बगुवाखोलामा १८हप्ते आइपिएम कृषक पाठशाला सम्पन्न (तस्बिर सहित)

  • २४ जेष्ठ २०८१, बिहीबार
  • 781 पटक पढिएको

म्याग्दी ,२४ जेठ । बेनी नगरपालिका–५ बगुवाखोलाकी कृषक तुलसी थापा बानियाँले परम्परागत तरिकाले गोलभेडा खेती गर्दै आउनुभएको थियो । खेतीको लागि बिउ जमाउनेदेखि विरुवा लगाउने र मलजलको बारेमा राम्रो ज्ञान नहुँदा सोचेजस्तो उत्पादन गर्न भने सक्नुभएको थिएन् । १८ हप्ता लामो एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशालामा सहभागी भएपछि बानियाँले गोलभेडा खेतीको आधारभूत ज्ञान, सीप हाँसिल गर्नुभएको छ ।
‘‘बिउ कसरी जमाउने, कति दिनमा विरुवा लगाउने भन्ने जानकारी थिएन, रोग लागेमा कसरी उपचार गर्ने भन्ने अन्यौल हुने गथ्र्यौ, मलजल र गोडमेलको बारेमा पनि धेरै जानकार थिएनौँ, अब भने आइपिएम पाठशालामा व्यवहारिक अभ्यास मार्फत सम्पूर्ण ज्ञान लिएका छौँ’’–कृषक बानियाँले भन्नुभयो । गत पुस २२ गतेदेखि जेठ २३ गतेसम्म सञ्चालन भएको आइपिएम कृषक पाठशालामा बगुवाखोलाका २५ जनाले सहभागीता जनाएका थिए । १८ हप्तासम्म सञ्चालन भएको उक्त पाठशालामा सोवित शर्मा र क्षेत्रबहादुर कटुवालले प्रयोगात्मक अभ्यास सहित सहजिकरण गर्नुभएको थियो । बुधवार एक कार्यक्रमका बिच उक्त आइपिएम कृषक पाठशालाको कृषक सिकाई तालिमको समापन गरिएको छ । बगुवाखोला आइपिएम कृषक पाठशालाका अध्यक्ष तुलसी थापा बानियाँको अध्यक्षता, वडा अध्यक्ष गोविन्द बानियाँको प्रमुख आतित्यथामा भएको कार्यक्रममा रितु कार्कीले प्रगति विवरण राख्नुभएको थियो भने आरती बानियाँले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष बानियाँ, नगरपालिकाका कृषि शाखा प्रमुख आकृति ढुंगाना, सहजकर्ता सोवित शर्मा लगायतले मन्तव्य राख्नुभउको थियो । उक्त पाठशाला कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्न प्रभाबकारी बनेको छ । दुई वटा टनेलमा सञ्चालन गरिएको आइपिएम कृषक पाठशालामा सहभागी भएकाहरुले हरेक साताको एक दिन न्यूनतम चार घण्टासम्म सामूहिक रुपमा काम गरेर गोलभेडा नै उत्पादन गरेका छन् । बिउ र जग्गाको छनौटदेखि प्राङ्गारिक बाली उत्पादन सम्म प्रयोगात्मक अभ्यास समेतको सिकाई भएकाले आइपिएम कृषक पाठशाला कृषकहरुका लागि उपयोगी बनेको स्थानीय कृषक आरती बानियाँले बताउनुभयो । विषादीरहित कृषि उपज उत्पादन, रोगकिराको नियन्त्रण र उपचारमा स्थानीय स्तरमा हुने जैविक र प्राङ्गारिक मलको प्रयोग गरि स्वस्थवद्र्धक कृषि उपजको उत्पादनमा आइपिएम पाठशाला कृषकहरुको लागि उपयुक्त थलो बनेको छ । पाठशालामा रासायनिक मलको न्यूनिकरण र प्राङ्गारिक कृषि उत्पादनको तरिका, विधि र सीप सिकाइएको सहजकर्ता सोवित शर्माले बताउनुभयो । ‘‘ हामीले यो पाठशालामा गोलभेडा सहित समग्र बाली लगाउने तरिकाबारे कृषकहरुलाई सीप सिकाएका छाँै, बिउ जमाउने, विरुवा लगाउनेदेखि सिचाई र रोगकिरा व्यवस्थापनमा स्थानीय जैविक उपचारको विधि र तरिकापनि सिकाएका छौँ, यसले कम्तिमा रासायनिक मलको प्रयोगलाई नियन्त्रण गर्न र प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिन सघाउने विश्वास लिएका छौँ’’–सहजकर्ता शर्माले भन्नुभयो ।
बगुवाखोला आइपिएम कृषक पाठशाला सञ्चालन गरेपछि सहभागीहरुको प्रयोगात्मक बाली लगाउने अभ्यासका क्रममा दुई वटा टनेल र खुला ठाउँमा समेत विभिन्न जातका गोलभेडाको खेती गरेका छन । कृषकलाई खेतीबालीको स्याहार, रोगकिराको पहिचान र उपचार तथा जैविक मलको प्रयोगको लागि पाठशालाले आधारभूत ज्ञान, सीप र क्षमता विकास गराएको बेनी नगरपालिका–५ का वडा अध्यक्ष गोविन्द बानियाँले बताउनुभयो ।
उहाँले व्यावसायिक रुपमा गोलभेडा खेती गर्ने कृषकहरुलाई अनुदानमा टनेल उपलब्ध गराउन पहल गर्ने बताउँदै आफुले सिकेका ज्ञान, सीप र क्षमतालाई टोल, छिमेकीहरुलाई समेत सिकाउन र स्वस्थ कृषि उपज उत्पादनमा जुट्न आग्रह गर्नुभयो । यस वर्ष बेनी नगरपालिकाले विभिन्न पाँच ठाउँमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन गरेको छ । नगरपालिकाले बगुवाखोला, भकिम्ली, पात्लेखेत, तोरीपानी र जामुनाखर्कमा आलु र गोलभेडा खेतीमा आइपिएम कृषक पाठशाला सञ्चालन गरेको कृषि शाखा प्रमुख आकृती ढुंगानाले जानकारी दिनुभयो ।
उहाँले कृषक पाठशालाले विषादीरहित उत्पादन बढाउन, खेती बालीमा जैविक मलको प्रयोग गर्नुको साथै किसानलाई दक्ष बनाएर स्वस्थ बालीको उत्पादन गर्न प्रेरित गर्ने बताउनुभयो । पाठशालामा कृषकलाई मित्र र शत्रुजीव पहिचान गर्न सिकाएर स्थानीयरुपमा उपलब्ध जैविक मलको प्रयोगमार्फत स्वच्छ उपज उत्पादन गर्न सीप सिकाइएको छ । त्यसैगरि स्थानीयस्तरमा उपलब्ध प्राङ्गारिक मल, गाइभैँसीको मुत्र र जैविक विषादीको प्रयोगबाट रोगकिरा व्यवस्थापन गर्न पाठशालामा व्यवहारिक अभ्यास समेत गराइएको छ