म्याग्दी सहकारीको १७ औँ साधारणसभा : ४२ करोड बढी लगानी
- ११ पुष २०८१, बिहीबार
- 39 पटक पढिएको
राजधानीको गोंगबुचोकमा कार्यालय रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि. को १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै सहकारीका संस्थापक अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजाले काठमाण्डौमा म्याग्देलीहरुको पहिलो वित्तिय संस्थाको रुपमा स्थापित म्याग्दी सहकारीले स्थापनाको औचित्य पुष्टि गरेको बताउनु भयो । अहिले विभिन्न सहकारीहरुमा बचत फिर्ता र कर्जा असुली नुहनुका कारण समस्यामा देखिएको अवस्थामा म्याग्दी सहकारी सहज र सुरक्षितरुपमा संचालन भएको उहाँको भनाई थियो । कार्यक्रममा संस्थाका बरिष्ठ सल्लाहकार डा.ज्योति शेरचनले म्याग्दी सहकारी सबैलाई चिन्न पाउने वित्तिय चौतारी बनेको बताउनुभयो। संस्थाका सहकारी परामर्शदाता तथा सहकारी अभियन्ता डिल्लीराम तिवारीले स्थापनाको १८ वर्षमा सदस्यहरुले देखाएको सक्रियता स्रहानिय रहेको बताउनुभयो । सोहि सभालाई शुभकामना मन्तव्य दिनुहुँदै धौलागिरी सहकारी समुहका संयोजक यामबहादुर श्रेष्ठ र राष्ट्रिय सहकारी बैंक लि. गोंगबु शाखाका प्रबन्धक विष्णु गिरीले अहिलेको चुनौतिपूर्ण अवस्थामा पनि म्याग्दी सहकारीको वित्तिय अवस्था राम्रो हुनु सहकारी क्षेत्रका लागि पनि स्वागत योग्य भएको बताउनु भयो । कार्यक्रममा बचत तथा ऋणमा उत्कृष्ट योगदान दिने सदस्यहरु मिरु गुरुङ्ग, कर्णबहादुर घर्ति र लिलमाया छन्त्याललाई सम्मान गरिएको थियो भने रु एक लाख भन्दा बढिको शेयर खरिद गर्नु भएका १२ जना नयाँ सदस्यहरुलाई शेयर प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा म्याग्देली नवप्रतिभावन तथा लोकप्रिय गायक प्रकाश दुतराजलाई छोटो समयमा लोगगीत क्षेत्रमा उदयीमान गायककोरुपमा स्थापित भएकोमा प्रतिभा सम्मान पत्र प्रदान गरिएको थियो । सोहि अवसरमा बरिष्ठ लोक गायक खड्ग गबुर्जा, प्रकाश दुतराज र राजन भुजेलले लोकगीत प्रस्तुत गर्नु भएको थियो भने अन्य बाल कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष थदेवी पुनको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन कार्यकारी प्रमुख दिपबहादुर छन्त्यालले तथा स्वागत उपाध्यक्ष धनलाल जैसीले गर्नु भएको थियो भने अध्यक्षकोतर्फबाट प्रबन्धक विष्णुप्रसाद पौडेलले वार्षिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिकोतर्फबाट संयोजक चित्रबहादुर पुनले संछिप्त विवरण प्रस्तुत गर्नु भएको थियो । १७९३ जना सदस्य संख्या रहेको यस संस्थाले आर्थिक वर्ष २०८०/८१ मा संस्थाको शेयर पूजी ७ करोड ९२ लाख तथा कुल बचत ४३ करोड ३४ लाख र कर्जा लगानी ४२ करोड ५० रहेको छ भने शेयर लाभांश वितरणका लागि ३८ लाख १३ हजार तथा पूँजीफिर्ता कोषमा १९ लाख ६८ हजार र जगेडा कोषमा २६ लाख २४ हजार रुपैयाँ बाँडफाँड गर्ने प्रस्तावलाई पारित गरेको छ ।
त्यसैगरी यस संस्थाको साधारणसभाले ओमदेवी मल्लको नेतृत्वमा निर्वाचित राष्ट्रिय सहकारी महासंघका पदाधिकारी तथा सदस्यहरु र चन्द्रप्साद ढकालको नेतृत्वमा निर्वाचित नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी (नेफस्कुन) का पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिएको छ।