प्रदेश अस्पताल बेनीमा ओपिडी सेवा बन्द भएपछि विरामीहरु मर्कामा
- १४ बैशाख २०८२, आईतवार
- 1 पटक पढिएको
म्याग्दी , १३ वैशाख । म्याग्दी सदरमुकाम बेनीमा रहेको प्रदेश अस्पताल बेनीमा बहिरङ्ग (ओपिडी) सेवा बन्द भएपछि विरामीहरु मर्कामा परेका छन् । एक महिनादेखि जारी आवासीय चिकित्सकहरुको आन्दोलनका न्यायोचित र व्यवहारिक मागहरु सम्बोधन नभएपछि नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै प्रदेश अस्पताल बेनीमा कार्यरत डाक्टरहरुले शुक्रवारदेखि ओपिडी सेवा बन्द गरेका हुन् ।
आन्दोलनका कारण ओपीडीमा आएका बिरामी उपचार नपाएर फर्कन बाध्य भएका छन् । गण्डकी प्रदेशमा पहिलोपटक दुई बर्षअघिदेखि प्रदेश अस्पताल बेनीमा शनिवार र सार्वजनिक विदाको दिन समेत सेवा सुचारु हुने गरि बिहान ७ः०० देखि बेलुका ८ः०० बजेसम्म १३ घण्टे बहिरङ्ग सेवा विस्तार भएको थियो । शनिवार विहानै अस्पतालमा उपचार गराउन आएपनि ओपिडी सेवा बन्द भएपछि उपचार नगराइकन फर्कनुपरेको धवलागिरि गाउँपालिका– २ लुलाङबाट सेवा लिन आउनुभएका भबिराम विकले बताउनुभयो ।
‘‘ अस्पतालमा उपचार नहुने भएपछि अब बाहिर क्लिनिकमा चेकजाँच गर्नुपर्ने भयो, घरमा नियमित प्रयोग गर्ने औषधी समेत पाउन सकिएन’’– उहाँले भन्नुभयो । शुक्रवारदेखि नै अस्पतालको ओपिडी सेवा बन्द भएपछि गाउँ गाउँबाट उपचार गराउन आएका विरामीहरु उपचार नगराईकन फर्कनुपरेको गुनासो गरेका छन्। अस्पतालका डाक्टर रामु सापकोटाले गम्भिर समस्या भएका विरामीहरुलाई आकमस्मिक कक्षबाट उपचार गरिएको र ओपिडी सेवा पूर्ण रुपमा बन्द भएको जानकारी दिनुभयो ।
प्रदेश अस्पताल बेनीमा कार्यरत डाक्टरहरुले ओपीडि सेवा बन्द भएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई समेत ध्यानकर्षण पत्र माफर्त जानकारी गराएका छन् । आवासीय चिकित्सकलाई सरकारी आठौं तहसरह मासिक निर्वाह भत्ता उपलब्ध गराउन माग राख्दै शुक्रबारदेखि देशभरका सरकारी अस्पतालको ओपिडी सेवा प्रभावित बनेको छ ।