मिना परियार हत्या प्रकरणः प्रेमिका भनिएका राम खत्री सहित पाँच जना विरुद्ध मुद्धा दायर

  • २१ भाद्र २०८१, शुक्रबार
  • 1021 पटक पढिएको

म्याग्दी ,२१ भदौ । म्याग्दीको बेनी नगरपालिका–९ घतानकी १९ बर्षिया मिना परियारको हत्या प्रकरणमा पाँच जना विरुद्ध जिल्ला अदालतमा मुद्धा दायर गरिएको छ । गत पुस १६ गते घरबाटै वेपत्ता भएकी मिनाको साउन २७ गते घतानकै आँखेत कालीमुलको जंगलमा हत्या गरेर गाडेको अबस्थामा सडेगलेको अवस्थामा शब फेला परेको थियो ।

 

 

परियारको हत्या गरेको कसुरमा उनका प्रेमी भनिने बर्ष २१ का राम खत्री सहित उनका घरपरिवारका सदस्य र आफन्त समेत गरेर पाँच जनालाई ज्यान मार्ने सम्बन्धी कसुरमा मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो । शुक्रवार घटनामा संलग्न भएका सबैको बयान सकेर आबश्यक प्रमाणहरु जुटाएर जिल्ला अदालतमा मुद्धा दायर भएपछि प्रहरीले पत्रकार सम्मेलन गरेर हत्या प्रकरणमा भएको अनुसंधानको विवरण सार्वजनिक गरेको हो ।


पीडितको परिवारबाट परेको किटानी जाहेरीको आधारमा पक्राउ परेका राम खत्री सहित रेनु खत्री, बिक्की खत्री, रोजन खत्री र श्याम खत्रीलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को दफा १७७ को मागदावी सहित जिल्ला सरकारी वकिल कार्यालय मार्फत अदालतमा मुद्धा पेश गरिएको प्रनाउ श्रेष्ठले बताउनुभयो ।
विवाहित पुरुष राम खत्री र अविवाहित १९ बर्षिया मिना परियारबिच प्रेम सम्वन्ध हुँदै मिना करिब ६ महिनाको गर्भवती भएपछि आफुहरुबिचको सम्बन्धलाई अन्त्य गर्न रातको समयमा हत्या गरेर जंगलमा लगेर गाडेको खत्रीले सरकारी वकिल समक्ष बयान दिएका छन् । अन्तरजातिय प्रेम सम्बन्धबाट गर्भ समेत रहन गएपछि उनीहरुबिच खटपट भएको उनीहरु दुई जनाबिच म्यासेन्जर कुराकानीमा भेटिएको थियो ।
गत बर्षको पुस १६ गते आफ्नै घरबाट वेपत्ता भएकी परियारको खोजतलास गर्दा समेत अत्तोपत्तो नभएपछि घररिवारले उनैका प्रेमी भनिएका राम खत्री विरुद्ध व्यक्ति वेपत्ता पार्ने विरुद्धको कसुरमा जाहेरी दिएका थिए । उक्त कसुरमा खत्रीलाई जिल्ला अदालतले फागुन १७ गते मुद्धा पुर्पक्षका लागि कारागार चलान गरेको थियो । अहिले गाउँमै वेपत्ता परियारको सब जंगलमा गाडेको र सडेगलेको अवस्थामा फेला परेपछि खत्रीलाई कारागारबाट झिकाएर हत्या अभियोगमा बयान लिइएको थियो ।
पटक पटकको बयानमा हत्या आरोप स्विकार नगरेपछि प्रहरीले अनुसंधानको क्रममा पोलिग्राफ परिक्षण र कल डिटेल र डिएनए परिक्षण समेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजन रायमाझिले जानकारी दिनुभयो । हत्याका मुख्य अभियुक्त राम खत्री यस अघि २०७६ साल फागुनमा बेनी नगरपालिका–५ पुलाडाँडामा भएको घटनामा ज्यान मार्ने उद्योगमा ४२ दिन हिरासत बसेर नाबालक भएकाले हिरासतमुक्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ्मिनाको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बेनीमा दलित अधिकारकर्मीहरुले निरन्तर आन्दोलन गर्दै आएका थिए ।