कृषि सहकारीको योगदान : ‘दुधबाट आत्मनिर्भर बन्दै किसान’
- ३१ जेष्ठ २०८१, बिहीबार
- 241 पटक पढिएको
म्याग्दी , ३१ जेठ । बेनी नगरपालिका– ४ सोताका सर्वलाल थापाले दुई वटा भँैसी पाल्नुभएको छ । गाउँमा सामान्य खेती किसानी गर्ने थापाको परिवारको आम्दानीको स्रोत भैँसीको दुध विक्रिबाट हुने कमाई नै हो । घरमा उत्पादन हुने दुध सिंगामा रहेको शुभकामना कृषि सहकारी संस्थामा विक्रि गर्दै आएको कृषक थापाको भनाई छ । थापा मात्रै होइन सोता गाउँमा रहेका १९ घरमध्ये अधिकाँशले भैँसी पालेर सहकारीमा दुध विक्रि गर्दै आएका छन् ।
‘‘ गाउँमा अधिकाँशको घरमा दुई देखि तीन वटा भैँसी छन्, विहान बेलुका नै सहकारीमा लगेर दुध विक्रि गर्छौ, दुधबाट हुने आम्दानीले नै घरखर्च चल्ने गरेको छ, कृषि सहकारीले दुध खरिद गर्ने भएपछि थोरै–धेरै जति दुध पनि विक्रि गर्न पाउने सुविधा भएको छ’’– कृषक थापाले भन्नुभयो । बेनी नगरपालिका– ४ सिंगामा रहेको यस सहकारीले वि.स.२०७५ सालदेखि कृषकहरुको दुध खरिद गर्ने र बजारीकरण गर्दै आएको छ । ग्रामीण शहरीकरणको रुममा विकास भैरहेको सिंगामा सहकारीले कृषकहरुको दुध खरिद गर्ने सुविधा भएपछि सिंगा, सुर्केमेला, राक्से, ठूलोखोला, सोता, बाझरा लगायतका टोलमा भैँसीपालन गरेर स्थानीयले दुधबाट नगद आम्दानी गर्दै आएका छन् । सहकारीमा अहिले दैनिक २५० लिटर बढी दुध संकलन हुने गरेको सहकारीका प्रवन्धक दिपक शर्माले जानकारी दिनुभयो । कृषकहरुबाट संकलन भएको दुधलाई सहकारीले स्थानीय उपभोक्ता र सदरमुकाम बेनी बजारमा विक्रि गर्दै आएको प्रवन्धक शर्माले बताउनुभयो ।
सहकारीमा आबद्ध ८० जना दुग्ध किसानले दुध विक्रिका लागि सहकारीमा खाता खोलेको मध्ये अहिले ३५ जनाले नियमित रुपमा दुध विक्रि गर्दै आएका छन् । विहान र बेलुकाको समयमा सहकारीको दुध संकलन केन्द्रमा दुध ल्याएर आउने किसानहरुको चहलपहल हुने गर्छ । सहकारीले दुधको फ्याट र एसएनएफ ‘मिल्क एनालाइजर मेसिन’मा परिक्षण गरेर दुधको मूल्य निर्धारण गर्दै आएको छ । ‘‘ मेसिनले दिने दुधको फ्याट र एसएनएफको मात्राको आधारमा किसानलाई मूल्य दिने गरेका छौँ, सरदरमा सिकानले प्रतिलिटर रु १०० पाउँछन, एक लिटर देखि १० लिटरसम्म दुध विक्रि गर्ने किसानहरु हुनुहुन्छ’’–प्रवन्धक शर्माले भन्नुभयो ।
उत्पादन भएको दुध घरदैलोमै विक्रि हुने भएपछि यस क्षेत्रका स्थानीय दुधबाट आत्मनिर्भर बन्न थालेका छन् । ४०० जना शेयर सदस्य रहेको यस कृषि सहकारीले अहिले मासिक करिब रु ९ लाखको दुध विक्रि गर्दै आएको छ । हिउँदयाममा दुध उत्पादन धेरै हुने भएकाले दैनिक ३५० लिटरसम्म दुध संकलन हुने गरेको छ । हिउँदमा दुधको माग कम र उत्पादन बढी हुने भएकाले पनिर र कुराउनी बनाएर समेत विक्रि गरिँदै आउको छ । गत आर्थिक बर्षमा सहकारीले रु ९० लाख बराबरको दुध विक्रि गरेको सहकारीका अध्यक्ष गोविन्द प्रसाद पौडेलले जानकारी दिनुभयो । जिल्लामा आबश्यक पर्ने दुधमध्ये २५ प्रतिशत आपूर्ति गर्ने र दुधको मात्रै बार्षिक रु १ करोड ५० लाख बराबरको कारोवार गर्ने लक्ष्य सहित सहकारीले दुध संकलनको क्षमता विस्तार र किसानहरुलाई भैँसीपालनतर्फ प्रोत्साहन गर्ने नीति लिएको अध्यक्ष पौडेलले बताउनुभयो ।
‘‘ हामीले किसानहरुलाई बचत तथा ऋणको कारोवार सेवा पनि दिएका छौँ, विहान र बेलुका दुध संकलन र वितरण गर्छौ, किसानको उत्पादनसंग जोडिएकाले सहकारीको आर्थिक पाटो पनि सकरात्मक छ, बजारमा दुधको मूल्यमा आउने उतार–चढाबले कहिलेकाँही समस्या पर्छ’’– अध्यक्ष पौडेलले भन्नुभयो । दुध विक्रि गर्न ल्याउने किसानलाई मासिक रुपमा सहकारीमै रहेको खातामा पैसा जम्मा गरिदिने र किसानले आबश्यक परेको समयमा झिकेर लैजाने प्रवन्ध मिलाइएको छ । यस सहकारीले किसानलाई व्यावसायिक बनाउन र दुधजन्य उत्पादन बढाउन साना किसान सहकारी विकास आयोजना पोखरासंगको सहकार्यमा ९ प्रतिशत व्याजदरको सस्तो ऋण समेत प्रवाह गर्दै आएको जनाएको छ ।
सिंगामा सहकारीले आफ्नै भवन र व्यावसायिक सटर समेत निर्माण गरेको छ । ६ जना कर्मचारी राखेर सहकारीले बचत तथा ऋण कारोवारसंगै दुध संकलन र वितरण तथा कृषि पेसा अंगालेका शेयर सदस्यहरुलाई तरकारी तथा फलफुलका विरुवा वितरणको काम समेत गर्दै आएको छ । सिंगा संगै सोही वडाको बास्कुना गाउँमा समेत बास्कुना कृषि सहकारी मार्फत किसानहरुले दुध विक्रि गर्दै आएका छन् । यहाँका ५० जना किसानहरु आबद्ध रहेको बास्कुना कृषि सहकारीले दैनिक २५० लिटर दुध संकलन गरेर सदरमुकाम बेनीमा विक्रि गर्दै आएको सहकारीका अध्यक्ष तिलक गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार, दुध विक्रि गरेर गाउँमा भाडाको खर्च कटाएर मासिक रु ६ लाख नगद भित्रने गरेको छ । वडा नम्बर ४ का सिंगा, राक्से, तातोपानी, सोता, बास्कुना लगायतका टोलमा करिब १ सय घरधुरीले भैँसीपालन गरेर दुध विक्रि गर्दै आएको वडा अध्यक्ष अणबहादुर खड्काले बताउनुभयो । सिंगा र बास्कुनामा कृषि सहकारीले दुध संकलन र वितरण गर्दै आएका छन भने तातोपानीमा किसान आफैले दुध विक्रि गर्दै आएका छन् । दुध उत्पादनको पकेट क्षेत्र बनेको यस वडामा वडा कार्यालयले किसानलाई तालिम र अनुदानमा राँगो वितरण गरेको छ । यस बर्ष भैँसी पालक किसानहरुलाई पाँच वटा उन्नत जात र स्थानीय जातको राँगो अनुदानमा वितरण गरिएको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
‘‘ पशुपालन र कृषि दुबैमा सम्भावना छ, उत्पादन भएका उपजको बजारीकरणमा पनि समस्या छैन, कृषि र पशुपालनलाई थप व्यवस्थित र व्यावसायिक बनाउन प्रोत्साहनका कार्यक्रममा हामीले पहल गरेका छौँ’’–वडा अध्यक्ष खड्काले भन्नुभयो । सदरमुकाम बेनीमा दुध आपुर्ति गर्नेमध्येमा सिंगाले ठुलो हिस्सा ओगट्ने गरेको छ । बेनी–दरबाङ सडकखण्डले समेटिएको यस वडाबाट सदरमुकाम बेनीबजार जोड्ने मुख्य सडक कालोपत्रे भएपछि किसानले उत्पादन गरेको दुधजन्य र कृषिजन्य उत्पादनको बजारीकरणमा सहज भएको छ । रासस