समयमै पारिश्रमिक दिने सहमतीपछि राहुघाट जलविद्युतका मजदुरको हडताल फिर्ता

  • २२ भाद्र २०८१, शनिबार
  • 255 पटक पढिएको

म्याग्दी, २२ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा मजदुरले गरेको हडताल फिर्ता भएको छ । समयमै तलबको माग गर्दै शुक्रवारदेखि मजदुरहरुले काम रोकेर हडताल गरेका थिए । आयोजनाको सिभिल ठेकेदार जयप्रकाश (जेपी)एशोसिएट्सले समयमै तलब नदिएको भन्दै मजदुरहरुले शुक्रवार आयोजनाको काम रोकेर आन्दोलन गरेका हुन्।
मजदुरहरुलाई समयमै पारिश्रमिक दिने सहमती भएपछि हडताल फिर्ता लिएर काम सुचारु गरिएको छ ।

शुक्रवार साँझ मजदुर र निर्माण कम्पनीका प्रतिनिधिहरुबिच भएको छलफलमा समयमै पारिश्रमिक दिने प्रतिबद्धता भएपछि मजदुरहरुले दिनभर रोकेको काम सुचारु गरेका थिए । आयोजनाको सिभिल ठेकेदार कम्पनी जेपी एशोसिएट्सका प्रशासन विभागका बरिष्ठ व्यवस्थापक राम सिंहले विगतमा हरेक महिनाको तबल अर्को महिनाको १५ तारीकमा दिने गरिएकोमा यस पटक एक महिनाको तलब भुक्तानी गर्न ढिलाई भएको बताउनुभयो । शुक्रवार जुलाइ महिनाको तलब भुक्तानी गरिएको र अगष्ट महिनाको आगामी २० तारीकभित्र पारिश्रमिक भुक्तानी गर्ने सहमती भएपछि मजदुरहरुले आंशिक रुपमा रोकेको काम पूर्ण रुपमा सूचारु गरेको उहाँको भनाई छ । ‘‘मजदुरहरुले तीन महिनाको तलब नपाएको भनेको सुने, एक महिनाको तलब दिन मात्रै ढिलाई भएको हो, त्यो समस्या समाधान भैसकेको छ, मजदुरहरु पनि सबै काममा फर्किएका छन्, हामीले मजदुरलाई समयमै पारिश्रमिक दिने प्रबन्ध गर्दै आएका छौँ’’– सिंहले भन्नुभयो ।

जेपी एशोसिएट्सले यस आयोजनमा नेपाली र भारतीय गरी करिब साढे ७ सय मजदुर परिचालन गरेको जनाएको छ । आगामी १ बर्ष भित्र आयोजनाको निर्माण कार्यलाई सम्पन्न गर्ने गरी कम्पनीले स्रोत, सधान र जनशक्ति परिालन गरेको जनाएको छ । राहुघाट जलविद्युतको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको छ भने इलेक्ट्रिकलतर्फ भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले ठेक्का लिएको छ । यस आयोजनाको ६ हजार दुईसय ७० मिटर लामो मुख्य सुरुङ गत साउनमा छिचोलिएको थियो । भारतीय आयात–निर्यात –एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्ससँग २०७४ मङ्सिरमा सम्झौता भएको थियो । अहिले सुरुङलाई कंकिट गर्नुको साथै बाँध र विद्युतगृहको पूर्वाधार निर्माणको काम भइरहेको छ ।