पाखापानीमा आयोजित वडा अध्यक्ष कपको उपाधी पात्लेखेतलाई
- ५ फाल्गुन २०८१, सोमबार
- 997 पटक पढिएको
बेनी, ४ फागुन । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ कोटगाउँमा आइतबार प्रथम वडा अध्यक्ष कप पुरुष बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । रघुगङ्गा गाउँपालिका वडा नं.–६ को कार्यालयको आयोजना र कोटगाउँको सनराइज युवा क्लवको सहआयोजनामा तीन दिनसम्म प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितामा बेनी नगरपालिका–१० पात्लेखेत बिजेता, रघुगङ्गा गाउँपालिका–६ पाखापानीको ए समूह उपबिजेता र बि समूह तृतीय भएका छन् ।
बिजेता, उपबिजेता र तृतीयलाई कप, ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश ः रु. एक लाख, ६० हजार र ३० हजार नगद पुरस्कार प्रदान गरिएको रघुगङ्गा–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । वडा स्तरमा रहेका खेल प्रतिभाको पहिचान गर्न र खेलकुद क्षेत्रको विकासको लागि रनिङ शिल्डको रुपमा प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष शेरपुञ्जाले बताउनुभयो ।
प्रतियोगिताको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी, गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुन, नेपाली काँग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (केवी), सचिव हिराबहादुर पुन लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्षका स्वकीय सचिव रोशन शेर्पुजाले सञ्चालन गर्नुभएको कार्यक्रममा आमा समूह र स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।