स्ववियु निर्वाचनका लागि म्याग्दी क्याम्पसमा चार वटा संघसंगठन दर्ता
- १९ फाल्गुन २०८१, सोमबार
- 157 पटक पढिएको
म्याग्दी , १९ फागुन । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत म्याग्दी बहुमुखी क्याम्पसमा विभिन्न चार वटा संघसंगठन दर्ता भएका छन् । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन कार्यतालिका अनुसार सोमबार क्याम्पसमा संघसंगठन दर्ताको लागि समय निर्धारण गरिएको थियो ।
स्ववियु निर्वाचनमा भाग लिनका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) नेपाल विद्यार्थी संघ र अखिल (क्रान्तिकारी)ले संघ संगठन दर्ता गरेको म्याग्दी बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिका संयोजक पशुपतिनाथ ढकालले जानकारी दिनुभयो ।
वित्रुभवन विश्वविद्यालयले स्ववियु निर्वाचनका लागि तयार गरेको कार्यतालिका अनुसार २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने र २५ फागुनमा मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ । सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।
२६ फागुनमा उम्मेदवारका लागि मनोनयनपत्र वितरण हुनेछ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।
दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने २८ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।
दुवै तर्फको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय २९ फागुन तोकिएको छ । दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने छ । र, ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म स्ववियु नेतृत्व चुन्न मतदान हुने छ ।