ऐतिहासिक भगवती कोतमा देवी भागवत महायज्ञ सूरु

  • १७ आश्विन २०८१, बिहीबार
  • 585 पटक पढिएको

म्याग्दी , १७ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका– २ मा अवस्थित राखु भगवती कोत मन्दिरमा देवी भागवत महायज्ञ सुरु भएको छ । धार्मिक ऐतिहासिक स्थलको रुपमा परिचित भगवती कोतको धार्मिक, पर्यटकीय र साँस्कृतिक महत्व उजागर गर्नुका साथै भगवती कोत मन्दिरमा रहेका मठ मन्दिरहरुमा दैनिक धुपवत्ति, पूजापाठको प्रवन्ध मिलाउन अक्षयकोष स्थापना गर्ने उदेश्यले महायज्ञ आयोजना गरिएको हो ।
विहिवार घटस्थापनादेखि सुरु भएको महायज्ञ असोज २३ गतेसम्म सञ्चालन हुने महायज्ञका मुल संयोजक देवेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । ऐतिहासिक कोत मन्दिरको भौतिक पूर्वाधार विकास तथा धार्मिक र साँस्कृतिक महत्वको उजागर गर्न महायज्ञले सहयोग पुग्ने उहाँको भनाई छ ।
कलश यात्रा सहित धार्मिक विधिपूर्वक सुभारम्भ गरिएको महायज्ञको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य खमबहादुर गर्वुजाले धार्मिक क्षेत्रको विकासले समाजमा एकता र सदभाब कायम हुनुको साथै पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्ने बताउनुभयो । उहाँले भगवती कोत मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन महायज्ञले सहयोग पुग्ने बताउँदै यस क्षेत्रको विकासमा आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य हरि भण्डारी, निवर्तमान गण्डकी प्रदेश सभा सदस्य विनोद केसी, निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी, रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, वडा अध्यक्ष अमृत भण्डारी लगायतले भगवती कोत मन्दिरलाई मौलिक स्वरुपमा पुननिर्माण गरेपछि पर्यटकीय आकर्षण बढेको बताउँदै मन्दिरमा नियमित पूजारीको व्यवस्था गर्न महायज्ञले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
महायज्ञमा पण्डित कमलनयन गौतम र भिमलाल भट्टराईले संगीतमय प्रवचन दिनुभएको छ । महायज्ञमा विभिन्न साँस्कृतिक झाँकी समेत प्रदर्शन गरिनेछ । भगवती कोत मन्दिर परिसरमा सञ्चालन भएको महायज्ञबाट संकलन हुने दान रकमलाई अक्षयकोषको रुपमा खडा गरेर मन्दिरमा पुजारीको व्यवस्थापन गरी नियमित रुपमा पुजापाठको व्यवस्था गरिने महायज्ञका सह–संयोजक नरबहादुर भण्डारीले जानकारी दिनुभयो ।
१७ औँ शताब्दीको विरासतसँग इतिहास जोडिएको भगवती कोत मन्दिर तत्कालिन राखु भगवती र राखु पिप्लेकोे साझा कोतको रुपमा चिनिदै आएको छ । १५ आँै सताब्दीको अन्त्य र १६ औँ सताब्दीको सुरुवातको समयमा पर्वतका राजा प्रतापिनारायण मल्लले पाल्पाका राजा मुकुन्द शेनको छोरी विवाह गरि ल्याउँदा माझका देवीलाई बागलुङ चौरमा देवीको स्थापना गरेका कारण सोही कालखण्डमा राखुमा भगवतीको मन्दिर स्थापना भएको मान्यता छ । महायज्ञ उद्घाटन समारोहको सञ्चालन शिक्षक रामजी भण्डारीले गर्नुभएको थियो ।