मंगलामा विशेषज्ञ चिकित्सक सहित स्वास्थ्य शिविर,१७ सयभन्दा बढी बिरामीको चेक जाँच

  • २६ चैत्र २०८०, सोमबार
  • 243 पटक पढिएको

मंगलामा विशेषज्ञ चिकित्सक सहित स्वास्थ्य शिविर म्याग्दीको मंगला गाउँपालिकामा सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको प्राविधिक तथा मंगला गाउँपालिकाको आयोजनामा बावियाचौरस्थित मंगला माविमा आयोजित एक दिने निःशुल्क शिविरमा १७ सयभन्दा बढी बिरामीको चेक जाँच गरिएको थियो । शिविरको उद्घाटन गदैं प्रमुख अतिथी प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले म्याग्दीका दुर्गम क्षेत्रका बासिन्दाको स्वास्थ्य सेवालाई मध्यनजर गरी शिविर सञ्चालनको अभियान सुरू भएको बताए । उनले मंगला सहित अन्य गाउँपालिकामा समेत स्वास्थ्य शिविरमार्फत सर्वसाधारणको रोग पहिचान गरी निशुल्क उपचार गरिने बताए । प्रमुख अतिथि गर्बुजालेनिःशुल्क स्वास्थ्य सेवा प्रदान गरेर सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा सुनिलकुमार शर्माको प्रशंसा गरेका थिए । त्यस्तै मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले स्वास्थ्य उपचारमा गाउँपालिकाबासीको सहजताका लागि आगामी दिनमा पनि स्वास्थ्य संस्थाहरूसँग सहकार्य गरेर अगाडी बढ्ने बताए । ‘मेरो छोरी चिकित्सक अध्ययन गरेको कलेजसँगको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिन्छौ, शिविरमा भेटिएका बिरामीलाई थप उपचारका लागि समेत सहजीकरण गर्नेछौ’ अध्यक्ष रोकाले भने । सोही अवसरमा काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा सुनिलकुमार शर्माले शिविरमा भेटिएका जटिल रोगका बिरामीलाई थप उपचारका लागि बैशाख १० गते काठमाण्डौ अस्पतालमै निशुल्क उपचार गरिने बताए । उनले शिविरमा भेटिएका सबै प्रकारका रोगीहरुको उपचार हुने बताए । शिविरको अध्यक्षता गाउँपालिका अध्यक्ष रोका, स्वागत प्रमुख प्रशासकीय अधिकृत सिवकुमार पौडेल र सञ्चालन स्वास्थ्य संयोजक लेखु रोका मगरले गरेका थिए । शिविरमा इसिजी, इको, भिडियो एक्सरे मुटु, मिर्गौला, आँखा, नाककान, घाटी, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा, मानसिक रोग लगायतको चेकजाँच भएको थियो । स्वास्थ्य शिविर सञ्चालन गर्दा महिला, बालबालिका, ज्येष्ठ नागरिक, गरिब विपन्न वर्गका नागरिकले बढी लाभ लिएका छन् ।