चिमखोलामा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाईते

  • ८ बैशाख २०८१, शनिबार
  • 5731 पटक पढिएको

बेनी, ८ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । शनिवार विहान करिब ९ बजे जलविद्युत आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कदेखि फर्कने क्रममा लु २ ख ६११२ नम्बरको ट्रिपर चिमखोलाको घैराबारी स्थित सडकबाट खसेर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेर मृतक भएका व्यक्ति सवारी साधन र निर्माण उपकरणहरुको मर्मत गर्ने मिस्त्री भएको खुलेपनि नाम र ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ट्रिपर दुर्घटनामा घाईते चालक सहित तीन जनाको चिमखोला स्वास्थ्य चौकीमा उपचार भैरहेको र थप उपचारको लागि हेलिकप्टरमार्फत पठाउने तयारी भएको रघुगंगा गाउँपालिका–७ का वडा अध्यक्ष थकबहादुर पाईजाले जानकारी दिनुभयो ।

उहाँले दुर्घटनामा परेका सबै जलविद्युत आयोजनामा काम गर्नेहरु रहेको र स्थानीय कोहीपनि नरहेको जानकारी दिनुभयो । दुर्घटनामा परेको ट्रिपर तुन्दी पावर कम्पनीको जलविद्यूत आयोजनाको ठेकेदार कम्पनी रामेछाप शेर्पा कन्ट्रक्सनमा निर्माण सामाग्री ढुवानी गर्ने रहेको खुलेपनि मृतक र घाईतेको पहिचान नखुलेको जनाइएको छ । दुर्घटनामा परेका घाइतेहरुको स्थानीयबासी, प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरि चिमखोला स्वास्थ्य चौकीमा उपचारका लागि पु¥याएका छन् ।