मिस नेपालको ग्राण्ड फिनाले आज, म्याग्दीकी ललिता शेर्बुजा उपाधी प्रतिस्पर्धामा
- १९ श्रावण २०८१, शनिबार
- 131 पटक पढिएको
यसवर्षको मिस नेपालको ग्राण्ड फिनाले आज बेलुका आयोजना हुँदैछ । गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने प्रतियोगिताको उपाधिका लागि २६ जना फाइनलिस्ट सुन्दरी भिड्दैछन् । राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२४’ को उपाधि प्रतिस्पर्धामा म्याग्दीकी ललिता शेर्बुजा समेत पुग्नुभएको छ । फाइनलमा पुगेका प्रतिस्पर्धीहरुलाई उनीहरुको प्रस्तुतीको आधारमा निर्णायकको मुल्यांकन र भोटिङ मार्फत प्राप्त भोटका आधारमा उपाधीको छिनोफानो हुनेछ ।
यस वर्षको मिस नेपालको उपाधि जित्ने प्रतिस्पर्धीले मिस नेपाल–२०२३ की विजेता सृच्छा प्रधानबाट ताज पहिरिनेछिन् । मिस वर्ल्ड, मिस अर्थ र मिस इन्टरनेसनलका तीन मुख्य विधाको उपाधिका लागि प्रतिस्पर्धा हुन लागेको हो । यसबाहेक ११ सहविधा पनि सामेल छन् । मिस नेपालको फाइनल प्रतिस्पर्धामा पुग्नुभएकी शेर्बुजा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोला घर भई हाल अध्ययनको शिलसिलामा अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएको थियो ।
शेर्वुजालाई मिस नेपालको उपाधी दिलाउन म्याग्देलीहरुले स्वदेश तथा विदेशबाट भोटिङ अभियान सञ्चालन गरेका थिए । जिल्लामा नेपाल मगर संघ जिल्ला समन्वय समितिले बेनी बजारमा घरदैलो नै गरेर भोट गर्न अपिल गरेको पियो । पोखरा, काठमाण्डौ लगायतका ठाउँमा रहेका म्याग्देली संगै प्रवासमा रहेका म्याग्देलीहरुले समेत शेर्वुजा जिताउ अभियान चलाएका थिए । म्याग्दी प्रवासी नेपाली संघ( मोना) अन्तराष्ट्रिय देखि विभिन्न मुलुकमा रहेका मोनाका राष्ट्रिय कार्यकारी समितिहरुले समेत भोटिङ अभियान चलाएका थिए। शेर्बुजाले म्याग्दी कला, सस्कृति र चिनारीलाई चिनाउन आफु लागिपर्ने प्रतिबद्धता जनाउँदै मिस नेपालको ताज जितेर म्याग्दीको नामलाई विश्वमाझ चिनाउने इच्छालाई साकार पार्न भोट गरेर सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरु र नेपालीलाई आह्वान गर्नुभएको थियो ।