अमर माविका शिक्षकहरुद्धारा कोरला नाकाको अध्ययन अवलोकन

  • २४ आश्विन २०८१, बिहीबार
  • 133 पटक पढिएको

 

म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयका शिक्षक कर्मचारीहरुले कोरला नाकाको अध्ययन अवलोकन भ्रमण गरेका छन् । नेपाल चीन सीमा क्षेत्र कोरोला नाकामा पुगेको दुई देश बिचको नाका सञ्चानको अवस्था, सम्भावना र निर्माण भैरहेको पूर्वाधारको अध्ययन अवलोकन गरिएको विद्यालयले जनाएको छ ।

बेनी–जोमसोम सडकखण्डमा पर्ने रुप्से झरना, संसारकै गहिरो अन्ध गल्छी संगै मुस्ताङका प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ क्षेत्रको अवलोकन गर्दै माथिल्लो मुस्ताङको विभिन्न क्षेत्रहरुको अवलोकन पश्चात् अन्तिम गन्तव्यको रुपमा कोरोला नाकामा पुगी करिब तीन दिनमा बेनी फर्किएको विद्यालयका प्रअ पृथबहादुर थापाले जानकारी दिनुभयो ।

अवलोकनका क्रममा मुस्ताङ जिल्ला भौगोलिक तथा साँस्कृतिक रुपमा साच्चिकै नेपालको फरक महत्व बोकेको जिल्ला रहेको तर पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न ठाउँठाउँमा होडिङ बोर्ड राख्नुपर्ने साथै दोबाटाहरुमा लोकेशन प्रष्ट पार्नका लागि डिरेक्सन बोर्ड राख्नुपर्ने अवस्था रहेको पाइएको छ । विषेश गरि विश्वकै गहिरो अन्ध गल्छी अवलोकन गर्नका लागि बाटो नभएको र प्रचारप्रसार समेत नभएकाले त्यसमा जुट्नुपर्ने आवश्यकता औल्याउँदै हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङ जिल्लाको विकासले आफुहरु मोहित भएको भ्रमण टोलीका सदस्य तथा अमर माविका शिक्षक होमनाथ शर्माले जानकारी दिनुभएको छ । उहाँका अनुसार भ्रमणको क्रममा स्थानीयले उत्पादन गरेको स्याउ बोटमै गएर टिपेको अनुभव सुनाउँदै मुस्ताङमा कृषकले रु एक सयमा बिक्री गर्ने गरेको स्याउ बेनीको बजारमा रु २०० मा बिक्री गर्नुपर्ने अवस्था आउनु दुःखद भएको र यसमा सरकारले यसको नियमन गर्नुपर्ने साथै ढुवानी र बजारीकरण गर्नका लागि सरकारले प्रबन्ध गर्नुपर्ने देखिएको उहाँको भनाई छ । अध्ययन अवलोकन भ्रमणले नेपाल चिन सिमाना र म्याग्दी र मुस्ताङका पर्यटीय तथा धार्मिक स्थलहरुको बारेमा विद्यालयमा पठनपाठन गराउन सहज हुने र वास्तविक ज्ञान प्रदान गर्न सघाउ पु¥याउने विद्यालयले जनाएको छ ।