नदी किनारका बस्ती संरक्षणका योजनालाई प्राथमिकता : राज्यमन्त्री गर्बुजा(तस्बीर/भिडियाे)
- ५ जेष्ठ २०८२, आईतवार
- 233 पटक पढिएको
म्याग्दी, ४ जेठ । नवनियुक्त उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री खमबहादुर गर्बुजा(खम्बीर) ले म्याग्दीका नदी किनारका तटीय बस्ती संरक्षणको लागि आफूले पहल गर्ने बतानुभएको छ । राज्यमन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला आउनुभएका गर्बुजाको स्वागत सम्मानको लागि नेपाली काँग्रेस म्याग्दीले आइतवार बेनीमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै उहाँले ठूला नदीको किनारमा रहेका बस्तीहरु जोगाउन तटबन्धन गर्ने योजनाहरुलाई प्राथमिकता दिइने बताउनुभएको हो ।
सदरमुकाम बेनी बजार र तातोपानी बजार संरक्षणको योजनालाई नीरन्तरता दिइने बताउँदै उहाँले अन्य ठाउँका तटीय बस्तीलाई नदी कटानबाट जोगाउन संरक्षणको योजनामा बजेट विनियोजन गर्न आफुले पहल थालेको बताउनुभयो । ‘‘म्याग्दी जिल्ला नदी कटानको दृष्टिकोणमा जोखिमयुक्त मानिन्छ, सबै क्षेत्रमा एकैसाथ काम गर्न कठिनाई होला, तर जतिसक्दो धेरै क्षेत्रमा बजेट भित्र्याउन पहल गर्छु’’– उहाँले भन्नुभयो ।
गर्बुजाले म्याग्दीका सडकलगायतका अन्य विकास निर्माण योजनाहरुमा समेत अन्य मन्त्रालयबाट बजेट व्यवस्थापन गर्न आफु जुटेको जानकारी दिनुभयो । राज्यमन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला आउनुभएका गर्बुजालाई बाजागाजा सहित भव्य स्वागत गरिएका छ ।
नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले राज्यमन्त्री गर्बुजालाई फुल, माला र अबिर लगाएर स्वागत तथा सम्मान गरेका थिए । पार्टी कार्यालयमा आयोजित समारोहमा राज्यमन्त्री गर्बुजालाई बधाई पत्र प्रदान गरिएको थियो ।
संविधासद सदस्य रेशमबहादुर बानियाँ, पार्टीका कार्यबहाक सभापती हरिकुमार श्रेष्ठ, उपसभापति केबी भण्डारी लगायतले गर्बुजालाई सम्मान गर्नुभएको थियो ।