भगवतीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सुरु (तस्बिर/भिडियो सहित)
- १४ मंसिर २०८१, शुक्रबार
- 31 पटक पढिएको
कमल खत्री
म्याग्दी , १४ मङ्सिर ।
म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । रघुगंगा गाउँपालिका र नेलम्बो नेपाल, पोखराको आयोजनामा तीन दिने स्वास्थ्य शिविर आजदेखि सुरु भएको हो । भगवती स्थित मुक्तिधान माध्यमिक विद्यालयमा आयोजित शिविरमा विशेषज्ञ सहितको चिकित्सक र स्वास्थ्यकर्मीहरुले सर्वसाधारणलाई स्वास्थ्य परिक्षण तथा औषधि उपचार सेवा प्रदान गर्नुभएको छ ।
शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य, चिकित्सकहरु विनोद बराल, विशाल सापकोटा, मनिसा बराल, दिक्षा क्षेत्री सहित २० जना बढीको स्वास्थ्यकर्मीहरुको टोलीले विरामी र सर्वसाधारणको स्वास्थ्य परिक्षण तथा उपचार गर्नुभएको छ । तीन दिनसम्म सञ्चालन हुने शिविरमा गाउँपालिकाको वडा नम्बर १ देखि ८ सम्मकै सर्वसाधारणलाई स्वास्थ्य परिक्षण र उपचार सेवा लिने प्रवन्ध मिलाईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, भौगोलिक रुपमा टाढा रहेका वडा नम्बर ४, ५, ६, ७ र ८ का सर्वसाधारणलाई शिविरमा ल्याएर स्वास्थ्य उपचार लिनका लागि वडाको समन्वयमा यातायातको प्रवन्ध समेत मिलाईएको छ । शिविरमा हाडजोर्नी तथा नशा, छाला, सामान्य चिकित्सा, स्त्रिरोग, नाक, कान घाँटी सम्बन्धी समस्या, दन्त परिक्षण तथा दाँत रोगसम्बन्धी सम्पूर्ण उपचार सेवा प्रदान गरिने नेलम्बो नेपालका कार्यक्रम अधिकृत भिमप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार, भिडियो एक्सरे, ईसिजि, ल्याब परिक्षणको सेवासंगै विरामीलाई आबश्यक पर्ने औषधी निःशूल्क वितरण गर्न थालिएको छ ।
शिविरमा विहानैदेखि सर्वसाधारणको भिड लागेको छ । गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पाउने भएपछि सर्वसाधारण खुसी भएका छन् । चिकित्सकबाट स्वास्थ्य उपचार सेवा लिन गाउँ छाडेर सदरमुकाम बेनी, बागलुङ, पोखरा पुग्नुपर्ने बाध्यता शिविरले हटाएको शिविरमा स्वास्थ्य उपचार गर्न आउनुभएका रघुगंगा गाउँपालिका– २ भगवतीका ८६ बर्षिय लेठबहादुर खत्रीले बताउनुभयो । शिविरमा सर्वसाधारणको भिड लागेपछि नाम दर्ता गरेर पालैपालो स्वास्थ्य उपचार सेवा लिने व्यवस्था गरिएको छ । प्रहरी, जनप्रतिनिधि, रेडक्रसकर्मी, विद्यार्थी र शिक्षकहरुले स्वंसेवकको रुपमा सेवा लिन आएका सर्वसाधारणलाई सहजिकरण गर्ने र सहज रुपमा सेवा लिने वातावरण बनाइएको रघुगंगा गाउँपालिका– २ का वडा अध्यक्ष अमृत भण्डारीले जानकारी दिनुभयो ।
शिविरको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी र उपाध्यक्ष प्रेमकुमारी पुनले उद्घाटन गर्नुभएको हो । शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले अधिकाँश स्वास्थ्य समस्याको एउटै ठाउँबाट उपचार गराउने अवसर दिनका लागि शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले गाउँ गाउँमा विशेषज्ञ स्वास्थ्य सेवा दिनका लागि गाउँपालिकाले हरेक बर्ष स्वास्थ्य शिविर आयोजना गर्ने जानकारी समेत दिनुभयो ।
शिविरमा रघुगंगा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले समेत विरामीहरुको स्वास्थ्य परिक्षण र उपचारमा सघाएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक टिकाबहादुर शाहीले जानकारी दिनुभयो ।