणले घरायसी काममा प्रयोग हुने चोयाबाट निर्मित डाला, नाङ्ला र काठका ठेका–मदानी खरिद गरेर लैजाने प्रचलन रहेको छ ।

गलेश्वरमा बाला चतुर्दशीको अवसरमा लाग्ने मेलामा तीन दशकदेखि डाला र नाङ्ला व्यापारको लागि आउने गर्नुभएका बागलुङको बडीगाड गाउँपालिका– ४ जलजलाका मनबहादुर छन्त्यालले पछिल्लो समय प्लाष्टिकका सामानले चोयाका सामाग्रीलाई विस्थापित गर्न थालेको बताउनुभयो । हरेक पटकको मेलामा आफुहरु डालाडाली र नाङ्ला विक्रिको लागि आउने गरेको र पछिल्लो समय चोयाका सामानहरुको चलनचल्ती घट्दो क्रममा रहेको उहाँको भनाई छ ।

‘‘पहिले गाउँघरमा डुलाएर पनि विक्रि गथ्र्यौ, अहिले मेलापर्व र महोत्सवहरुमा समेत उत्साहजनक किनबेच हुँदैन, प्लाष्टिकबाट बनेका डाला र नाङ्लोसंग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ, स्थानीय स्रोत र सीपको उपयोगबाट बनेका सामाग्रीहरु विकाउनै मुस्किल पर्ने अवस्था आएको छ’’– छन्त्यालले भन्नुभयो । गलेश्वरधाममा बागलुङका साथै तनहुँबाट समेत चोयाबाट बुनेका नाङ्ला ल्याएर व्यापारीहरु आएका छन् । मेलामा डाला रु ८०० सयदेखि दुई हजारसम्म र नाङ्लालाई रु ६५० देखि नौ सयसम्ममा किनबेच भएको छ ।


जंगलमा पाईने निगालोको चोयाबाट बुनेर तयार गरिने नाङ्लो अन्नपात केलाउन र डालीलाई अन्नपात राख्न प्रयोग गरिन्छ । चोयाका डाला र नाङ्ला वातावरणमैत्री हुनुको साथै टिकाउ र आकर्षक समेत हुन्छन् । प्लाष्टिकका सामाग्रीको मूल्यमा चोयाका सामाग्री खोज्ने प्रचलनका कारण आफुहरु समस्यामा परेको गलेश्वरको बाला चतुर्दशी मेलामा नाङ्ला बेच्न आउनुभएका तनहुँको बन्दिपुरका तीलबहादुर भुजेलले बताउनुभयो ।
गलेश्वर मेलामा करिब १ सय जनाले घरायसी र दैनिक उपभोग्य सामानदेखि लत्ताकपडाको व्यापार व्यवसाय सञ्चालन गरेकोमा न्यून मात्रामा डाला र नाङ्लाको खरिदविक्रि भएको छ ।

डाला र नाङ्ला संगै मेलामा रैथाने सीप प्रयोग गरी बनाईएका काठका ठेकाठेकी र मदानीको समेत खरिदविक्रि उत्साहजनक भएको छैन् । गाउँघरमा दुध संकलन र मोहि पार्नका लागि काठमा ठेका र मदानीको बिकल्पमा सिल्टे र प्लाष्टिकका सामान भित्रिएपछि ठेका बनाउने पेसा नै संकटमा पर्न थालेको छ । वैदेशिक रोजगारका कारण युवापुस्तामा परम्परागत सामान बनाउने रैथाने सीप पुस्तान्तरण हुन नसकेको अवस्थामा प्लाष्टिक र रबरका सामाग्रीले चोयाबाट बनाइने डाला र नाङलाको अस्तीत्व संकटकमा पार्ने जोखिम बढाएको छ । 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l