भगवती कोत मन्दिरमा राँगोको मार हान्न ४ लाख ७१ हजार रुपैयाँको बोलकबोल !

  • २४ आश्विन २०८१, बिहीबार
  • 1 पटक पढिएको

म्याग्दी ,२५ कात्तिक  ः  म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) चार लाख ७१ हजार रुपैयाँको बोलकबोल भएको छ ।
विहिवार राती भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । ४५ मिनेटको समय सिमामा सुरु भएको बढीबढाउमा सहभागी तीनजनाको प्रतिस्पर्धामा रघुगंगा गाउँपालिका– ३ अक्षेताका सोवित भण्डारीले सबैभन्दा धेरै रु ४ लाख ७१ हजार रुपैयाँ रकम तिर्ने कबोल गरेर सरकारी मार हान्न छनौट हुनुभएको भगवती कोत मन्दिर पुजा व्यवस्थापन समितिले जनाएको छ ।

बढीबढाउको अन्तिम समयमा भगवतीका रमेश कटुवाल र अक्षेताका भण्डारीबिच बोल रकममा तिब्र प्रतिस्पर्धा भएपछि समितिले तीन मिनेटको समय दिएर अन्तिम पटकका लागि लेखेर रकम बोल्न लगाएकोमा भण्डारीको तर्फबाट बढिबढाउमा सहभागी लक्ष्मण भण्डारीले सबैभन्दा धेरै रकम कबोल गर्नुभएको थियो । सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्तिलाई नै सरकारी मार हान्न दिने परम्परा अनुसार नवमिको मार हान्ने व्यक्तिको टुंगो लगाईएको भगवतीका वडा अध्यक्ष अमृत भण्डारीले जानकारी दिनुभयो ।

यसअघि गत बर्षको नवमिमा एकेन्द्र भण्डारीले सबैले भन्दा धेरै ३ लाख ३० हजार रुपैयाँ रकम तिरेर सरकारी मार हान्नुभएको थियो । यस क्षेत्रकै शक्तिपिठ मानिने भगवती कोतमा यस अघि २०७९ सालको नवमीमा रु ३ लाख १५ हजार, २०७८ सालको दशैँको नवमीमा भगवतीमा रु ३ लाख, २०७६ सालको दशैँमा २ लाख ८० हजार रुपैयाँमा सरकारी मारको बढीबढाउ भएको थियो । नवमीको दिन बली दिईने राँगो मार हान्ने व्यक्तिहरुको मनोकाँंक्षा पूरा हुने जनविश्वासका कारण आकाँक्षीहरु धेरै हुने भएकाले खुला बढीबढाउ मार्फत छनौट गरिँदै आईएको भगवती कोतमन्दिर पुजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।

भगवती कोत मन्दिरमा कालरात्रीको राति कोटमन्दीरमा सर्वसाधारणको बिचमा खुल्ला बोलकबोल गर्ने परम्परागत चलन रहेको छ । यो क्षेत्रकै ऐतिहासिक कोत मन्दीर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ ।
तत्कालिन बाइसे÷चौबिसे राज्यकालदेखी यहाँको कोतमन्दीरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ । नवमिका दिन कोत मन्दिरमा सरकारी मार हानेपछी पुजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरुले सरकारी मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गर्ने चलन रहेको छ । यहाँ सरकारी मार हान्न हुने बोलकबोल नेपालकै सबैभन्दा धेरै रहेको मानिएको छ ।