गलेश्वरमा एकै दिन तीन लाख ७२ हजार बढी भेटी संकलन

  • ८ श्रावण २०८१, मंगलवार
  • 295 पटक पढिएको

म्याग्दी , ८ साउन । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा एकै दिनमा रु ३ लाख ७२ हजार बढी भेटी संकलन भएको छ । साउन महिनाको पहिलो सोमबार गलेश्वर शिवालयमा दर्शन तथा पुजाआजाका लागि आएका भक्तजनहरुबाट रु ३ लाख ७२ हजार ३७२ भेटी रकम संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिब बलबहादुर खत्रीले जानकारी दिनुभयो ।  
मंगलवार विहान कोषका पदाधिकारी, सुरक्षा निकाय र स्थानीय सरोकारवालाहरुको रोहोवरमा मन्दिरमा संकलन भएको भेटी रकम गणना गरिएको थियो । साउन महिनाको पहिलो सोमबार गलेश्वर शिवालमया आएका २० हजार बढी भक्तजनले मन्दिर, दानपेटिका, कुण्ड, शिबलिङ्ग लगायतका ठाउँमा चढाएको भेटी रकमलाई कोषले गणना गरेर बैँक खातामा जम्मा गरेको जनाएको छ ।
गलेश्वर शिवालयमा संकलन हुने भेटी रकमलाई सरोकारवालाहरुको रोहोवरमा गणना गरी कोषको बैँक खातामा जम्मा गरिने र आबश्यकता अनुसार धार्मिक संरचना र पूर्वाधार निर्माण तथा कोषको नियमित सञ्चालनको क्षेत्रमा उपयोग गरिँदै आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव प्रसाद रेग्मीले जानकारी दिनुभयो ।
कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलीएको एउटै चट्टान माथी अवस्थित गलेश्वरमा सतिदेवीको गला पतनभएको धार्मीक शास्त्रहरुमा उल्लेख छ । साउन महिनाको सोमबार, शिवरात्री र बालाचर्तुदर्शीमा बिशेष मेला लाग्ने गलेश्वरमा पुजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास छ ।