ठूलोखोला जलविद्युत आयोजनाको सुरुङ र ‘सर्ज साफ्ट’ जोडियो

  • २९ चैत्र २०८०, बिहीबार
  • 139 पटक पढिएको

म्याग्दीको रघुगंगा गाउँपालिका७ र ८ मा निर्माणाधिन २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाको मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ जोडिएको छ । संयुक्त उर्जा लिमिटेड प्रर्वद्धक रहेको ठुलोखोलाको सुरमा भन्ने ठाउँमा ४३.३६ मिटर गहिरो सुरुङ बनाएर मुख्य सुरुङसँग जोड्ने कार्य गएराती सम्पन्न भएको हो । आयोजनाको सिभिल ठेकेदार साकुरा–पावर त्रिपल एसका आयोजना व्यवस्थापक शिवलाल चालिसेले सर्ज साफ्टको ‘ब्रेक थ्रु’ भएसँगै सुरुङ खन्ने सबै काम सकिएको बताउनुभयो ।

“सर्च साफ्टले सुरुङमा पानीको सतह ब्यवस्थापन र चापलाई नियन्त्रण गर्न मद्दत गर्छ,” उहाँले भन्नुभयो “आकस्मिक रुपमा बिद्युत गृह बन्द गर्नुपर्दा सुरुङबाट आएको पानीको चापलाई सर्च साफ्टले नियन्त्रण र सतह ब्यवस्थापन गर्छ ।” जलविद्युत आयोजनाका लागि सर्ज साफ्टको ब्रेक थ्रु हुनुलाई एउटा महत्वपूर्ण उपलब्धी मानिएको चालिसले बताउनुभयो ।

३ महिनाअघि जोडिएको फेदीखोलाको बाँध देखि छरीको आउटलेट जोड्ने २ हजार ७०० मिटर मुख्य सुरुङलाई फिनिसिङ गर्ने काम भैरहेको छ । १०४.१६ मिटर अग्लो भर्टिकल साफ्ट र ४८३ मिटर पेनस्टक टनेल निर्माण सकिएको छ ।

विद्युतगृह देखि आउटलेटको उचाई ३५५ मिटर छ । आउटलेट देखि विद्युतगृह जोड्ने १ हजार ६४० मिटर पेनस्टक पाइपलाइन मध्य ७०० मिटर जडान भइसकेको छ । ८५ प्रतिशत भौतिक प्रगति भएको यस आयोजनाको आगामी ३ महिनाभित्र पूर्वाधार निर्माणको काम सक्ने लक्ष्य रहेको छ ।

फेदीखोलामा बाँध, पानी थिग्राउने पोखरी र छरीमा विद्युतगृह निर्माण अन्तिम चरणमा पुगेको छ । विद्युतगृहको छाना छाएपछि जडान गर्ने जेनेरेटर र टर्वाइन लगायत उपकरण राख्ने ठाउँ तयार बनाइएको छ ।

आयोजनाका प्रमुख ईञ्जिनियर रविन्द्र हमालले हिमाली क्षेत्रको प्रतिकुल मौसम, भूगोल र प्राकृतिक विपद्का चुनौतिका बीच निर्माणको कामलाई तिब्रता दिएको बताउनुभयो । कुल रु. ३ अर्ब ६० करोड लागत अनुमान गरिएको यस आयोजनाको प्रर्वद्धक कम्पनीको नेतृत्व गैर आवासीय नेपाली संघ (एनआरएनए) का अगुवा डा. बद्री केसीले गर्नुभएको छ ।

नेपाल बैंक लिमिटेडको नेतृत्वमा, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र सिटिजन्स बैंकले आयोजनामा लगानी गरेका छन् । यस आयोजनामा गत असारमा आएको बाढीले बाँध नजिकै निर्माणधिन डिसेन्डर (पानी थिग्राउने पोखरी) मा क्षति पु¥याएपछि निर्माण अवधि केहि समय धकेलिएको हो ।

आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रिय प्रशारण लाइनमा जोड्नका लागि ८ किलोमिटर २२० केभी क्षमताको प्रशारण लाईन निर्माणाधिन छ । ३२ वटा मध्य १४ वटा टावरको निर्माण शुरु भइससकेको छ । रघुगंगा गाउँपालिका–३ अम्बाङमा निर्माण हुन लागेको १३२ केभी क्षमताको सव स्टेशनबाट केन्द्रिय प्रसारण लाइनमा ठुलोखोलाको विद्युत जोड्ने तयारी गरिएको छ ।