अनाथ, विपन्न तथा गरिब बालबालिकाको लागि राखुका दश विद्यालयमा अक्षयकोष स्थापना

  • २१ माघ २०८१, सोमबार
  • 7 पटक पढिएको

म्याग्दी , २१ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवती र ३ राखु पिप्ले क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अनाथ, विपन्न तथा गरिब बालबालिकाहरुलाई छात्रावृत्ती दिनका लागि रु सात लाखको राशीको अक्षयकोष स्थापना गरिएको छ । रघुगंगा गाउँपालिका– २ भगवती घर भइ हाल बेलायतमा बसोबास गर्दै आउनुभएका खिमबहादुर क्षेत्रीले राखु क्षेत्रमा रहेका दश वटा सामुदायिक विद्यालयमा उक्त अक्षयकोष स्थापना गर्नुभएको हो ।


माध्यमिक तहसम्मको पठनपाठन हुने ज्ञानोदय मावि, रघुगंगा मावि , मुक्तिधाम मावि र कक्षा ८ सम्मको पठनपाठन हुने सिद्धार्थ ज्ञानमन्दिरमा रु १/१ लाख रकमको अक्षयकोष स्थापना गरिएको छ । त्यसैगरि हिमालय आधारभूत, मालिका आधारभूत, अमरसिंह आधारभूत, अन्नपूर्ण आधारभूत, देउराली आधारभूत र धौलागिरी आधारभूत विद्यालयमा रु ५० /५० हजार राशीको अक्षयकोष स्थापना गरिएको छ ।


सहयोगदाता क्षेत्रीले आइतवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा रहेको प्रभु बैँक मार्फत सम्बन्धित विद्यालयको मुद्धती खातामा जम्मा हुने गरि अक्षयकोषको रकम समेत हस्तान्तरण गर्नुभएको छ । सो अवसरमा सहयोगदाता क्षेत्री र विद्यालयका प्रधानध्यापकहरुबिच अक्षयकोषको परिचालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ । कोषको व्याज रकमबाट बार्षिक रुपमा विद्यालयका अनाथ, विपन्न र गरिब बालबालिकाहरुलाई छात्रवृत्ती प्रदान गर्ने प्रवन्ध मिलाईएको छ ।

ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा अध्ययनरत गरिब, विपन्न र अनाथ बालबालिकाहरुको शिक्षामा सहजता ल्याउन आफुले अक्षयकोष स्थापना गरेको सहयोगदाता क्षेत्रीले बताउनुभयो । क्षेत्रीले यसअघि ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाको लागि समेत रु ५० हजारको मुद्धती कोष स्थापना गरिदिनुभएको थियो ।