म्याग्दीका ४७ सय किशोरीलाई एचपिभी खोप
- १८ माघ २०८१, शुक्रबार
- 1 पटक पढिएको
बेनी, १६ माघ । म्याग्दीका चार हजार सात सय ६१ किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाउने तयारी भएको छ । यही माघ २२ देखि २९ गतेसम्म जिल्लाका छ वटै स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको प्रादेशिक जनस्वास्थ्य कार्यालय म्याग्दीले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यालयका प्रमुख भुवन ठकुराठीले कक्षा ६ देखि १० सम्मका चार हजार छ सय ८८ जना छात्रा र विद्यालय नजाने ७३ जना १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई यो खोप लगाउने लक्ष्य रहेको जानकारी दिनुभयो । बेनी नगरपालिकामा एक हजार आठ सय ६८, मालिकामा आठ सय २९, धवलागिरीमा छ सय आठ, मङ्गलामा पाँच सय ६४, रघुगङ्गामा चार सय ९५ र अन्नपूर्णमा तीन सय ९७ जना किशोरीलाई खोप लगाइने उहाँले बताउनुभयो ।
खोप लगाउनका लागि एक सय तीन वटा विद्यालय र ३८ वटा स्वास्थ्य संस्थामा खोप केन्द्र छनौट गरिएको छ । छ वटै स्थानीय तहमा खोप समन्वय समितिको बैठक सम्पन्न भएको, वडा स्तरमा बैठक बसेर योजना निर्माणको क्रम चलिरहेको, जिल्ला सदरमुकाममा आएको खोप पालिका हुदै वडामा पठाउन थालिएको र प्रचारप्रसार तिब्र पारिएको ठकुराठीले बताउनुभयो । विश्वमा वार्षिक साढे पाँच लाख महिला प्रभावित हुने पाठेघरको मुखको क्यान्सरबाट नेपालमा प्रतिवर्ष एक हजार तीन सय १३ जनाले ज्यान गुमाउने गरेका छन् ।
असुरक्षित यौन सम्पर्क पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण हो । यौन सम्पर्कपछि योनीबाट रगन आउने, तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, योनीबाट अनियमित रुपमा रगत बग्ने, धेरै रगत बग्ने, रक्तअल्पता हुने, कमजोर महशुस हुने पाठेघरको मुखको क्यान्सरका लक्षण र चिन्हहरु हुन् । एचपिभी खोप लगाएपछि पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिने कार्यालय प्रमुख ठकुराठीले बताउनुभयो ।
नौ वर्षअघि कास्की र चितवनका किशोरीहरुलाई एचपिभी खोप लगाइएको थियो । यो खोप विश्वका धेरै देशमा प्रभावकारी भएको बताउदै उहाँले नेपालमा आगामी वर्षदेखि सरकारले एचपिभीलाई नियमित खोप कार्यक्रममा समावेश गरेको बताउनुभयो । किशोरीहरुलाई खोप लगाउनुका साथै पाठेघरको मुखको क्यान्सरका बिरामी पहिचान गर्न सरकारले बस्ती स्तरमा शिविर सञ्चालन गर्दै आएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा म्याग्दीका नौ सय ७९ जनाको पाठेघरको मुखको क्यान्सर परिक्षण गरिएकोमा १६ जना बिरामी भेटिएका थिए । यस वर्षको छ महिनाको अवधीमा छ सय ४४ जनाको परिक्षण गर्दा बेनी नगरपालिकामा दुई र मंगला गाउँपालिकामा दुई जना पाठेघरको क्यान्सरका बिरामी पहिचान भएका छन् । अन्तरक्रिया कार्यक्रमका सञ्चालन प्रादेशिक जनस्वास्थ्य कार्यालय म्याग्दीका बरिष्ठ प्रशासन सहायक भावना शर्माले गर्नुभएको थियो ।